April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

पूर्वमन्त्री यादव, जसले सहकारीमार्फत् किसानलाई गोलबद्ध गरिरहेका छन्

भैरहवा– कृषि विकास बैंकले २०३२ मा ‘साना किसान विकास आयोजना संस्थागत विकास’ कार्यक्रम सुरु गर्योे । त्यसको १९ वर्ष पछि २०५१ मा रुपन्देहीको मर्चवारस्थित गोनहामा कृषि विकास बैंक साना किसान विकास आयोजना सुरु भयो । त्यतिबेला यहाँका किसानहरु ऋण लिन तथा सदस्य बन्न डराउँथे । यस्तो अवस्थामा मर्चवारका स्थानीय अगुवा विश्वनाथ यादवले यसका बारेमा घरघरमा गई प्रचारप्रसार गरे । त्यसपछि यहाँका स्थानीयले संस्थाका बारेमा बुझे ।

Advertisement

यादवको मिहिनत, प्रचारप्रसार र जनचेतनाले पछि स्थानीय साना किसान विकास आयोजनासँग आबद्ध भए । कारोबार गर्न थाले । पछि आयोजनाले समूह बनाएर स्थानीयलाई हस्तान्तरण गर्यो । त्यसपछि विश्वनाथले सहकारी संचालन गर्ने योजना बनाए । त्यतिञ्जेल यहाँ कुनै सहकारी थिएनन् । मर्चवार क्षेत्रमा पहिलोपल्ट २०६० साल माघ ११ गते जिल्ला सहकारी संघ नवलपरासीमा सहकारी ऐन, २०४८ अनुसार साना किसान कृषि सहकारी संस्था लिमिटेड गोनहा दर्ता भएर सञ्चालनमा आयो ।

Advertisement

यो सहकारी स्थापना गर्न र संचालनमा ल्याउन विश्वनाथ यादवको ठूलो भूमिका रह्यो । सहकारी दर्तापछि विश्वनाथले सहकारीलाई १० धुर जग्गा दानसमेत गरे । सोही जग्गामा अहिले साना किसान कृषि सहकारी संस्था लिमिटेडको दुईतल्ले भवन छ । यहीबाट कार्यालय संचालन हुँदै आएको छ । यसको नेतृत्वमा छन्, पूर्व कृषिमन्त्री ओमप्रकाश यादव ‘गुल्जारी’ । ओमप्रकाश मर्चवारमा सहकारी योजना ल्याउने उनै विश्वनाथका कान्छा छोरा हुन् । अहिले विश्वनाथको मृत्यु भइसकेको छ । तर, उनका छोराले किसानलाई गोलबद्ध गरिरहेका छन् ।

‘मेरो बुवाको योगदान कहिल्यै विर्सिन्न सकिँदैन’, यादव भन्छन्, ‘उहाँ आज नभए पनि यस क्षेत्रमा एउटा बलियो सहकारी संस्था स्थापनामा भूमिका खेल्नुभयो, जग्गा दिनुभयो । यहाँका नागरिकलाई सहकारीबारे बुझाउनुभयो ।’ रुपन्देहीको मायादेवी गाउँपालिका–६ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड स्थापना भएको १८ वर्ष पुगेको छ । संस्थाले मंगलबार १८औं वार्षिक साधारणसभा गरेको छ । छरिएर रहेका कृषकलाई गोलबन्द गरिएको छ, सहकारीमार्फत् । बुवाको योजना र सपना पूरा पार्न लागिपरेका छन् उनका छोरा पूर्व कृषिमन्त्री ओमप्रकाश । उनी अहिले अध्यक्ष भएर सहकारी हाकिरहेका छन् ।

‘यस संस्था मर्चवारका नागरिकको खुन पसिनाबाट सिंचित संस्था हो’, अध्यक्ष यादवले भने, ‘संस्थाका माध्यमबाट आफ्नो समृद्धिको यात्रा, आर्थिक सुरक्षा र समाजिक रुपान्तरण सम्भव छ भन्ने कुरामा धेरै जानाकार भइसक्नुभएको छ । शेयर सदस्यहरुलाई बचत गर्ने बानी, कृषिमा उत्पादनमूलक कार्य गरी आफ्नो तथा संस्थाको सुन्दर, समृद्धि मनसायका साथ सबै लागिपरेका छौं ।’

