भारतीय बजारमा किनमेल नरोकिँदा कोरोनाको झन जोखिम



भैरहवा– पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीब्र फैलिरहेका बेला रुपन्देहीको बेलहिया नाका हुँदै सीमावर्ती भारतीय बजार सुनौलीमा किनमेल गर्न जाने क्रम रोकिएको छैन । किनमेल गर्न जानेले स्वास्थ्य मापदण्डमा ध्यान दिएको पाइँदैन । सीमावर्ती सुुनौली बजारका व्यापारीले मास्क समेत लगाउँदैनन । बजारमा भीडभाड हुने गरेको छ ।
कोरोनाको नयाँ भेरियन्ट फैलिनेवित्तिकै सरकारले मूल नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टिजेन परीक्षण सुरु गरेको थियो । त्यस क्रममा नाकाबाट भित्रिने नेपाली तथा भारतीयमा कोरोना संक्रमण पुुष्टि हुने क्रम बढेको छ । महामारी रोकथाम गर्न सरकाले नाकामा हेल्थडेस्क र होल्डिङ सेन्टर बनाएको छ । यात्रुको ज्वरो जाँच हुन्छ । यस्तोबेला भारतीय बजारमा किलमेल गर्न जानेको ताँती टुुटेको छैन ।
रुपन्देहीको बेलहिया नाका हुँदै अहिले दैनिक सयौं नेपाली भारतीय बजारमा घरायसी सामान खरिद गर्न जान्छन् । उनीहरुको कोरोना परीक्षण गरिँदैन । सर्वसाधरणले स्वास्थ्य मापदण्ड पालना गरे–नगरेको निगरानी समेत हुँदैन । उनीहरुलाई रोकतोक छैन । महामारी रोकथामका लागि स्थानीय प्रशासनले जारी गरेको आदेश नाकामा कार्यान्वयन भएको पाइँदैन ।

अहिले पर्यटक र भारतबाट रोजगारी गरेर फर्किनेबाहेक सामान खरिद गर्न जानेको कोरोना परीक्षण हुँदैन । यसले संक्रमण फैलने जोखिम बढाएको बेलहियास्थित हेल्थडेस्कका स्वास्थ्य संयोजक लालमोहन चौधरीले बताए । ‘किनमेल गर्न जानेलाई कोरोना लाग्दैन भन्ने छैन,’ उनले भने, ‘त्यसैले सबैले सावधानी अपनाउन जरुरी छ ।’
भारतमा कोरोना महामारी फैलिएपछि स्वदेश फर्किनेको संख्या बढ्दै छ । यहाँबाट भारत जाने कामकाजीको संख्या धेरै छ । यसरी आउजाउ गर्नेको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि हुनेको संख्या बढिरहेको छ । स्वास्थ्य संयोजक चौधरीका अनुसार बुधबार ३ सय ७ जनाको कोरोना परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको थियो ।
नाकामा स्वास्थ्य मन्त्रालय, सिद्धार्थनगर नगरपालिका र विभिन्न संघसंस्थाले हेल्थ डेस्क राखेका छन् । ४० को हाराहारीमा स्वास्थ्यकर्मी खटिएका छन् । सुरक्षाकर्मी तैनाथ छन् । यसले पनि अनावश्यक भीड नियन्त्रण हुन सकेको छैन । महामारीको हटस्पट बनिरहेको भारतीय बजार र नाकाबाट आउजाउ खुलमखुल्ला छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नागरिक आफैं सचेत हुनुपर्नेमा नाकाबाट आउजाउ गर्नु गलत भएको बताए । ‘स्वास्थ्य मापदण्ड सबैलाई अनिवार्य हो,’ उनले भने, ‘हामीले सुरक्षाकर्मीलाई निगरानी गर्न भनेका छौं । अटेर गरे कारबाही गर्छौं । महामारीमा कसैलाई लापरबाही गर्ने छुट हुँदैन ।’

बेलहिया नाका हुँदै दैनिक पाँच सय हाराहारी मालबाहक गाडी भित्रिन्छन् । ती गाडीका चालक, सह–चालकको पनि कोरोना परीक्षण गरिँदैन । नाकामा संक्रमण देखिएका व्यक्तिलाई आइसोलेसनमा राख्ने व्यवस्था छैन । उनीहरु गाउँ पुुगेर होम आइसोलेसनमा बस्ने सर्तमा घर गइरहेका छन् । अधिकांश सार्वजनिक यातायातका साधन चढेर घर जाने गरेका छन् । उनीहरु कहाँ, कसरी गए भन्ने निगरानी छैन । जसले गर्दा सहर मात्रै होइन् गाउँगाउँमा संक्रमण फैलिरहेको छ ।









लेखकको सम्वन्धमा