March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

चार वर्षदेखि भन्सारमै थन्कियो ब्यागेज एक्सरे मेसिन

भैरहवा – चार वर्ष भयो भैरहवा भन्सार कार्यालयमा ब्यागेज एक्सरे मेसिन ल्याएको । संचालनको कुनै तयारी छैन । सुरुमा हप्ता दिन जति प्रयोगमा ल्याइयो । त्यसयताका दिनहरुमा मेसिनलाई एउटा अध्याँरो कोठामा घुम्टो ओढाएर राखिएको छ ।

Advertisement

लामो समय प्रयोगविहीन बन्दा मेसिनमा खियाँ लागेको छ । विग्रिएर काम नलाग्ने भएको छ । अर्कातर्फ मेसिन संचालनका लागि दक्ष जनशक्ति समेत छैनन् । ‘मुलुकमा प्रतिबन्धित तथा अवैध समान भित्रिनबाट रोक्न यो मेसिन उपयोगी मानिन्छ तर प्रयोग नगर्दा कामै नलाग्ने अवस्थामा पुग्यो’, स्थानीयसमेत रहेका नेपाल–भारत मैत्री संघ बेलहिया उपशाखा अध्यक्ष श्रीचन गुप्ता भन्छन्, ‘मेसिन संचालनमा भन्सार र विभागले ध्यान दिनुपर्छ ।’

Advertisement

भैरहवा भन्सार कार्यालयको मातहतमा रहने गरी नेपाल–भारत सीमा नाका रुपन्देहीको बेलहियामा ब्यागेज एक्सरे मेसिन राखिएको छ । २०७४ साउनमा भन्सार विभागले भैरहवा भन्सार कार्यालयको यात्रु शाखामा मेसिन राखेको थियो । त्यसबेला हप्ता दिन मेसिन संचालन आएको थियो । अहिले प्रयोगबिहीन छ ।

‘खासगरी नेपाल आउने स्वदेशी तथा विदेशीले बोक्ने झोलाहरु एक्सरे मेसिनबाट जाँच गरि अवैध सामान हातहतियार, मेटललगायत भित्रिन नदिनका लागि एक्सरे मेसिन राखिएको हो । तर, भन्सार कार्यालयको लापरबाही र बेवास्ताले मेसिन यत्तिकै थन्काएर राखिएको छ’, लुम्बिनी खुकुरी क्लबका अध्यक्षसमेत रहेको बेलहियाका स्थानीय रामबहादुर बस्नेतले भने ।

उनले मेसिनको प्रयोग र अत्यावश्यकता बुझ्न सरोकारवालालाई सुझाव दिए । ‘हामीले मेसिन कति महत्वपूर्ण छ भन्ने बुझ्नै सकेनौं’, उनले भने, ‘लाखौंको मेसिन प्रयोगबिहीन बनाउन गैरजिम्मेवारीपन हो ।’ सीमामा भारतीय सुरक्षाकर्मीले एक्सरे मेसिन राखेका छन् । भारत आउजाउ गर्नेको एक्सरे मेसिनबाट जाँच हुन्छ । झोलाहरु चेक गरिन्छ । नेपालतर्फत भने यो व्यवस्था छैन । भएको पनि प्रयोगमा ल्याइएको छैन ।

‘भन्सारले सडकलाई देखाएर धुलोले विग्रिन्छ भन्छ तर यत्तिकै कोठामा राखेर विगार्नुभन्दा कम्तिमा दुईचार महिना भए पनि सडक छेउमा राखेर संचालन गर्नुपर्छ’, बस्नेतले भने, ‘अहिलेको यात्रु प्रतिक्षालयमा राखे धुलो हुँदैन । भन्सारले संचालन गर्न ढिलाइ गरेर बनाइरहेको बहाना मात्र हो ।’ उतिबेला ७२ लाखमा भन्सार विभागले एक्सरे मेसिन खरिद गरी भन्सारलाई हस्तान्तरण गरेको थियो ।

