सुत्केरीलाई घरमै ‘कोसेली’



भैरहवा– सिद्धार्थनगर–६ की कमला पाठक ढुंगानाले सुत्केरी भएको चार महिनामा नगरपालिकाबाट पोसिलो खानेकुरा पाइन् । उप–प्रमुखसहितको टोलीले घरमै आएर पोसिलो खानेकुरा दिँदा ढुंगाना खुशी थिइन् ।
‘अपेक्षा नै नगरिएको कुरा स्थानीय सरकारबाट पाउँदा को खुशी हुँदैन होला र ?’, उनले भनिन्ु, ‘सुत्केरी हुँदा सचेतनासँगै उपहार दिँदा समाजमा सकारात्मक सन्देश प्रवाह भएको मैले महसुस गरेकी छु ।’ बिहीबार दिउँसो सिद्धार्थनगर उप–प्रमुख उमा काफ्लेसहितको टोलीले ढुंगानाको घरमा पुगेर कोसेलीस्वरुप घ्यू, मह, चेवन परास, खजुर उपलब्ध गराएको थियो ।
पछिल्लो एक वर्षदेखि सिद्धार्थनगर नगरपालिकाले ‘सुरक्षित मातृत्व प्रबद्र्धन’ नीतिअन्तर्गत ‘सुत्केरी आमाहरुसँग शुभकामना सन्देशसहित नगर उप–प्रमुखको कोसेली भेट’ कार्यक्रम गरिरहेको छ ।
नगरभित्रका सुत्केरीको घरमै पुगेर शुभकामना सन्देश र कोसेली उपहार दिँदै आएको उप–प्रमुख काफ्लेले बताइन् । सुत्केरीलाई पर्याप्त आराम, अरुको साथ, सहयोग र मायाको आवश्यकता हुन्छ । सुत्केरी भएकाबेला पारिवारिक मायासँगै स्थानीय सरकारकातर्फबाट शुभकामना र पोसिलो खानेकुरा पाउँदा उनीहरु खुशी छन् ।
सिद्धार्थनगर–११ की कमलावती मल्लाहले सुत्केरी आमालाई पोसिलो खाना कोसेली दिने नगरपालिकाको नीतिले हर्षित भएको बताइन् । ‘कतिपय परिवार त साँझबिहान खान नपुग्ने हुनुहुन्छ, सुत्केरी भएकाबेला त्यस्ता परिवारमा निकै समस्या हुन्छ’, उनले भनिन्, ‘नगरपालिकाको उपहारले धेरै राहत मिलेको छ ।’

उप–प्रमुख काफ्ले दैनिक उपहार (कोसेली) बोकेर सुत्केरीको घरघर पुग्दै आएकी छन् । उनीसँगै सम्बन्धित वडाका अध्यक्ष, सदस्यहरु, आधारभूत स्वास्थ्य केन्द्र र महिला तथा बालबालिका शाखाका महिला कर्मचारीहरु र स्वयंसेविकाहरु जान्छन् । ‘यसले सुत्केरीको मनोबल बढेको पाएका छौं’, काफ्लेले भनिन्, ‘सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउनु पर्छ भन्ने सन्देश परिवारका सदस्यलाई समेत दिएका छौं ।’
उप–प्रमुखको कोसेली भेट कार्यक्रमले मातृशिशु मृत्युुदर घट्ने नगरपालिकाको अपेक्षा छ । कोसेली भेटमा जाँदा गर्भ रहेदेखि बच्चा जन्मिएको सुनौलो हजार दिनसम्म के खाने, गर्न हुने र नहुने कामबारे लेखिएको पम्पलेट उपलब्ध गराइन्छ । ‘यसले सचेतनासमेत बृद्धि भएको छ’, ढुंगानाले भनिन् ।
२०७७ कार्तिक १ देखि सिद्धार्थनगरले सुत्केरी आमाहरुलाई घरघरमै पुगरे पोसिलो खानेकुरा दिँदै आएको छ । ‘सुत्केरी आमाहरुसँग शुभकामना सन्देशसहित नगर उप–प्रमुखको कोसेली भेट’ कार्यक्रम नाम दिएर सुत्केरीलाई पोसिलो खाने कुरा घरमै पुगेर दिने गरेको हो । यसबाट ढुंगाना र मल्लाह जस्तै २ सय ५० बढी सुत्केरी आमाले पोसिलो खानेकुरा पाएका छन् । सुत्केरी भएर घरमै आराम गरिरहँदा नगरपालिकाबाट कोसेली पाउँदा उनीहरु खुशी छन् ।

नगरमा १३ वडा छन् । यो आर्थिक वर्षको पुस २२ गतेसम्म १ सय ४३ जना सुत्केरी आमाहरुले कोसेली उपहार पाएका छन् । नगरपालिकाले २६ लाख रुपैयाँ बजेट छुट्याएर उप–प्रमुख कोसेली भेट कार्यक्रम सुरु गरेको हो । ‘गर्भवती हुँदा सबै चेकजाँच गर्न, स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ र आमा तथा बच्चाको स्वास्थ्यलाई सुत्केरी अवस्थामा विशेष ख्याल गरी पोसिलो खानेकुरा दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम सुरु गरिएको हो’, उप–प्रमुख काफ्लेले भनिन्, ‘सँगसँगै समयमै जन्मदर्ता गर्ने वानीको विकास गर्न, मातृशिशु मृत्युुदर घटाउने पनि कार्यक्रमको उद्देश्य हो ।’
गर्भ रहेदेखि बच्चा जन्मिए पछिको लामो समयसम्म आमाले खाएको खानाबाट नै पौष्टिक तत्व पाएर बच्चा हुर्कन्छन् । गर्भधारणदेखि नै आमाले दिनहुँ खाने खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ । ‘कोसेली भेट गर्न जाँदा हामीले पौष्टिक आहारबिहार सम्बन्धी सचेतना पनि दिने गरेका छौं’, काफ्लेले भनिन् ।










लेखकको सम्वन्धमा