गौतमबुद्ध विमानस्थलबाट व्यवसायिक उडान सुरु, नेपालको हवाई इतिहासमा ऐतिहासिक दिन
भैरहवा- मुलुकभित्र निर्माण भएको दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । उद्घाटनसँगै विमानस्थलबाट व्यवसायिक उडान सुरु भएको छ । कुवेतको जजिरा एयरलाइन्सले सोमबारदेखि नै व्यवसायिक उडान सुरु गरेको हो । यसले औद्योगिक तथा पर्यटन क्षेत्रमा खुशीयाली छाएको छ ।
मुलुकमा ७४ वर्षपछि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा संचालनमा आएको हो । कुवेतबाट ६८ यात्रु बोकेर आएको जजिरा गौतमबुद्ध विमानस्थलमा बिहान ७ः१० मा अवतरण भएको थियो । विमानस्थलबाट व्यवसायिक उडान सुरु भएसँगै मुलुकले हवाई क्षेत्रमा ऐतिहासिक फड्को मारेको छ भने पर्यटन क्षेत्रको विकासका लागि विमानस्थल कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ । जजिराले अब हप्तामा यहाँबाट तीन दिन व्यवसायिक उडान गर्ने छ ।
विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले बौद्धमार्गी पर्यटक भित्र्याउन विमानस्थलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरे । ‘आज नेपालका लागि ऐतिहासिक दिन हो, हामीले नयाँ विमानस्थल पाएका छौं’, उनले भने, ‘यसले नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिनेछ ।’ प्रधानमन्त्री देउवाले सबैको साथसहयोग र मिहेनतलले आज विमानस्थल तयार भएको जनाए ।
‘अब लुम्बिनीमा सिधै बौद्धमार्गी आउन सक्नेछन्, पर्यटन व्यवसायका लागि यो निकै खुशीको कुरा हो’, देउवाले भने । यसले बौद्धमार्गीको लुम्बिनी आगमन बढाउने अपेक्षा राखिएको छ । विमानस्थलबाट व्यवसायिक उडानसँगै २४ सैं घण्टा संचालन गर्ने सरकारले जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी र सिंगो मुलुकका लागि विमानस्थल ऐतिहासिक सफलता भएको बताए । आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा मुलुकले थप सफलता पाएको उनको भनाई छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अथक प्रयास पछि विमानस्थल उद्घाटन र संचालनको अवस्थामा आएको जनाए । उनले नेपालको हवाई इतिहासमा आजको दिन स्वर्णीम रहेको जनाए । नेपालको पर्यटन क्षेत्रको विकासमा गौतमबुद्ध विमानस्थलले सबैभन्दा भन्दा बढी फाइदा दिने विश्वास आफ्नो रहको आलेले बताए । उनले त्रिभुवन र गौतमबुद्ध दुबै विमानस्थललाई चौबीसै घण्टा संचालन गर्ने जनाए ।
विमानस्थल संचालनमा आएसँगै आधा दर्जन अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यवसायिक उडानमा चासो देखाएका छन् । जजिरा एअरलाइन्स पछि एअर अरेबयिा र फ्लाई दुबईले पनि विमानस्थलबाट उडान तयारी गरिरहेको छ । साथै अन्य अन्तर्राष्ट्रिय विमानस्थल कम्पनीका प्रतिनिधिहरुले पनि विमानस्थलको सेवासुविधा बारे स्थलगत अवलोकन गरेर जानकारी लिइसकेका छन् । उनीहरुले गौतमबुद्ध विमानस्थलबाट उडान भर्नका लागि कम्पनीको मुख्यालयमा आग्रह गर्ने प्रतिवद्धता जनाएका छन् ।
विमानस्थलबाट व्यवसायिक उडान हुन्छ की हुँदैन भन्ने अन्यौलताबीच कुवेती वायुसेवा कम्पनी जजिरा एयरवेजले पहिलो व्यवसायिक उडान भरेपछि यस क्षेत्रमा खुशीयाली छाएको छ । ‘विमानस्थल व्यवसायिकरुपमा संचालन भएसँगै थला परेको पर्यटन क्षेत्र उकासिने मात्रै होइन्, नेपाली उत्पादन विदेश निकासीमा सहज हुने छ’, पर्यटन व्यवसायी किशोर जोशीले भने ।
सन् १९५८ जुलाई ८ बाट आन्तरिक विमास्थलका रुपमा सेवा दिँदै आएको गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रियस्तर बनाइएको हो । यो विमानस्थल संचालन आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प बनेको छ । कुनै कारण भित्रुवन विमानस्थलमा विमान उडान–अवतरण हुन नसक्ने अवस्था आएमा छिमेकी मुलुकमा पुर्याएर अवतरण गराउनु पर्ने बाध्यता अन्त्य भएको छ । गौतमबुद्धमा वायुयानको उडान सुरक्षाका लागि आवश्यक पर्ने आधुनिक उड्डयन सहाय उपकरण आइएलएस समेत जडान गरिएको छ ।
३ हजार मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा बोइङ ७७७ एयर बस ३३० र सोही क्षमताका वाइडबडी विमानहरु उडान अवतरण गर्न सकिने छ । करिब ८ वर्षमा विमानस्थल निर्माण सम्पन्न भएको हो । यो विमानस्थल लुम्बिनीको प्रवेशद्वारमा भएकाले विश्वलाई यस क्षेत्रसँग जोड्ने सम्पर्क माध्यम समेत बन्न पुगेको छ । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो विमानस्थलको पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ । यो विमास्थल संचालनको सुरुमा दैनिक १० वटा र सन् २०३३ सम्म दैनिक ६० वटा अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य सरकारले राखेको छ ।
लेखकको सम्वन्धमा