भारतीय बिरामीको विश्वास जित्दै भैरहवाको आँखा अस्पताल


भैरहवा– भारत, गोरखपुर सहजानाका ६० वर्षीय राजदेव आफ्नो छोराको साथमा आँखाको उपचारका लागि भैरहवास्थित लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानमा छन् । ‘यहाँको उपचार सहज, गुणस्तरीय र विश्वासिलो छ’, आँखाको शल्यक्रिया गरेपछि फलोअपका लागि आएका राजदेवले भने, ‘मेरो छरछिमेकी सबैजना आँखाको उपचारका लागि यहाँ आउने गरेकाले म पनि आएको हुँ ।’
भारतको देवरिया जिल्लास्थित उमानगर निबासी संजय चतुर्बेदी पनि उपचारका लागि यही अस्पतालमा आउने गर्छन् । बिगत २५ वर्षदेखि वायाँ आँखाको भाइरल इन्फेक्सनबाट पीडित चतुर्बेदी समस्या समाधानका लागि भारतको धेरै अस्पताल चहारे । तर सन्चो भएन । अन्तिममा उनले घरदेखि करिव २ सय किमी टाढा रहेको लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा अनुसन्धान केन्द्रलाइ नै रोजे ।
लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानमा आँखाको उपचार गुणस्तरीय रहेको र उपचार खर्च पनि सुलभ रहेको बिश्वास उनमा छ । ‘पच्चिस वर्षदेखि आँखाको उपचारका लागि भारतको बिभिन्न स्थानका आँखा अस्पतालमा धाए पनि उपचार प्रभावकारी हुन सकेन’, उपचारका लागि चौथो पटक भैरहवा आएको बताउने चतुर्बेदीले भने, ‘यहाँ उपचार गराउन थालेपछि आँखामा धेरै सुधार भएको महशुस गरेको छु ।’
लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान आँखाको मात्रै उपचार गर्ने अस्पताल भएको र सेवा पनि बिशिष्टिकृत रहेकोले धेरै भारतीय आँखाका बिरामीको विश्वास यही अस्पतालप्रति रहेको उनले बताए । आँखाको उपचारका लागि भारतको विभिन्न स्थानबाट भैरहवास्थित लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानमा आउने उनीहरु जस्तै दिनहुँ सयौ हुने गर्छन् । उक्त संस्थानमा मात्र नभएर नजिकैको श्रीकृष्ण नेत्रालय र संस्थान आसपासमा रहेका आधा दर्जन आँखा क्लिनिक र अस्पतालमा भारतीय नागरिकको भिड दिनहुँ बाक्लो हुने गर्छ ।
लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान मातहतको श्री रण अम्बिका शाह आँखा अस्पताले भैरहवाबाट उपचार सेवा दिन थालेको ३९ वर्ष भयो । उपचारमा आउने भारतीय बिरामीको चाप उत्तिकै छ । अत्याधिक बिरामी भारतीय नागरिक हुने गरेकाले उनीहरुको सहजताका लागि अस्पताल व्यवस्थापन पक्षले मुद्रा सटही काउण्टर नै संचालन गरेको छ ।
‘पहिला–पहिला त यस अस्प्तालमा उपचार गराउन आउने बिरामीको संख्यामध्ये ९० प्रतिशत भन्दा धेरै भारतीय नागरिक नै देखिन्थ्यो’, संस्थानका सूचना अधिकारी प्रतिक पाण्डेले भने, ‘अहिले उपचार गराउन आउने कुल बिरामीमध्ये भारतीय नागरिक करिब ६५ प्रतिशत देखिन्छन् ।’ ९० प्रतिशतबाट अहिले भारतीय नागरिक ६५ प्रतिशतमा देखिनुमा भारतीय आँखाका बिरामीको आगमन घटेको नभइ नेपाली बिरामीको चाप बढेको पाण्डेले बताए ।
पाण्डेका अनुसार, स्वास्थ्य बीमा सुबिधाका कारण अस्पतालमा नेपाली बिरामीको संख्या धेरै देखिएको हो । भारतको बिहार, उत्तर प्रदेश, महाराष्ट्र, दिल्ली, पश्चिम बंगाल, नागालैण्ड, सिक्किम राज्यदेखि उपचारका लागि आउने गर्छन् । उपचारमा आउने नेपाली र भारतीय नागरिकबीच कुनै अन्तर छैन । समान शुल्क छ । नेपालको आँखा अस्पतालमा उपचार शुल्क सस्तो र अस्पतालप्रतिको बिश्वास धेरै भएकाले भारतीय बिरामीको संख्या धेरै हुने गरेको उनले बताए ।

अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले कोभिड संक्रमणको अवधि अघि संस्थामा उपचार गर्न आउने बिरामीको संख्या वार्षिक साढे २ लाख भन्दा धेरै रहेको र जसमध्ये ६५ प्रतिशतजती भारतीय नागरिक हुने गरेको बताए । कुल बिरामी संख्यामध्ये बार्षिक ३० हजारको हाराहारी संख्यामा आखाको शल्यक्रिया हुने गर्छ । शल्यक्रिया हुने मध्ये ५–७ प्रतिशतको आँखाको नानीको प्रत्यारोपण हुने गर्छ । धेरै शल्यक्रिया मोतियाबिन्दु, जलबिन्दु र आँखाको पर्दासंग सम्बन्धित छ ।
‘यस अस्पतालमा आँखाको सातवटा बिधामा उपचार हुने गर्छ’, रायमाझीले भने, ‘आधुनिक प्रबिधि र उपकरणसहित सातवटा बिधाको उपचार हुने आँखा अस्पताल लुम्बिनी प्रदेशमैं यो एकमात्र हो भने भारतको आसपास नजिकका क्षेत्रमैं छैनन् ।’ अति गरिव भारतीय बिरामीलाई अस्पतालले सहयोग पनि गर्ने गरेको छ ।
आँखा अस्पतालमा रहेका होटलले पनि गरिव बिरामीका लागि प्रति रात ६०–७० रुपैयाँसम्ममा बस्न हलको व्यवस्था मिलाएका छन् । अस्पतालकी चिकित्सक सुशीला पटेलले भारतमा भन्दा नेपालमा उपचार खर्च सस्तो पर्ने र यहाँका अस्पताल बिश्वाशिलो भएका कारण भारतीय बिरामी धेरै आउने बताइन् । ‘भारतमा आँखाको नानीको प्रत्यारोपण गर्न परेमा २५ देखि ५० हजार रुपैयाँसम्म लाग्ने बिरामी बताउँछन् । नेपालमा १६–१७ हजार रुपैयाँले पुग्छ’, पटेलले भनिन्, ‘अर्को, जताततै उपचार गरेर सम्भव नभएपछि यहाँ आएपछि निको हुन्छ भन्ने बिश्वास बिरामीमा छ ।’
लेखकको सम्वन्धमा