November 4, 2024, Monday
२०८१ कार्तिक १९

राजनीतिक चपेटाले खुम्चियो मर्चवार लिफ्ट सिंचाई

भैरहवा– कृषि क्षेत्र सिंचित गरी उत्पादन बढाउने उद्देश्यले रुपन्देहीको मर्चवारमा २०४७ सालमा लिफ्ट सिंचाई आयोजना निर्माण सुरु भयो । २०५१ मा आयोजना सम्पन्न भयो । ३ हजार ५ सय हेक्टर जमिन सिंचाइ गर्ने लक्ष्यसहित यो आयोजना सुरु गरिएको थियो । निर्माण सम्पन्न हुँदा लक्ष्यअनुसारको सिंचाई पनि भयो । तर, संरक्षण र क्षेत्र विस्तार भने हुन सकेन । जसले गर्दा अहिले सिंचित क्षेत्र खुम्चिएर आधा पनि सिंचाई हुँदैन । नहरको अवस्था दयनीय हुँदै गएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रको कृषि भूमि सिंचित गरी उत्पादन बढाउने उद्देश्यले यो आयोजना बनाइएको हो । संयुक्त राष्ट्र संघ (सीडीएफ)को १३ करोड लागतमा २०५१ आयोजना निर्माण सम्पन्न भएको थियो । २०५४ मा किसानलाई एकीकृत गरी जल उपभोक्ता समिति गठन गरेर आयोजना हस्तान्तरण भयो । २०६० सम्म आयोजना राम्रो चल्यो । त्यसपछि भने राजनीतिककरण सुरु भयो ।

Advertisement

सिंचित क्षेत्र विस्तार गर्नुको सट्टा आफ्ना मान्छे अध्यक्षमा जिताउने र कर्मचारी भर्ती गर्ने तिथी बसालियो । त्यसपछि आयोजना झनपछि झन खुम्चिँदै गयो । अहिले सिंचित क्षेत्र घटेर एक हजारदेखि १ हजार दुई सय हेक्टर क्षेत्रफलमा सीमित भएको छ ।

‘यहाँ सिचाईं विस्तार गर्ने, नहर मर्मत सम्भार गर्ने भन्दा पनि उपभोक्ता समितिमा आफ्ना मान्छे ल्याउन लुछाचुँडी चल्छ’, स्थानीय कृष रमेश यादवले भने, ‘पहिल्यैदेखि लोकतान्त्रिक समाजवादीका पार्टी कार्यकर्ताले नेतृत्व लिने र जागिर गर्दै आएका छन् । राजनीतिक संरक्षणका कारण उनीहरुले सिंचाई आयोजनाप्रति ध्यान नै दिँदैनन् ।’

नहर भत्किएका छन् । झाँडीले ढाकेको छ । पानी बग्नै समस्या छ । नहर सफाई र मर्मतमा ध्यानै दिइएको छैन । यहाँ व्यवस्थापनदेखि अपरेटर र अन्य कर्मचारी सबै लोकतान्त्रिक समाजवादी पार्टी निकट छन् । ‘आयोजनामा हुने राजनीति र त्यसको चपेटाले गर्दा कृषि भूमि बाँझिने सम्भावना बढ्यो’, स्थानीय कृषक राजेन्द्र यादवले भने ।

जल उपभोक्ता समिति भने राजनीतिक कारण नभई आर्थिक अभावले सिंचित क्षेत्र घट्दै गएको बताउँछ । सरकारले बजेट पनि न्यून उपलब्ध गराउने गरेको छ । अघिल्लो आर्थिक वर्षमा आएको १५ लाख रुपैयाँ कहाँ खर्चभयो भन्ने उपभोक्ता समितिलाई नै थाहा छैन । यो वर्ष बजेट आउनेबारे टुंगो छैन । अर्कातर्फ मर्चवार क्षेत्रमा विद्युत्को चरम समस्या छ ।

‘राजनीतिकले आयोजनाबाट हुने सिंचित क्षेत्र घटेको होइन्’, मर्चवार लिफ्ट सिंचाई जल उपभोक्ता समिति अध्यक्ष इसराक अहम्मद खाँनले भने, ‘विद्युतको न्यून भोल्टेज हुँदा नहरमा पानी पठाउनै समस्या पर्छ । अर्कातर्फ मर्मतका लागि बजेट छैन । किसानले पैसा दिनै खोज्दैनन् ।’

जल उपभोक्ता समितिको साधारण सभा समेत नभएको ९ वर्ष भइसकेको छ । निर्वाचनसमेत समयमा हुँदैन । ९ वर्षयता साधारणसभा विनै अडिट गरिँदै आएको छ । यहाँको निर्वाचनलाई ‘मिनी संसदीय चुनाव’ पनि भनिन्छ । राजनीतिक दलले आफुना मान्छे कार्यसमितिमा ल्याउन चलखेल गर्छन् । लाखौं रुपैयाँ खर्चिन्छन् । आफ्नो जमिन सिंचित गरेवापत प्रतिकठ्ठा वार्षिक २५ रुपैयाँ तिर्दै आएका किसानले त्यो रकम पनि दिन छाडेका छन् ।

‘हामीले पैसा दिने तर त्यो सही सदुपयोग नै हुँदैन’, कृषक यादवले भने, ‘त्यही भएर धेरै किसानले पैसा दिन छाड्नु भएको हो ।’ सुरुममा करिब चार हजार किसानले सिंचाई सुविधा लिँदै आएकामा अहिले जम्मा एक हजार पाँच सय जनामात्रै लाभान्वित छन् । मर्चवारका तीनवटा स्थानीय तहमा गरी गरी करिब ७ हजार हेक्टर कृषियोग्य जमिन छ । तर, आयोजना विस्तार नहुँदा सिंचित भू–भाग झनै घटिरहेको छ ।

सुरुमा लक्ष्यअनुसार कृषि भूमि सिंचित भएपछि यहाँका किसानमा खुशी छाएको थियो । अत्याधुनिक प्रविधिबाट बनाइएको आयोजना सुरु पछि उत्पादन बढेको किसान बताउँछन् ।‘तर, आयोजना खुम्चिँदै जाँदा हामी निराश छौं’, यादवले भने, ‘त्यसैले चरम राजनीतिकरण अन्त्य गरी सरकारले बजेट उपलब्ध गराई मर्मतसम्भार र क्षेत्र विस्तारमा ढिलाई गर्नुहुँदैन ।’

डिभिजन सिंचाई कार्यालय रुपन्देहीका सूचना अधिकारी ईं.रामविलास यादवले धेरै कर्मचारी हुँदा पनि समस्या भएको बताए । उनले सिजनअनुसार कर्मचारी राखेमा अहिले आइरहेको समस्या हट्ने बताए ।