December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

लुम्बिनी प्रदेशमा वर्षाले साढे ४ अर्बको धानबाली नष्ट

भैरहवा– लुम्बिनी प्रदेशमा अविरल वर्षा र त्यसपछि आएको बाढीले धानबालीमा ठूलो क्षति पुर्याएको छ । साथै मानीवय क्षति पनि भएको छ । प्रदेशमा बर्दियालगायत अन्य जिल्लामा ३६ हजार ४८० हेक्टरमा काटिसकेपछि खेतमा राखिएको धान नष्ट भएको छ ।

Advertisement

यस्तै, ९३ हजार ५७६ हेक्टरमा काट्नका लागि तयारी भएको धानबालीसहित १ लाख ६१ हजार २२३ मेट्रिक टन धान नोक्सान भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्रीले बिहीबार विज्ञप्ती जारी गर्दै वार्षा र बाढीले ४ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ बराबरको धानबाली नस्ट भएको जनाएका छन् । यस्तै पहाडी जिल्लामा मकै वाली पनि नस्ट भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

बर्षाका कारण बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका लगायत लुम्बनी प्रदेशभरी वाढी, पहिरोले जनधनको क्षतिसमेत भएको जनाइएको छ । ‘निरन्तर ३ दिनसम्मको वर्षाले प्यूठान माण्डवी गा.पा. ४ निवासी २८ वर्षीय देविसरा कार्कीको खोलाले बगाएर दुःखद निधन भएको छ’, जारी विज्ञप्तीमा भनिएको छ ।

प्राकृतिक विपत्तिबाट प्रदेशका नागरिकको जीवन कष्टकर बनेको र अन्नवालीमा पुर्याएको क्षतिले प्रदेश सरकारलाई निकै दुःखि बनाएको जनाइएको छ । ‘निरन्तर वर्षाका करणले कर्णाली नदीमा आएको वाढीले बर्दिया जिल्लाको राजापुर न.पा.को १०२७ घर परिवार र गेरुवा गा.पा. को २१० घर परिवार गरी जम्मा १ हजार २३७ घर परिवार प्रभावित भएका छन्’, विज्ञप्तीमा भनिएको छ, ‘ती प्रभावित एवं पीडित परिवार र नागरिकलाई सुरक्षित स्थानमा राखिएको छ । साथै राप्ती, कालीगण्डकी, नारायणी लगायतका नदीले पनि यस प्रदेशका नागरिकलाई प्रभावित बनाएकोप्रति प्रदेश सरकारले सबैको समन्वयमा सम्बेदनशीलताका साथ उद्धार तथा राहत प्रदानको व्यवस्था गरेको छ ।’

प्रदेशवासीलाई परेको पीडामा सरकारको समन्वयमा संघीय र स्थानीयतहको सहभागीतामा राहत प्रदान गर्ने मुख्यमन्त्रीले जनाएका छन् । प्राकृतिक महाविपत्तिले सृजित समस्याको सामनाका लागि आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मालाई प्रभावित क्षेत्र बर्दिया र बाँकेमा राहत र उद्धार सामग्रीसहित पठाई सकिएको जनाइएको छ । ‘प्रदेश सरकारले यस्ता महावित्तिमा नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता बनाउँदै छिटोछरिटो रुपमा उद्धार कार्य गरेको छ’, विज्ञप्तीमा भिनएको छ ।’

विज्ञप्तीमा प्रदेशका किसानहरुको धानवाली उठाउनका लागि सहयोग गरि दिन सम्पूर्ण जनप्रतिनिधी, राजनीतिक दल, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दलका भातृ एवं सुवेच्छुक संगठन, सामाजिक संघसँस्था, नागरिक समाज, रेडक्रस सोसाइटी, मावनअधिकारकर्मी, सञ्चारकर्मी, विद्यार्थी लगायत सबै समुदायमा अपिल गरिएको छ । यस घटनामा प्रदेश सरकारको तर्फबाट राहत प्याकेज घोषणासहित किसानहरुलाई परेको पीडामा प्रदेश सरकार हातेमालो गर्ने प्रतिवद्धता गरिएको छ ।