December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडान नजिक

भैरहवा– कोरोना संक्रमणको कारण देखाउँदै यान्त्रिक परीक्षण उडानमा लामो समयसम्म बिलम्ब हुँदै आएको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अव भने परीक्षण उडानको नजिक पुग्न थालेको छ ।

Advertisement

यान्त्रिक परीक्षण उडानसहितको ठेक्का लिएको थाइल्याण्डको एरो थाइ कम्पनीले कोभिड–१९ संक्रमणको कारण निर्धारित मितिमा परीक्षण उडान गर्न नसक्ने जनाएपछि अनिश्चित बनेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडानका लागि बारम्बार पत्राचार गर्दै आएको थियो ।

एरो थाइ कम्पनीबाट हुनु पर्ने परीक्षण उडानको सुनिश्चितता हुन नसकेपछि नागरिक उड्डयन प्राधिकरणले बिकल्प खौज्दै भारतको ‘एयरपोर्ट अर्थरिटी अफ इण्डिया’ सँग परीक्षण उडानका लागि प्रकृया अगाडि बढाएको थियो । यही वेला एरो थाइ कम्पनीले पनि आफू सम्झौता बमोजिम परीक्षण उडानका लागि तयार रहेको जानकारी गराएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, प्राधिकरणले बिकल्प खौज्दै परीक्षण उडानका लागि भारतको ‘एयरपोर्ट अर्थरिटी अफ इण्डिया’ संग सम्झौताको तयारी कात्तिकको पहिलो साता गरेको थियो । त्यसको एक हप्ता भित्रै एरो थाइले पनि आफूसँगको पूर्व सम्झौता अनुरुप परीक्षणका लागि तयार रहेको जानकारी प्राधिकरणलाई गराएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक देवचन्द्रलाल कर्णले एरो थाइ कम्पनीले आफूसँग भएको पूर्व सम्झौता अनुरुप यान्त्रिक परीक्षणका लागि आफू तयार रहेको जानकारी प्राधिकरणलाई डेढ हप्ता अघि गराएको बताए ।

‘आउँदो २२ नोभेम्बरदेखि बिमान नै लिएर काठमाडौं आइपुग्ने जानकारी उसले गराएको छ’, कर्णले भने, ‘उसँग भएको सम्झौता अनुरुप विमानस्थलको सवै उपकरणको जाँच गरि सबै ठिक छन् भने उडान योग्य छ भनेर उसले प्रमाणित गरेर दिनु पर्छ ।’

कोभिड संक्रमण पैmलिन सुरु भएसँगै झण्डै डेड बर्ष अघिदेखि नै बिदेशी प्राविधिक र सवै उपकरण आउन नसक्दा आयोजनाको उपकरण जडानसहित परीक्षण उडानको कार्यमा बिलम्ब हुँदै आएको छ ।

आयोजनाको मौसम, संचार र विमानको दिशा पत्ता लगाउने लगायतका निर्माण कार्यलाई आइसीबी टु अन्तर्गत व्यवस्थापन गरि यसका लागि थाइल्याण्डको एरो थाइ कम्पनीले करिव ५० करोड रुपैयाँमा ठेक्का लिएको थियो । ठेक्का सम्झौता अनुरुप यस सम्बन्धि सवै उपकरण जडान र यान्त्रिक परीक्षण समेत गर्नु पर्ने थियो ।

निर्माणाधीन आयोजनाको आईसीवी टु का व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रबिन न्यौपानेले एरो थाइसँगको सम्झौताको पछिल्लो मिति डिसेम्बरसम्म भएको र यो अवधिमा परीक्षण उडानको कार्य सम्पन्न गर्ने प्रतिबद्धता उसले जनाएको बताए । तर, परीक्षण उडान कहिलेदेखि गर्ने ? भन्ने बारेमा आफूलाई जानकारी नभएको उनले जनाए ।

‘परीक्षण उडान गर्नु अघि ग्राउण्ड लगायतका अन्य पूर्वाधारहरु सवै चेकजाँच गर्नुपर्ने भएकाले परीक्षण उडान गर्ने बिमान भन्दा पहिला प्राविधिक टोली आउनु पर्ने हुन्छ’, न्यौपानेले भने, ‘यसका लागि मैले उनीहरुको प्राविधिक टोली पठाउन भन्दै कार्यक्रमको सुचि मागेको छु ।’ एक हप्ता भित्रमा उनीहरुले कार्यक्रम सुचि दिने उनले बताए ।

प्राविधिक टोलीले परीक्षण उडानका लागि सबै कुरा चेकजाँच गरि अव परीक्षण उडान गर्न ठिक छ भन्ने भएपछि बल्ल बिमान ल्याउँछन् । मंसिरपछि मौसमका कारण हुस्सु लाग्ने र मौसम प्रतिकुलताका कारण ढिलाइ हुन सक्ने भएकाले परीक्षण उडानको कार्य मंसिर महिनाभित्रै सक्ने योजना छ ।