December 10, 2024, Tuesday
२०८१ मंसिर २५

तेस्रो मुलुकका पर्यटक नआउँदा आन्तरिक र भारतीयकै भर

भैरहवा– स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकको संख्यामा सुधार हुन सकेको छैन । पछिल्लो दुई वर्ष यता कोरोना महामारीका कारण पर्यटन क्षेत्र थला परेको छ । महामारी कम हुँदै जाँदा समेत पर्यटक आगमन राम्रो नहुँदा पर्यटन क्षेत्र लयमा फर्कन नसकेको हो ।

सहज अवस्थामा स्थलमार्ग हुँदै तेस्रो मुलुकका बर्सेनि डेढ लाख बढी पर्यटक आउने बेलहिया नाका अहिले सुनसान जस्तै छ । ‘तेस्रो मुलुकका पर्यटक आगमन निकै कम छ’, अध्यागमन कार्यालय बेलहियाका प्रमुख दिनेश ज्ञवालीले भने, ‘भारतीयहरु धेरै मात्रामा आए पनि तेस्रो मुलुकका कताकती मात्रै आउने गरेका छन् ।’

Advertisement

बेलहिया नाका स्थलमार्ग हुँदै मुलुकमा सबैभन्दा बढी तेस्रो मुलुकका पर्यटक भित्रिने नाका हो । तर, महामारीका कारण पर्यटक आगमन सुस्ताएको छ । यसबाट पर्यटन व्यवसायी निराश छन् । ‘तेस्रो मुलुकका पर्यटक आगमन न्युन हुँदा भारतीय पर्यटकको भर पर्नुपरेको छ’, सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भने ।

भैरहवा लुम्बिनी क्षेत्रका होटलहरु भारतीय पर्यटककै भरमा छन् । होटल बुकिङ पनि भारतीय पर्यटकले धेरै मात्रामा गर्ने गरेका छन् । भारतीयहरु क्यासिनो खेल्नका लागि पनि बढी मात्रामा आउने गरेका छन् । बुटवल, तिलोत्तमाका होटलहरु बढी मात्रामा आन्तरिक पर्यटकको भरमा छन् । सरकारी तथा विभिन्न संघसंस्थाका कार्यक्रम, विवाह, पार्टी, ब्रतबन्ध जस्ता कार्यक्रमका भरमा होटल चलाइरहेको व्यवसायी बताउँछन् ।

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटक भारत हुँदै आउँछन् । तर, भारतले कोरोनाका कारण तेस्रो मुलुकका पर्यटक आगमनमा रोक लगाएको छ, जसको प्रत्यक्ष प्रभाव नेपालमा परेको छ । ‘भारतले तेस्रो मुलुकका पर्यटकलाई अनुमती नदिँदा पनि नेपालको पर्यटन क्षेत्र प्रभावित भएको देखिन्छ’, अध्यागमन प्रमुख ज्ञवालीले भने ।

स्थलमार्ग हुँदै बेलहियाबाट नेपाल आउने पर्यटकको मुख्य गन्तव्य बुद्धजन्मस्थल लुम्बिनी हो । यहाँ आउने अधिकांश पर्यटक लुम्बिनीपछि पोखरा, चितवन, मनाङ, मुस्ताङ र काठमाडौंसम्म पुग्ने गरेका छन् । कतिपय लुम्बिनी र पोखरा घुमेर स्वदेश फिर्ता हुने गर्छन् । पर्यटक आगमनमा सुधार नहुँदा मुलुकका मुख्य गन्तव्यहरु सुनसान जस्तै छन् । चहलपहल हुने ठाउँमा पनि आन्तरिक र भारतीय पर्यटकको भर पर्नुपरेको छ ।

खासगरी बेलहिया नाका हुँदै बौद्धिष्ट मुलुकका पर्यटक बढी मात्रामा आउँथे । अहिले त्यस्ता मुलुकका पर्यटक निकै कम आएको अध्यागमनको तथ्यांकले देखाउँछ । अध्यगमनले तेस्रो मुलुक अर्थात् पासपोर्ट होल्डरको मात्रै तथ्यांक राख्छ, भारतीयहरुको राख्दैन । भारतीयहरु यति नै आए भन्ने यकिन तथ्यांक नराखे पनि आगमन राम्रो भएको व्यवसायी बताउँछन् ।

