November 4, 2024, Monday
२०८१ कार्तिक १९

लुम्बिनीमा थन्किए विद्युतीय सवारी

लुम्बिनी– लुम्बिनीमा प्रदूषण बढ्दो छ । सम्पदाबारे राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा चिन्ता र चासो छ । तर, लुम्बिनीको प्रदूषणबारे बाहिर आएका प्रतिवेदन र अनुसन्धान कार्यान्वयन छैनन् । अशोक स्तम्भ खिइँदै गएको छ । स्तम्भ क्षेत्रमा फोहोर फाल्दा सम्पदा नै नष्ट हुने खतरा छ ।

लुम्बिनीको बढ्दो प्रदूषणलाई ख्याल गरी विद्युतीय बस र ट्याक्सी ल्याइयो । सुरुमा लुम्बिनीमा आएका बिजुली बस भैरहवा भन्सार कार्यालयबाट जबर्जस्ती लुम्बिनी नपुर्याइ सिधै काठमाडौं लगियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ कात्तिक ६ मा ललितपुरको पुल्चोकबाट बस चढी सिंहदरबार पुगेर शुभारम्भ गरे । लुम्बिनीका लागि ल्याइएका बस काठमाडौं लगेको र प्रधानमन्त्रीले नै शुभारम्भ गरेको भन्दै चौतर्फी आलोचना भयो ।

Advertisement

ती बसमा उसबेला पर्यटन मन्त्रालयले १७ वटा कैफियत देखाएपछि ठेक्का बदर भएको थियो । त्यसपछि अघिल्लो वर्ष फेरि बीवाईडी कम्पनीले चीनबाट आयात गरेर नयाँ बस र ट्याक्सी लुम्बिनी भित्र्याइएको छ । ओलीले बस उद्घाटन गरेको दुई वर्षपछि लुम्बिनीमा बिद्युतीय बस र ट्याक्सी ल्याइएको हो ।

मुलुकको प्रमुख पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनीमा वातावरणमैत्री विद्युतीय बस र ट्याक्सी भित्र्याइएको वर्ष दिन पुग्नै लागेको छ । विश्व सम्पदास्थल लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न र पर्यटकलाई सुविधा दिन भन्दै भित्र्याइएका बस र ट्याक्सी भने संचालनको छाँटकाट नै छैन । चार्जिङ स्टेसन करिब–करिब तयार भए पनि संचालन मोडालिटी तयार नहुँदा लुम्बिनीमा लामो समयदेखि घामपानीमा अलपत्र जस्तै छन् ।

अहिले लुम्बिनी पुग्ने धुलाम्य सडक कालोपत्र भएका छन् । नजिकका ठूला उद्योगले प्रदूषण रोक्न ‘डस्ट कलेक्टर’ प्रविधि जडान गरेका छन् । सवारी भने पुराना र थोत्रा नै चलिरहेका छन् । यहीबीच विद्युतीय सवारी लुम्बिनी भित्र्याइएको हो । लुम्बिनीसम्म सहज यात्रा बनाउने गरी भैरहवा–लुम्बिनी, लुम्बिनी–तौलिहवा सडक फराकिलो बनाइएको छ । लुम्बिनी–रामापुर सडक पनि फराकिलो बनेको छ ।

लुम्बिनीसम्मको सहज मार्गका लागि बुद्ध परिपथ बनेको छ । बेलबास–बेथरी सडक बनिरहेको छ । लुम्बिनी वरिपरिको रिङरोड तयार भइसक्यो । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ । तर, वातावरण प्रदूषण र पर्यटकका लागि सहज यात्रा गराउने उद्देश्यले लिएको बस संचालनमा भने ढिलाइ भएको छ ।

‘अपेक्षाअनुसार काम भएन, यति लामो समयसम्म विद्युतीय सवारी नचलाएर थन्क्याएर राख्नु राम्रो होइन’, लुम्बिनीका पर्यटन व्यवसायी गोविन्द ज्ञवालीले भने, ‘सवारी यहाँ ल्याउँदा हामी जति खुशी थियौं अहिले संचालन नहुँदा धेरै दुखी भएका छौं । जतिसक्दो छिटो सवारी चलाउनुपर्छ ।’ विद्युतीय बस र ट्याक्सी लुम्बिनीमा रोकिराखेको ११ महिना भएको छ । यहाँ बनाइएको चार्जिङ स्टशनमा सवारी थन्क्याइएको छ ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्व पर्यटकीयस्थल लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ल्याउन–लैजान बस र ट्याक्सी प्रयोग गरिने योजना छ । तर, लामो समय नचलाएर खुला आकाशमुनी राख्दा बिग्रने, पाटपुर्जामा समस्या आउने र टुटफुट हुने जोखिम बढेको भन्दै सर्वत्र चिन्ता छ ।