सीमित सहभागितामा खुलेको सहकारीमा अहिले २ हजार ६ सय ६ जना महिला सदस्य छन् । पुरुष सदस्य संख्या ८ सय ३८ गरी जम्मा सदस्य संख्या ३ हजार ४ सय ४४ पुगेको छ । सहकारीमा ५ सय ७० समूह आबद्ध छन् । ‘यसरी सबै किसानलाई गोलबद्ध गर्न मैले निकै मिहनत गरेँ’, विगत सम्झँदै यादव भन्छन्, ‘सबैको साथ सहयोग र विश्वासले आज सहकारीले मुलुकमै नाम कमाउन सफल भएको छ ।’

यादवका अनुसार हाल संस्थाको शेयर पुँजी १ करोड ४३ लाख ४६ हजार रुपैयाँ छ । उक्त कुल पुँजीमा शेयर धनीको हिस्सा ३ प्रतिशत छ । संस्थाको सम्पूर्ण किसिमको बचत २० करोड ५६ लाख ७९ हजार ९ सय ९ रुपैयाँ रहेको अध्यक्ष बताए । चालु आर्थिक वर्षको पुस मसान्तसम्म संस्थाको कुल बचत रकम २४ करोड ५० लाख रुपैयाँ छ । अध्यक्ष यादवका अनुसार आर्थिक बर्ष ०७७–०७८ मा संस्थाबाट १३ करोड ७५ लाख रुपैयाँ ऋण लगानी भएको थियो । जसमध्ये ९ करोड ८९ हजार रुपैयाँ मात्र अशुली भएको छ भने चालु आर्थिक वर्षको पुस २८ गतेसम्म ३३ करोड ८० लाख रुपैयाँ ऋण लगानी भएको संस्थाले जनाएको छ ।

संस्थाको जम्मा आम्दानी ३ करोड ५७ लाख १७ हजार ६ सय ९२ रुपैयाँ छ । जसमध्ये ३ करोड ११ लाख २० हजार ५ सय ९८ रुपैयाँ खर्च भएको अध्यक्ष यादवले बताए । उनका अनुसार संस्थाको कुल नाफा ३५ लाख ९७ हजार ५ सय ३४ रुपैयाँ छ । जगेडा कोषमा संस्थाको ४ करोड ३१ लाख १ हजार रुपैयाँ राखिएको छ ।

‘सहकारी स्थापनायता बिभिन्न उतार चढावलाई पार गर्दै हामी १८ औं बसन्तमा आइपुगेको छौं,’ अध्यक्ष यादवले भने, ‘मेरो स्वर्गीय बुवा बिश्वनाथ यादवले संस्थाको बारेमा घरघरमा गई प्रचारप्रसार गर्नुभएको थियो र त्यति बेला यहाँका नागरिकले यो संस्थाको बारेमा बुझिसके पछि संस्था अगाडि बढेको हो ।’ मर्चवारमा रहेका किसानको बचत र केही गर्न चाहनेहरुलाई ऋण प्रवाह गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको अध्यक्ष यादवले बताए । ‘मलाई खुशी लाग्छ, थोरै स्थानीयको सहभागितामा सुरु भएको सहकारी आज विशाल बनेको छ । धेरै नागरिकको जीवनस्तर उकास्न सफल भएको छ’, उनले भने । सयौं जनाले सहकारीबाट ऋण लगेर स्वरोजगार बनेका छन् । कतिपयले रोजगारी पनि दिने गरेका छन् ।

सहकारीले कार्यक्षेत्रअन्तर्गत बैदेशिक रोजगारमा जाने शेयर सदस्य वा उनीहरुका घरपरिवालाई लक्षित गरी आई.एम.ई. रेमिट, प्रभु रेमिट, हिमाल रेमिट, वेस्ट्रन युनियन, सिटी एक्सपे्रस, समसरा रेमिट, युनाइटेड रेमिट, आइएमई–पे लगायतका रेमिट संचालन गर्दै आएको अध्यक्ष यादवले जानकारी दिए । कोरोना सुरु भएयता सहकारीले २०७८ पुससम्म ऋण प्रदान गरेवापत शेयर सदस्यबाट ब्याज, हर्जाना नलिएको संस्थाले जनाएको छ ।

