November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

पढाईसँगै व्यापारमा अब्बल ‘विद्यार्थी व्यापारी’ हरिजन

भैरहवा – संजय हरिजन १३ वर्षका भए । कक्षा ७ मा पढ्छन् । उनी रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ मर्चवारीका बासिन्दा हुन् । पढाईमा अब्बल छन् । गत वार्षिक परीक्षामा कक्षा ६ मा तेस्रो स्थान प्राप्त गरेका थिए । त्यसले उनको हौसला बढेको छ ।

Advertisement

कोटहीमाईस्थित हर्दी सामुदायिक विद्यालयमा अध्ययनरत उनको दैनिकी अहिले परिवर्तन भएको छ । कोरोनाका कारण बन्द रहेकाले विद्यालय जानु पर्दैन । घरमै बसिरहेका उनी अन्य विद्यार्थी भन्दा फरक छन् । बिहान र साँझको समय सदुुपयोग गरिरहेका छन् । साइकलमा दैनिक ४ किलोमिटर टाढा रहेको भारतीय बजार नौतनवामा पुग्छन् । साइकलमा तरकारी ल्याए्र नजिकैको मर्चवारी गाउँपालिका–७ स्थित मर्चवारीमाई मन्दिरसँगै सटेर रहेको सडक किनारमा विक्रीका लागि बस्छन् । त्यहाँ तरकारी बेच्ने अरु पनि हुन्छन् ।

Advertisement

बिहीबार उनी पहिलो लहरमा बसेका थिए । हँसिला उनीसित कुराकानीका क्रममा भने, ‘आज एक हजार ५ सय रुपैयाँको तरकारी विक्री गरेँ ।’ बिदाको समयमा बुवालाई सहयोग गरेको उनले पब्लिक कुरासित बताए । उनका अनु्सार परिवारमा चार जना छन् । आमा गृहणी हुन् । घरायसी काम, खेतबारी र पशुचौपायाको स्याहार गर्छिन् । दाई र बुवाले आलोपालो किराना पसल चलाउँछन् ।

‘हाम्रो किराना पसल छ, दाईले धेरै समय पसलमा दिनुहुन्छ’, उनले भने, ‘बुवाले तरकारी विक्री गर्ने काम गर्नुहुन्छ । धेरैजसो मैले बुुवालाई सघाउँछु ।’ विद्यालय चलिरहेका बेला पनि साँझको समयमा तरकारी बेच्ने गरेको उनले बताए । ‘शनिबार र अन्य विदाका दिन म नै नौतनवा गएर तरकारी ल्याएर आउँछु,’ उनले भने, ‘विक्री गर्छु, यसले बुवालाई सहयोग पुगेको छ ।’

विद्यालय टाढा भएकाले उनको घरमै ठुलीआमाका छोरा सुरज मौर्य पनि बस्छन् । उनका दाजु मौर्यले व्यापारमा सघाउँदै आएका छन् । ‘दाइ र म एउटै स्कुलमा ७ कक्षामा पढ्छौं’, उनले भने, ‘सँगैका भएकाले पनि मेरो काममा दाइले सहयोग गर्नुहुन्छ । यसले सहज भएको छ ।’

कोरोना महामारी बढेपछि २० दिनका लागि विद्यालय बन्द गरिएको छ । विदाको समय सदुपयोग गरेर छोराले आफूलाई सहयोग गरेकाले बुवा बसन्त हरिजन खुशी छन् । ‘पढाइसँगै उसको ध्यान व्यापार गर्नमा केन्द्रित हुन्छ’, बसन्तले भने, ‘खाली समय भयो की दौडेर तरकारी खरिद गरेर ल्याउँछ र विक्री गर्न बस्छ ।’

छोराको मिहिनत देखेर बाबु खुशी छन् । ‘कहिलेकाहीँ पढाई विगार्छ की भन्ने चिन्ता लाग्छ’, उनले भने, ‘व्यापार गरे पनि पढाईलाई निरन्तरता दिएको छ । मैले त पढाईमै जोड दिन भन्छु ।’ स्थानीय उत्पादन कम भएपछि उनीहरुले धेरैजसो भारतीय बजारबाट ल्याएर तरकारी विक्री गर्दै आएको बताए ।

‘साग, धनिया र हरियो साग हाम्रोे उत्पादन हो’, हरिजनले भने, ‘बाँकी सबै नौतनवाबाट ल्याएको हो ।’ उनले फुलगोपी, बन्दा, सिमी, केराउ, आलु, लसुन, टमाटर, खुर्सानी लगायतको तरकारी विक्री गर्न लागेका थिए । घर होस् वा बाहिर छोरा अनुशासित रहेको बुवाले बसन्तले सुनाए । ‘उ जस्तै बालबालिका खाली समयमा खेल्न जाने गर्छन्, यसले खाली समय ब्यापार गरेर सदुपयोग गर्छ’, बुवा बसन्तले भने ।

हरिजनको परिश्रम देखेर उनका छिमेकीहरु पनि दंग छन् । पढाई र व्यापार सँगसँगै गरेको देख्दा छोराछोरीलाई छिमेकीले पनि उनको उदाहरण दिएर त्यस्तै बन्न सुझाव दिन्छन् । तरकारी विक्री गरेर घरमा पुगेपछि हरिजनले पढाई सुरु गर्छन् । बिहानको समय पनि पढाईमा दिन्छन् । १३ वर्षीया बालकको लगनशीलता, व्यापारिक इच्छा र पढाई देख्दा परिवारमात्रै होइन् आफन्त र छिमेकी पनि खुशी हुन्छन् ।

पढाई राम्रो भएकाले एसईई सकेपछि छोरालाई राम्रो विषय लिएर पढाउने बसन्तको धोका छ । ‘उसले जुन विषय पढ्न इच्छा राख्छ, त्यही पढाउने सोंच बनाएको छ’ु, बुवा बसन्तले भने । कोरोना महामारी बढेकाले जोखिम हुने भन्दै भारतीय बजार नजान आफूले छोरालाई सम्झाउने गरेको उनले सुनाए । ‘भारतमा संक्रमण तीव्र छ, अब पारि तरकारी लिन नजानेकी भन्ने सोंच गराएका छौं’, उनले भने, ‘नेपालतिरै जे–जस्तो तरकारी पाउँछ, त्यही मात्रै विक्री गर्नुपर्ला ।’