नम्बर प्लेटमा संकेत राख्ने सवारी धमाधम ट्राफिक कारबाहीमा पर्दै


भैरहवा– नियमविपरीत सवारीसाधनको नम्बर प्लेटमा विभिन्न संकेतहरु राख्नेलाई ट्राफिक प्रहरीले धमाधम कारबाही गर्न थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले ‘नम्बर प्लेट सुधार अभियान’ नै चलाएर सवारी धनीलाई कारबाही गरिरहेको हो । जेठ ८ गतेबाट सुरु अभियानमा अहिलेसम्म ८ सय बढी मोटरसाइकल र कारको नम्बर प्लेट सुधार गर्नुका साथै जरिवानासमेत तिराइएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक केशव केसीले बताए ।
ट्राफिक प्रहरीले चलाएको अभियानका क्रममा नम्बर प्लेटमा विभिन्न संकेत राख्ने सवारी धनीलाई जरिवानासमेत गरिएको छ । जरिवानावापत अहिलेसम्म चार लाख बढी राजश्व संकलन भएको केसीले जनाए । ‘सवारी तथा यातायात ऐनले बर्जित गर्दासमेत यसविपरीत गएर मोटरसाइकल र कार चालकले आफ्नो सवारीको नम्बर प्लेटमा विभिन्न संकेतहरु राख्ने क्रम बढेपछि हामीले अभियान चलाएका हौं’, ट्राफिक प्रहरी निरीक्षक केसीले भने, ‘यो अभियान अब निरन्तर रहन्छ, नियमविपरीत गर्नेलाई कानूनी दायरामा ल्याउँछौं ।’
ट्राफिक प्रहरीका अनुसार पहिलोपटकमा पाँच सय जरिवाना गरे पनि एकपटक कारबाहीमा परेका सवारीले पुनः नम्बर प्लेटमा संकेतहरु राखेको पाइए जरिवाना दोब्बर–तेब्बर गरिने छ । ‘हामीले पहिलोपल्ट भनेर पाँच सय मात्रै जरिवाना काटेका छौं’, केसीले भने, ‘पटक–पटक नियम उल्लघंन गरे जरिवाना बढाएर अन्य थप कारबाही पनि गर्छौं ।’

रुपन्देहीमा चल्ने सबै मोटरसाइकल र कारमध्ये करिब ३० प्रतिशतको नम्बर प्लेटमा विभिन्न संकेतहरु राखिएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । खासगरी नम्बर प्लेटहरुमा बढी मात्रामा राष्ट्रिय झण्डाको स्टिकर राख्ने गरिएको छ । यससँगै ओमशान्ति लेखिएको र अन्य विभिन्न चिन्ह पनि राखेको पाइएको ट्राफिक प्रहरीको भनाई छ । ‘यसले नम्बर प्लेटको आकार सानो गराउँछ र टाढाबाट सहजै देख्न कठिनाई हुने गरेको छ’, केसीले भने, ‘यदि कुनै दुर्घटना गराएर सवारी भागेमा झट्ट नम्बर चिन्ह समस्या हुन्छ । जसले गर्दा दोषी उम्कन सक्छ । यो जोखिम कम गर्न पनि हामीले अभियान चलाएका हौं ।’
सवारी तथा यातायात ऐन, २०४९ अनुसार सवारी साधनको नम्बर प्लेटमा नम्बरबाहेक कुनै पनि संकेत राख्न पाइँदैन । तर, पछिल्लो समय यसविपरीतका गतिविधि बढेका छन् । नियमविपरीतका गतिविधि रोक्न जिल्लाभर नम्बर प्लेट सुधार अभियान जारी राखिएको ट्राफिक प्रहरीले जनाएको छ । खासगरी नम्बर प्लेटमा थरिथरिका संकेत राख्नेहरुमा युवापुस्ता बढी मात्रामा छन् । त्यसपछि विद्यार्थीहरु धेरै छन् । पाकापुस्ता भने कमै मात्रामा छन् ।
‘नम्बर प्लेटमा संकेतहरु राख्नेमा निजी कार र मोटरसाइकल बढी मात्रामा छन्’, केसीले भने, ‘विद्युतीय रिक्सा, टेम्पोमा पनि राखिएको पाइन्छ तर सार्वजनिक सवारीको नम्बर प्लेटमा संकेत थोरै मात्रामा राख्ने गरेको पाइएको छ ।’ सबैभन्दा बढी नम्बर प्लेटमा राष्ट्रिय झण्डाको संकेत राख्ने गरेको पाइएको छ । ‘कतिपयले त राष्ट्रियताका लागि राष्ट्रिय झण्डा राख्न पाउनुपर्छ भनेर विवादसमेत गर्ने गरेका छन्’, ट्राफिक प्रहरी निरीक्षक केसी भन्छन्, ‘त्यस्ता सवारी धनी र चालकलाई हामीले राष्ट्रियता नम्बर प्लेटमा नभई शिरमा राखेर हिँड्नुस्, राष्ट्रियता मनदेखि झल्कनुपर्छ सवारीबाट होइन भनेर सम्झाउने काम गरेका छौं ।’
जिल्ला ट्राफिक प्रहरीले अभियान सुरु गर्दा नम्बर प्लेटमा विभिन्न संकेत राख्नेहरु दैनिक एक सय बढीको हाराहारीमा कारबाहीमा पर्ने गर्थे । अहिले भने धेरै सुधार भइसकेको छ । ‘हामीले अभियान सुरु गरेको थाहा पाएपछि कतिपयले आफै पनि नम्बर प्लेटमा राखिएका संकेतहरु हटाउने गरेका छन् । अहिले दैनिक ७० देखि ८० वटासम्म सवारी कारबाहीमा पर्ने गरेका छन्’, केसीले भने ।

ट्राफिकले सकभर कारबाहीको दायरामा नआउँदै नम्बर प्लेटमा राखिएका संकेतहरु हटाउन सबैमा अपिल समेत गरेको छ । ट्राफिकले अभियानका क्रममा कतिपय ठाउँमा नम्बर प्लेट बनाउने व्यवसायीलाई सोही ठाउँमा बोलाएर संकेत हटाई सुधार गर्ने गरेको छ । कतिपय सवारी धनी र चालकले आफैले नम्बर प्लेटमा राखिएको संकेत हटाउँछौंं भनेमा सवारीको कागजात राखेर सुधार गरेर आएपछि जरिवाना तिराएर कागजात दिने गरेको केसीले बताए ।
लेखकको सम्वन्धमा