नेपाल सरकारले सहकारीलाई अर्थतन्त्रको तीन खम्बेमध्ये एक खम्बे रुपमा स्वीकार गरिसकेको छ । यस्तो अवस्थामा आर्थिक विकासको मेरुदण्डकारुपमा सहकारी स्थापित हुँदै आएका छन । सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सदस्यहरुलाई बचत गर्ने बानी बसाल्न र छरिएर रहेको स–साना रकमहरु उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने र शेयर सदस्यहरुको जीवनस्तर उकास्ने कार्यमा भूमिका खेलेका छन् । ‘यतिमात्रै होइन् ग्रामीण क्षेत्रका जनताका जीवनस्तरमा सुधार पनि सहकारीको भूमिका छ’, अध्यक्ष यादव भन्छन्, ‘हाम्रै सहकारीबाट ऋण लिएर प्रगति गर्ने धेरै हुनुहुन्छ । यो देख्दा मलाई निकै खुशी लाग्छ ।’

ग्रामीण क्षेत्रमा बिद्यमान गरिबी, बेरोजगारीे समस्यालाई न्यूनिकरण गर्नुका साथै साना तथा भूमिहिन किसानहरुको आर्थिक, समाजिक र संस्कृतिलाई रुपान्तरण गरी आर्थिक समृद्धि ल्याउने उद्देश्यका साथ यो सहकारीले तत्कालीन मर्यादपुर गाबिस, सक्रौन पकडी तथा हाटीबनगाई गाबिसजस्ता छिमेकी ग्रामीण इलाकामा कार्यक्षेत्र बिस्तार गरेको अध्यक्ष यादवले बताए छ । अहिले मर्यादपुर तथा हाटीबनगाई समूह गठन भई बचत तथा ऋण लगानी कार्य समेत भइरहेको छ । ‘अगामी दिनहरुमा समेत सक्रौन पकडीमा पनि सेवा प्रदान गर्नेछौं’, उनले भने ।

शेयर पुँजी
यस संस्थाको २०७८ मसान्तसम्ममा शेयर पुँजी एक करोड ४३ लाख ४६ हजा छ । जुन कुल पुँजीमा शेयर धनीको हिस्सा ३ प्रतिशत मात्र छ । ‘जुन एकदम न्युन हो’, अध्यक्ष यादवले भने, ‘यस्तो हुनुको पछाडि हाम्रा शेयर सदस्य मध्ये कम्तीमा ५ सय सदस्यहको जम्मा शेयर रकम दुई सयमात्र छ । यसैले शेयर रकम थोरै भएको हो ।’ उनले कम्तिमा ५ हजारको शेयर रकम जम्मा गर्न आग्रह गरे । उनले यस अघिको शेयर लभांस बितरण गरिसकिएको र यस बर्षको नाफाबाट १५ प्रतिशत लभांस बितरण गर्ने जनाए ।

निक्षेप
सहकारीको २०७८ असार मसान्तसम्म निक्षेप बीस करोड ५६ लाख ७९ हजार ९०९ छ । ‘कुनै पनि संस्थाको निक्षेप, त्यो संस्थाको जग हो । हाम्रो संस्थाको सम्पूर्ण किसिमको बचत अगामाी दिनहरुमा आफनो भबिष्यलाई उज्जवल राख्न बढी भन्दा बढी बचत गर्न समेत आग्रह गर्न चाहन्छु’, उनले भने । बचतमा ८ प्रतिशतदेखि १२.७५ प्रतिशतसम्म ब्याज रहेको उनले जनाए । उनकाअनुसार २०७८ पुस मसान्तसम्मको कुल बचत रकम चौबीस करोड पचास लाख छ ।

मृतक राहत कोष
सहकारीले मृतक राहत कोष कार्यक्रमअन्तर्गत रु. ५ हजार जम्मा गरेका सहस्यहरुको परिवारका कसैको मृत्यु भएमा ५० हजार रुपैयाँ किरिया खर्चवापत दिने गरेको छ । यसलाई आगामी चालु आर्थिक वर्षमा पनि यथावत् राखिएको छ । हालसम्म मृतक राहत कोषमा १ हजार २५७ जना आबद्ध भएका छन् ।

