थरिथरीका स्वादमा रमाए पर्यटक [फोटो फिचर]


लुम्बिनी– कोरोना महामारीले पछिल्ला दुई वर्ष पर्यटकीय गतिविधि हुन पाएनन् । महामारीको त्रासले पर्यटक आउजाउ भएन । यसले व्यवसायी नराम्रोसँग चपेडामा परे । पछिल्ला दिनमा भने महामारीबीच पर्यटकीय गतिविधि मात्रै बढेका छैनन्, व्यवसायीले पर्यटक लक्षित गतिविधि बढाएका छन् ।
खाना र होटलका कोठामा छुट दिएका छन् । अँग्रेजी नयाँ वर्षको असरमा लुम्बिनीमा आयोजित दुई दिनको सडक खाना महोत्सवमा देखिएको रौनक र उल्लास भने लोभलाग्दो थियो ।
शुक्रबार र शनिबार लुम्बिनीमा लुम्बिनी होटल संघ नेपालले आयोजना गरेको आठौं सडक खाना महोत्सव एवं सांस्कृतिक कार्यक्रममा आन्तरिक, भारतीय र बाह्य पर्यटक खुुबै रमाए । एकै ठाउँमा तारे होटलदेखि बौद्धकालीन काला नमक र टिन्नी चामलको खाना, इम्रिति, पेडा, थाई मिठाई, थारु तथा मुस्लिम समुदायका परिकारको स्वाद लिन पाउँदा महोत्सवमा पुगेका पाहुना खुशी देखिन्थे ।

महोत्सवमा पाल्पाको झिनिया रोटी, बटुक, हाँसको छोइला, माछा, चुकौनी, नामी मिठाइको स्वादले पनि पर्यटक लोभिए । प्रवेशद्वारबाटै बाजागाजाले स्वागत पाउँदा पर्यटकमा त्यसको छुट्टै रौनक देखिन्थ्यो । दुुई दिनसम्म साँझको समय लुुम्बिनी पर्यटकमय भयो । पाहुना स्वाद लिँदै, नाच्दै, गाउँदै औधी रमाए । एकै ठाउँ धेरै परिकारको स्वाद लिन पाउँदा दंग परे ।
महोत्सवमा स्थानीयको पहिचान बोकेका खानादेखि आधुनिक र विदेशी खानाका परिकारका पनि पर्यटकले स्वाद लिए । लुम्बिनीका चिनारी, हस्तकलादेखि स्थानीय उत्पादन खरिदविक्री भयो । पर्यटक थारु, लाखे नाच, सांस्कृतिक बाजागाजा र स्थानीय गीतमा झुमे । यस्तै, आधुनिक, पप, डिजे र भोजपुरी विराहमा रमाए । यसले व्यवसायीमा उत्साह थपियो भने लुम्बिनी क्षेत्र पर्यटकलाई स्वागत गर्न तयारी छ भन्ने सन्देश पनि दियो ।
पछिल्लो समय लुम्बिनीमा आन्तरिक तथा भारतीय पर्यटक आगमन राम्रो छ । पर्यटकको संख्या धेरै हुुँदैमा पर्यटकीय गन्तव्यको प्रबद्र्धन भने सम्भव छैन । पर्यटकबाट लाभ लिन उनीहरुको बसाइँ अवधी लम्ब्याउन जरुरी छ । त्यसका लागि पर्यटक टिक्ने वातावरण जरुरी हुन्छ । सेवा र मनोरञ्जनका कार्यक्रमले पाहुुनाको बसाइँ लम्बिन्छ । पछिल्लो समय विभिन्न अवसर पारेर पर्यटन व्यवसायीले यस्ता कार्यक्रम आयोजना गर्न थालेका छन् । दुुई वर्ष कोरोना महामारीले थलिएकोे पर्यटन व्यवसाय उकास्न यस्ता कार्यक्रम जरुरी बनेका छन् ।

त्यसैले रुपन्देहीका पर्यटन व्यवसायी तथा संघसंस्थाले अँग्रेजी नयाँ वर्षमा पर्यटक रमाउने कार्यक्रम आयोजना गरे । आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरेर होटल तथा रेष्टुुराँमा करोडौं रुपैयाँ लगानी गरेका व्यवसायीले अँग्रेजी नयाँ वर्षमा आयोजना गरेको खाना महोत्सवमा देखिएको उपस्थितिले भने पक्कै हौसला मिलेको छ । यसले पर्यटकको बसाइँ अवधि लम्ब्याउन र व्यवसायीलाई पलायन हुनबाट रोक्ने अपेक्षा गरिएको छ ।





















लेखकको सम्वन्धमा