पर्यटन व्यवसायी श्रीचन गुप्ताले रुपन्देही मात्रै नभएर मुलुकको अहिलेको पर्यटन क्षेत्र भारतीयमा निर्भर रहेको बताउँछन् । ‘हामीले तेस्रो मुलुकका पर्यटकलाई जुन व्यवहार गर्छौ, भारतीयलाई हुनसकेको छैन्’, उनले भने, ‘भारतीय पर्यटकले नेपालमा राम्रो व्यवहार नभएको धेरै गुनासो गर्छन्, यदि हामीले राम्रो व्यवहार गर्यौ भने पर्यटक थप बृद्धि हुन्छन् । पाहुनालाई समान व्यवहार गर्नुपर्छ । हाम्रो पर्यटन क्षेत्र धानेकै भारतीयहरु हुन् ।’

तेस्रो मुलुक र भारतीय पर्यटक आगमन राम्रो हुँदासमेत लुम्बिनी क्षेत्रका व्यवसायीले भने खासै फाइदा लिन सकेका थिएनन् । पर्यटकहरु लुम्बिनी भ्रमण पश्चात् उसैदिन बाहिरी जिल्लामा बास बस्न जाने भएकाले व्यवसायीले फाइदा लिन नसकेका हुन् । लुम्बिनी आएका मध्ये मुस्किलले १० प्रतिशतको हाराहारीमा पर्यटक यहाँ रात बिताउने गरेको बताइन्छ । विगतमा समेत यस्तो अवस्थाबाट गुज्रिरहेको पर्यटन क्षेत्र महामारीले झनै थिलोथिलो भएको छ ।

‘हामीले जति पर्यटक आए पनि उनीहरुलाई दिने सेवामा कमी गर्नुहुँदैन’, अध्यक्ष श्रेष्ठले भने, ‘बरु लुम्बिनीसँगै तिलौराकोट, गोटिहवा, निग्लिहवा, देवदह, राम्रग्रामसँगै अन्य पर्यटकीयस्थलको पहिचान गरी पर्यटकलाई त्यहाँ पुर्याउने व्यवस्था गर्न पहल गर्नुपर्छ । यी ठाउँ जोड्न सरकारसँग मिलेर योजना बनाएर काम गर्नुपर्छ ।’ एकीकृत प्याकेज गराई आध्यात्मिक शिक्षाको व्यवस्था गर्न व्यवसायी र सरकार एकजुट हुन जरुरी रहेको उनले बताए ।

व्यवसायीले तेस्रो मुलुकका पर्यटक आगमन न्युन भए पछि आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गरी होटलमा छुट, अन्य गन्तव्य घुमाउने टुर प्याकेज तयार पारिरहेको बताएका छन् । कतिपयले छुटसहितका प्याकेज घोषणा गरिरहेका छन् । ‘हामीले जसरी हुन्छ पर्यटक लोभिने, रमाउने र खुशी हुने योजना ल्याउन जरुरी छ’, पर्यटन व्यवसायी गुप्ताले भने ।

अध्यागमन कार्यालयको तथ्यांकअनुसार कोरोना महामारीका कारण सन् २०२१ मा ८१२ जना मात्रै तेस्रो मुलुकका पर्यटक स्थलमार्ग बेलहिया नाका हुँदै नेपाल आएका थिए । सन् २०२२ को दुई महिनामा १३२ जना मात्रै आएका छन् । बौद्धिष्ट मुलुक थाइल्याण्ड, श्रीलंका, म्यानमार जस्ता मुलुकबाटै पर्यटक थोरै आएका छन् । अमेरिका, भियतनाम, इन्डोनयसिया, युक्रेनका पर्यटक आगमन पनि राम्रो छैन ।

‘चिनियाँहरु झनै कम आएका छन्’, अध्यागमन प्रमुख ज्ञवालीले भने, ‘धेरै आउने मुलुकहरुबाट न्युन आउँदा पर्यटक आगमन खस्किएको देखिएको हो ।’ भारतले तेस्रो मुलुकका पर्यटक आउगमन रोक्दा पहिला नै भिसा लगाएका, पहिला नै भारत भ्रमणमा आएका, भिसा सकिएका पर्यटकहरु मात्रै नेपाल आउने गरेका हुन् । व्यवसायीले महामारी अहिले कम हुँदै गएकाले पर्यटक आगमन बृद्धि हुने अपेक्षा लिएका छन् । गौतमबुद्ध विमानस्थलबाट व्यवसायिक उडान सुरु पछि तेस्रो मुलुकका पर्यटक धेरै आउने व्यवसायीको विश्वास छ ।