April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनी, भरतपुर र पोखरालाइ जोडेर ‘स्वर्ण त्रिकोण टुर प्याकेज’ घोषणा

लुम्बिनी, भरतपुर र पोखरालाइ जोडेर पर्यटन बिकास गर्ने उद्देश्यले ‘स्वर्ण त्रिकोण टुर प्याकेज’को घोषणा गरिएको छ।

Advertisement

नारायणगढस्थित नारायणी नदीमा सञ्चालित मोटर बोटमा चढेर भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले टुर प्याकेज घोषणा गरेकी हुन्। शनिबार भरतपुरमा गण्डकी प्रदेश पर्यटन बोर्डका प्रमुख काशिराज भण्डारीको उपस्थितिमा घोषणा गरिएको यो त्रिकोणात्मक टुर प्याकेजअन्तर्गत अब यी तीन पर्यटकीय गन्तव्य एकले अर्को गन्तव्यको पनि प्रचारप्रसार गर्नेछन्।

Advertisement

भरतपुरमा टुर प्याकेजको घोषणाकाक्रममा पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी तया पत्रकार पनि उपस्थित थिए। उनीहरूले शनिबार भरतपुरका प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन गरेका छन्।
भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ सल्लाहकार विश्वराज सुवेदीले चितवनका पर्यटकीय गन्तव्यको अवलोकनपछि पोखरा र चितवनको समूह लुम्बिनी पुगेर त्यहाँका पर्यटकीय गन्तव्यको अवलोकन गर्ने कार्यक्रम रहेको बताए।
लुम्बिनीपछि, पाल्पाका पर्यटकीय गन्तव्य हुँदै पोखरा पुग्नेछौं,’ उनले भने, ‘त्यसपछि पोखराका पर्यटकीय गन्तव्यको अवलोकन गरिनेछ।’

तीन ठाउँकै पर्यटकीय गन्तव्यको अवलोकनपछि आफ्नो ठाउँको पर्यटकीय गन्तव्यको प्रचार गर्दा अर्को ठाउँको गन्तव्यको पनि प्रचार गर्ने उनले बताए।

अहिले भरतपुर महानगरले आफ्नो क्षेत्रभित्रका गन्तव्यको परिचयमात्रै राखेर प्रचार सामग्री प्रकाशन गर्दै आएकोमा अब पोखरा र लुम्बिनीलाई पनि समेट्नेछ। लुम्बिनी र पोखराले पनि त्यस्तै गर्नेछन्,’ सुवेदीले भने, ‘यसो गर्दा तीनै क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने विश्वास लिएका छौं।’
यसअघि भ्रमण वर्ष २०२० लाई लक्षित गरेर भरतपुर महानगरपालिकाले पोखरा र लुम्बिनीसँग छुट्टाछुट्टै टुर प्याकेज तयार गरेको थियो।

तर कोरोना महामारी बढेपछि भ्रमण वर्ष स्थगित भयो। टुर प्याकेज पनि काम लागेन।

‘त्यसपछि भरतपुर महानगरपालिका र गण्डकी प्रदेश पर्यटन बोर्डका बीचमा कुरा भएपछि हामी पर्यटन विकासका लागि त्रिकोण टुर प्याकेजतर्फ अग्रसर भयौं, लुम्बिनी पनि तयार भयो,’ सुवेदीले भने, ‘कोरोना महामारीलाई चिर्दै पर्यटन क्षेत्र अघि बढ्दैछ। यस्तो समयमा ल्याइएको यो प्याकेजले तीनै ठाउँको पर्यटकीय विकासमा भूमिका खेल्नेछ।’

मेयर दाहालले भरतपुरका ३० वटा पर्यटकीय गन्तव्यको सूची बनाएर प्रवर्द्धनका लागि महानगरले सहयोग गर्दै आएको बताइन्।

‘अब यहाँका गन्तव्यलाई लुम्बिनी र पोखरासँग जोड्नेछौं,’ उनले भनिन्, ‘उताबाट आउने पर्यटकका लागि भनेर एक रात दुई दिनदेखि ६ रात सात दिनसम्मको प्याकेज तयार पारेका छौं।’
प्याकेजमा जंगल सफारीदेखि नारायणी नदीमा बोटिङ हुँदै धार्मिक क्षेत्र भ्रमण र पहाडी क्षेत्रमा पदयात्रासमेत रहेका छन्।

मेयर दाहालले भरतपुर घुम्न आउने पर्यटक सूर्योदयदेखि सूर्यास्तसम्म अवलोकन गरेर रमाउन सक्ने ठाउँ रहेको बताइन्।

नेपाल सरकारले सूचीकृत गरेको एक सय पर्यटन गन्तव्यमा भरतपुर महानगरपालिकाको पटिहानी र बीसहजारी ताल र बागमती प्रदेश सरकारले घोषणा गरेको एक जिल्ला एक पर्यटकीय गन्तव्यमा महानगरकै मेघौली परेको भन्दै उनले चितवनका पर्यटकीय क्षेत्रको थप विकास र प्रचार गर्दै जाने बताइन्।

उनले देवघाटको धार्मिक पर्यटन, नारायणी नदीको जल पर्यटन, मेघौलीको ग्रामीण तथा साँस्कृतिक पर्यटनका अलावा भरतपुरमा वाइल्डलाइफ पर्यटनको पनि प्रचुर सम्भावना रहेको बताइन्।

‘लुम्बिनी र पोखरा आउने पर्यटकलाई चितवन भित्र्याउन र यहाँ आएका पर्यटकलाई ती गन्तव्यमा पठाएर बसाई लम्ब्याउन कार्यक्रम प्रभावकारी हुने विश्वास छ,’ उनले भनिन्।
गण्डकी प्रदेश पर्यटन बोर्डका प्रमुख काशिराज भण्डारीले महानगरपालिका नै विश्वसम्पदा सूचीमा सूचीकृत राष्ट्रिय निकुञ्जसँग जोडिएको विश्वमा कतै नभएको भन्दै भरतपुरले यसबाट फाइदा लिनसक्नुपर्ने बताए।

‘जैविक विविधताको संरक्षणमा पनि सहयोग गर्दै निकुञ्जबाट पर्यटन क्षेत्रले प्रचुर फाइदा लिनसक्छ,’ भण्डारीले भने, ‘भरतपुर, लुम्बिनी र पोखरालाई एउटै प्याकेजमा जोडेर पर्यटकलाई पर्यटन क्षेत्रका सबै खाले गतिविधिमा सहभागी गराउन सकिन्छ।’

भरतपुर महानगरपालिकाले मेघौली, पटिहानी, देवघाट, बीसहजारी ताल, ज्ञानेश्वर ब्लक, नारायणी रिभर बीच, चौकीडाँडा, जगतपुर, राइनो कुञ्ज, बाटुली पोखरी, रानी पोखरी, राइनो ताल, कसरा(गोही प्रजनन् केन्द्र), गोलाघाट, बागेश्वरी, गणेशधाम, गाँजीपुरलगायतका ३० वटा पर्यटकीय गन्तव्यको प्रचार गर्दै आएको छ।

लुम्बिनी र पोखरामा वार्षिक १५ लाख भन्दा बढी पर्यटक पुग्ने गरेका छन्। चितवनमा वार्षिक २ लाख पर्यटकले जंगल सफारी गर्ने गरेको तथ्यांक छ।

भरतपुर महानगरकी उपमेयर पार्वती शाह ठकुरीले नयाँ टुर प्याकेजले जंगल सफारीका साथै अन्य गतिविधिमा पनि पर्यटकको संख्या थपिने बताइन्।