मासु तथा दुग्धजन्य
मासु एवं दुग्धजन्य उत्पादनमा बृद्धि गर्ने उद्देश्यले साना किसान बिकास बैंकमार्फत सहकारीले भेडा, बाख्रा, पाडा–पाडी, राँगा, भैँसी र बंगुर जस्ता मासु जन्यमा सहुलियत ऋण प्रवाह गरिरहेको छ । गाई, भैँसी जस्ता दुग्ध उत्पादन गर्ने पशुपालन गर्ने शेयर सदस्यहरुलाई सहुलियत (९प्रतिशत) ब्याजमा दस लाखसम्म उपल्बध गराउँदै आएको यादवले बताए ।

पशुबीमा
मर्चवार जिल्लामै धेरै मध्येका किसानको बसोबास छ । यहाँ पशु ब्यवसायमा लगानी बढाउन सहकारीमार्फत् पशुबीमा कार्यक्रम गरिएको छ । यसका लागि वार्षिक २ हजार ५ सयका दरले बीमा गरेमा एक लाख रुपैयाँको बीमा हुन्छ । एक वर्षमा वीमा गरिएको पशु मरेमा सहकारीले ८० प्रतिशत क्षतिपूतिृ दिने गरेको छ ।

इजरायली कार्यक्रम
सहकारीले इजरायली कार्यक्रम पनि संचलन गरेको छ । सहकारीमा आबद्ध कृषकलाई प्रशिक्षणका लागि इजरायल पठाउन उक्त कार्यक्रम सुरु गरिएको अध्यक्ष यादवले बताए । यस कार्यक्रमअन्तर्गत अहिलेसम्म इजरायलबाट १० जना कृषि तालिम गरी फर्किसकेका छन् । पछिल्लो समय कोभिड–१९ महामारीले यो कार्यक्रम रोकिएको छ । ‘हामीले महामारी रोकियो भने पुनः सुरु गर्नेछौं’, उनले भने ।

सुनौलो भविष्य कर्जा
यो कर्जाको अवधि लघुकर्जा सरह ३३ महिनाको हुने अध्यक्ष यादवले बताए । जसलाई छैठौ महिनाको अन्त्यदेखि १० किस्तामा वित्तीय संस्थालाई फिर्ता गर्नुपर्ने हुन्छ । ‘लिएको कर्जाको प्रथम किस्ता ऋण लिएको ६ महिनामा आउने छ’, उनले भने, ‘त्यस पछिका किस्ताहरु ३–३ महिनाका १० किस्ता हुनेछन् ।’ युएई, कतार, साउदी, ओमन, कुवेत, बहराइन, मलेसिया र इजरायलमा वैदेशिक रोजगार वा सीपमूलक अध्ययनमा जाने सदस्यको हकमा कर्जाको सीमा ५० हजारदेखि ३ लाखसम्म तोकिएको छ । ‘अन्य मुलुक जान चाहने सदस्य वा निजको परिवारको हकमा ऋणको अधिकतम ऋण सीमा १५ लाखसम्म व्यवस्था गरेका छौं’, उनले भने, ‘यसले धेरै जना किसान र उनीहरुका सन्तान लाभान्वित हुनुभएको छ ।’

सुनौलो भविष्य कर्जाको जोखिम न्यूनीकरण गर्न वैदेशिक रोजगारमा जाने ऋणिको दुर्घटना विमा हुँदै आएको छ । ६ लाखसम्म ऋण लिने ऋणिको विमाको प्रिमियम बापतको रकम सहकारी संस्थाले व्यहोर्दै आएको छ । ‘६ लाख भन्दा बढी ऋण लिने सदस्यको हकमा ऋणिबाट प्रिमियमबापतको रकम ऋण स्वीकृत गर्दा लिने गरेका छौं’, अध्यक्ष यादवले भने, ‘तीन लाखसम्म ऋण लिने ऋणिको दुर्घटना विमाको प्रिमियमबापतको रकम साना किसान विकास लघुवित्त वित्तीय संस्थाबाट सोधभर्ना प्राप्त भएमा उक्त रकम ऋणि सदस्यलाई मिनाह गरिने छ ।’