April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

नेपाल एयरलाइन्सको वाइडबडीबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल परीक्षण उडान [फोटोफिचरसहित]

भैरहवा- मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अप्रेसन फ्लाइट (परीक्षण उडान) सफल भएको छ । भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको ३३० एयरबस (वाइडबडी) माफर्त परीक्षण उडान गरिएको हो । वाइडबडीबाट गरिएको परीक्षण उडान सफल समेत भएको छ ।

Advertisement

यसअघि नयाँ वर्षका दिन बैशाख १ गते परीक्षण उडान हुने भनिए पनि स्थगित गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले झण्डै ७४ वर्षपछि मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनु खुशीको कुरा भएको बताए ।

Advertisement

‘यो लुम्बिनी प्रदेशबासीको मात्रै होइन्, मुलुककै खुशीको क्षण हो’, उनले भने, ‘सबैको अथक प्रयासपछि हामीले सफल परीक्षण उडान गरेका छौं ।’ उनले विमानस्थललाई पूर्ण क्षमतामा संचालन गर्न मन्त्रालयले अब बाँकी कामलाई तीव्रता दिने बताए । दिउँसो ३ बजे उड्ने भनेको वाइडबडी दुई घण्टा डिले भएर ५ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । जहाज ५ः५५ बजे गौतमबुद्ध विमानस्थलमा ल्याण्ड भएको हो ।

परीक्षण उडान सफलपछि यस क्षेत्रका उद्योगी, व्यवसायी, पर्यटक व्यवसायी, स्थानीय, विभिन्न एयरलाइन्सका प्रतिनिधिले स्वागत गरेका थिए । परीक्षण उडानको विमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका साथै पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायतको टोली भैरहवा आएको थियो ।

विमानस्थलको नयाँ धावनमार्ग यसअघि नै संचालनमा आइसकेको छ । अघिल्लो हप्तादेखि आन्तरिक उडानका जडाजहरु नयाँ धावनमार्गबाट संचालन भइरहेका छन् । यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि पहिलोपटक कुवेतको जजिरा एयरलायन्सले अनुमति पाएको छ । जजिराले आउँदो जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिएको हो । उसले सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान हुन्छ की हुँदैन भन्ने अन्यौलताबीच कुवेती वायुसेवा कम्पनी जजिरा एयरवेजले पहिलो उडान गर्ने भएको छ । यसका लागि उसले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत पाइसकेको छ । गौतमबुद्ध नेपालमा निर्माण सम्पन्न भएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो ।

यहाँबाट आउँदा जेट दुईबाट जजिराले व्यवसायिक उडान गर्ने छ । त्यसभन्दा अघि पनि उसले चार्टर्ड फ्लाइट गर्नसक्ने अनुमान छ । यसका लागि विमानस्थल पूर्ण तयारी अवस्थामा राखिएको छ । सुरक्षा निकाय, अध्यागमनलगायतका विमानस्थललाई आवश्यक संरचना तयार गरिसकिएको छ । जजिराले खासगरी रोजगारीका लागि कुवेत जाने नेपालीहरुलाई प्राथमिकता दिएको छ । योसँगै पर्यटन र आर्थिक क्षेत्रलाई पनि उसले लक्षित गरेको छ ।

विमानस्थल संचालनमा आएपछि अन्तर्राष्ट्रिय जगतमा विमानस्थल संचालनमा आएको सन्देश प्रवाह भने भइसकेको छ । यो यस क्षेत्रका लागि मात्रै नभएर सिंगो मुलुकका लागि नै खुशीको कुरा भएको पर्यटन व्यवसायी किशोर जोशीले बताए ।

यहाँबाट नेपाल वायुसेवा, श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बीच र ओमन एयरले पनि उडान भर्ने भनेर चासो देखाएका छन् । गौतमवुद्ध विमानस्थलबाट उडान भर्न सरकारले हवाइ कम्पनीलाई औपचारिक आग्रह गरिसकेको छ । विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीले चासो देखाएका छन् । यद्यपि व्यावसायिक उडानका लागि औपचारिक पत्र भने जजिराबाहेक अन्यले पठाएका छैनन् । व्यवसायिक उडानपछि यो विमानस्थल २४ सै घण्टा संचालनमा ल्याइने नेपाल नागरिक उड्डउन प्राधिकरणका महानिर्देशक प्रदीकुमार अधिकारीले बताए ।

‘आज सिंगो मुलुक खुशी छ’, उनले भने, ‘हामीले जेठ दुईमा व्यवसायिक उडान सुरुपछि चौबीसै घण्टा यसलाई संचालनमा ल्याउँछौं ।’ तर, विमानस्थलमा केही भौतिक संरचना बनाउन बाँकी रहेकाले फुल फेजमा संचलनमा आउन भने अझै पाँच वर्ष जति लाग्ने अधिकारीले बताए ।
गौतमबुद्ध विमानस्थले बौद्धमार्गी पर्यटकलाई आकर्षित गर्ने बताउँदै अधिकारीले यसले लुम्बिनी क्षेत्र र सिंगो मुलुकको पर्यटन व्यवसायलाई टेवा पुग्ने बताए । कोरोना महामारीका कारण विमानस्थल संचालनमा आउन भने दुई वर्ष ढिलाई भएको उनको भनाई छ ।