सुरुमा जाँच गरिए पनि अहिले ती सवारी प्राविधिक रुपमा ठीक छन्–छैनन् भनेर जाँचपास गरिएको छैन । सवारीसाधन यत्तिकै थन्काएर राख्दा समस्या आउने प्राविधिक बताउँछन् । विद्युतीय सवारी साधन यहाँ ल्याइएपछि विकास कोषले संचालनको योजना बनाउन थालेको थियो । तर, संचालनको ठोस मोडालिटी अझै बनिनसकेको कोषका योजना प्रमुख सरोज भट्टराईले बताए ।

‘विकास कोष आफैंले विद्युतीय सवारी सञ्चालन गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘कसरी संचालन गर्ने भन्नेबारे प्रदेश सरकार र विभागीय मन्त्रालयसँग छलफलमा छौं ।’ कोषले टेन्डर आह्वान गरी सवारी सञ्चालन गर्न निजी कम्पनीलाई दिने मनसाय बनाएको उनले बताए । ‘कसरी यसलाई किफायती ढंगले चलाउन सकिन्छ भन्नेबारे निचोड निस्किसकेको छैन’, उनले भने ।

गत वर्ष चीनबाट दुई लटमा गरेर ५ बस र १४ ट्याक्सी लुम्बिनी ल्याइएको हो । त्यसयता यी सवारीसाधन लुम्बिनीस्थित विद्युतीय चार्जिङ स्टेसनको पार्किङमा राखिएको छ । एशियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड लागतमा बस र ट्याक्सी लुम्बिनी भित्र्याइएको थियो । सवारी यहाँ ल्याउँदा सरकारले साढे ३ करोड रुपैयाँ भन्सार शुल्क व्यहोरेको थियो  ।

लुम्बिनीमा जापानको इसाका इलेक्ट्रिक कम्पनीले १३ करोड लागतमा बस र भ्यान चार्जिङ गर्ने स्टेसनको काम अन्तिम चरणमा पुर्याएको छ । ‘कोरोनाले कम्पनीका प्रतिनिधि यहाँ आउन सकेका छैनन्’, कोषका सदस्य सचिव सानुराजा शाक्यले भने, ‘चार्जिङ स्टेशन लगभग तयार छ, कम्पनीका प्रतिनिधि आउनासाथ काम पूरा गर्छौं ।’

कोरोना महामारीले काम नसक्दै ठेक्का समयावधि सकिएको छ । म्याद थप अझै भएको छैन । मन्त्रिपरिषद्ले ठेकेदारको म्याद थप्नु पर्ने हुन्छ । अझै निर्णय भएको छैन । कोषले आफ्नो बोर्ड बैठकमा यी सबै कुरा जानकारी गराएको जनाएको छ । यहाँ सोलार र विद्युतबाट बस र ट्याक्सी चार्जिङ गर्ने गरी स्टेशन बनाइएको छ । यसका लागि लुम्बिनीमा सोलार प्लान्ट जडान गरिएको छ ।

यहाँ जडान गरिएको पावरहाउसबाट १ सय ५४ किलोवाट विद्युत् उत्पादन हुन्छ । चार्किङ स्टेसनबाट एकै पटकमा १३ सवारी साधन चार्ज गर्न सकिने बनाइएको छ । यहाँ ल्याइएका पूर्ण वातानुकूलित बस अपांगमैत्री र स्वचालित ढोका छन्  । बसमा १९ र ट्याक्सीमा ५ सिट छन् । बस कार्डले स्टार्ट हुन्छ  भने बस र ट्याक्सी आवाजरहित छन् । एक पटक फुल चार्ज गरे चार सय किमिसम्म गुड्छ । आपतकालीन ठुल्ठूला ढोका छन् । लुम्बिनीमा बढ्दो वातावरणीय मध्यनजर गरेर विद्युतीय सवारी ल्याइएको हो । तर, समयमै संचालन नगर्दा यत्तिकै विग्रेर जाने हुन की भन्ने चिन्ता भने बढेको छ ।