यसअघि नेपालकै एक ठाउँबाट अर्को ठाउँमा अहिलेसम्म ठूला जहाज उडान/अवतरण गरिएको थिएन । काठमाडौंमा मात्र उडान अवतरण गरिरहेका थिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ ८ गतेदेखि विधिवत रुपमा सञ्चालनमा आइसकेपछि पहिलोपल्ट बिहीबार ठूलो जहाज अवतरण गरिएको हो । अब व्यवसायिक उडान सुरुपछि गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान/अवतरण गर्नेछन् । यो विमानस्थलमा गत फागुनमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । यो विमानस्थल संचालनमा आएपछि काठमाडौंमा अवतरण हुन नसकेका जहाज अन्य मुलुक अवतरणका लागि लैजानु पर्ने बाध्यतासमेत हटेको छ । ‘विगतमा विधिध कारणले काठमाडौं अवतरण हुन नसकेका जहाज भारत, बंगलादेश लगायतका मुलुकमा लगेर अवतरण गर्नुपथ्र्यो, अब भने यो समस्या हटेको छ’, प्राधिकरणका महानिर्देशक अधिकारीले भने ।

विमानस्थलमा जोडिएको उपकरणका कारण काठमाडौंमा भिजिविलिट कम हुँदा अवतरण हुन नसक्ने जहाज पनि यहाँ अवतरण हुनसक्नेछन् । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले केही समय अवरोध भएको थियो ।

एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने अधिकारीले बताए । कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको मन्त्रालयका सचिव न्यौपानेले जनाए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिन व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ । अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलभित्र पार्टेसन, फर्निचर व्यवस्थापन तथा अध्यागमन कार्यालयले समेत आवश्यक तयारीको काम गरिरहेको छ । बिहीबार विमानस्थलको परीक्षण उडानको जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले विमानस्थलमा आए पनि निर्वाचन आचारसंहिताका कारण उनले कुनै प्रतिक्रिया भने दिएनन् । पर्यटन व्यवसायी र स्थानीयले भने मन्त्री आलेसहितको टोलीलाई फूलमालाले भव्य स्वागत गरेका थिए ।

अहिले पहिलाको १ हजार ५ सय मीटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्गलाई ट्याक्सी–वे (विमान पार्किङ स्थल) को रुपमा प्रयोगमा ल्याइएको छ । नयाँ संचालनमा आएको धावनमार्ग ३ हजार मीटर लम्बाइ र ४५ मिटर चौडाईको छ । अन्तर्राष्ट्रिय धावनमार्ग संचालनसँगै अब साढे १८ घण्टासम्म हवाइ उडान संचालन गर्न सकिने छ । नयाँ धावनमार्ग संचालन ल्याइएपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द नहोउन्जेल यो बिमानस्थल पनि बन्द हुने छैन । बिहान ६ बजेदेखि राती साढे १२ बजेसम्म बिमानस्थल खुल्ला रहने छ ।

यसकासाथै आधिकारिक रुपमा अन्तर्राष्ट्रिय व्यवसायिक उडान संचालन हुन बाँकी भए पनि नयाँ धावनमार्ग संचालनमा आएपछि आपतकालीन, चार्टर्ड र डाइभर्ट गरिएका अन्तर्राष्ट्रिय उडान अवतरण गर्न मिल्ने छ । यस्तै, कुनै पनि एयरलाइन्सले विमानस्थलबाट अब अन्तर्राष्ट्रिय उडान गर्न चाहेमा तयारी पुगेको छ ।

यहाँ व्यवसायिक उडान गर्ने अन्तराष्ट्रिय एयरलाइन्सहरुलाई अवतरण र पार्किङ लगायतका शुल्कमा छुटको व्यवस्था गरिएको छ । विमानस्थल सेवा शुल्क नियमावली सरकारबाट हालै स्वीकृत भइसकेको छ । नियमावलीमा विमानस्थल सेवा शुल्क ६ महिनासम्मका लागि छुटको व्यवस्था गरिएको छ । एक पटक हवाइ उडान संचालन गर्दा न्युनतम पनि १ लाख भन्दा धेरै बिमानस्थल शुल्क लाग्ने गर्छ । यस विमानस्थलको प्रबद्र्धनका लागि सुरुमा छुट सुबिधा प्रदान गरिएको हो ।

यो विमानस्थल काठमाडौंको त्रिभुवन विमानस्थल भन्दा धेरै सुरक्षित र सहज छ । एयर ट्राफिकका कारण धेरै समयसम्म आकाशमैं विमानलाई रोक्नु पर्ने समस्या यहाँ छैन । धावनमार्ग संचालनमा आउनु पूर्व नै कन्ट्रोल टावर र पूर्ण आपतकालिन अभ्याससहित फायर फाइटिङको नयाँ स्टेशन संचालनमा आइसकेको छ ।