सुरुमा मेसिन भारतबाट नेपाल भित्रिने स्वदेशी तथा विदेशी नागरिकले ल्याउने झोलाहरु एक्सरे मेसिनबाट चेकजाँच गरेपछि मात्रै गन्तव्य जान दिने भनिएको थियो । तर, न नेपाल भित्रिनेको झोलाहरु चेकजाँच गरिन्छ न त एक्सरे मेसिन नै प्रयोगमा आएको छ । कतिपयले कर्मचारीले घूस खानका लागि मेसिन प्रयोगमा नल्याएको आरोप समेत लगाउने गरेका छन् ।

एक्सरे मेसिनमा झोला राखेपछि स्क्यानिङ हुन्छ । त्यसपछि झोलामा भएका प्रत्येक सामानको फोटो क्याप्चर हुन्छ । उक्त फोटो प्राविधिक टीमले अध्ययन गर्ने गर्छन् । त्यसपछि अवैध सामान मेटल, हातहतियार छ/छैन पत्ता लगाउन सहज हुन्छ । कोरोना महामारीकैबीच पनि दैनिक सयौं नेपाली तथा भारतीयहरु बेलहिया नाकाबाट नेपाल–भारत आउजाउ गर्छन् । भारतीय बजार सुनौलीमा सामान खरिद गर्न जानेहरुको बाक्लो भीड लाग्छ । यसरी नेपाल भित्रिनेहरुमध्ये २० प्रतिशत यात्रुको पनि झोला चेकजाँच हुँदैन । ८० प्रतिशतले वैध/अवैध के–कस्ता समान ल्याएका थिए थाहै हुँदैन ।

चेकजाँच हुनेहरुबाट भन्सार कर्मचारीले असुली गर्छन् । कतिपयलाई विना कारण दुःख दिन्छन् । यसले एकातर्फ सामानको चेकजाँच फितलो छ भने अर्कातर्फ भन्सार राजश्व छली उस्तै छ । नेपाल भित्रिनेको झोलाहरु चेकजाँच गर्न धेरै जनशक्ति खर्च भइरहेको छ । ‘मेसिन संचालन गर्ने र एउटा दक्ष प्राविधिक राख्ने हो भने सुरक्षाका दृष्टिले मात्रै होइन, जनशक्ति खर्च थोरै हुन्थ्यो, राजस्व चुहावट नियन्त्रणमा आउँथ्यो’, गुप्ताले भने ।

मेसिन संचालनमा आए अन्तर्राष्ट्रिय सीमा नाकाको सकारात्मक सन्देश प्रभाव हुने स्थानीय बताउँछन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणका रुपन्देही प्रमुख एसपी राजेश उप्रेतीले मेसिन संचालनमा आए सुरक्षाका हिसावले सहज हुने बताउँछन् ।

भन्सार कार्यालयले भने निर्माणाधीन सडकलाई देखाएर मेसिन संचालनमा ढिलाई गरिरहेको छ । सीमानाकादेखि बाइपाससम्मको करिब ६ सय मिटर सडक चार वर्षदेखि अलपत्र छ । सडक विस्तार हुँदा भन्सारको केही भाग भत्काउनु पर्ने भएकाले सडक नबन्दासम्म मेसिन संचालनमा कठिन हुने भन्सार कार्यालय प्रमुख मनिराम पौडेलले बताए । ‘मेसिन संचालनमा नल्याउनु हाम्रो बाध्यता हो’, उनले भने, ‘एक त दक्ष प्राविधिक जनशक्ति छैन, अर्कातर्फ सडक विस्तारमा भइरहेको ढिलाइले समस्या भएको छ ।’

भन्सारका सूचना अधिकृत तीर्थराज पासवानले सडकमै सटाएर एक्सरे मेसिन राख्नुपर्ने भएकाले सडक नबन्दासम्म मेसिन संचालन गर्न नसकिएको बताए । ‘अहिलेको यात्रु प्रतिक्षालयको धेरै भाग सडकमा जान्छ, सडक नबन्दासम्म मेसिन राख्ने ठाउँ छैन’, उनले भने, ‘यत्तिकै बाहिर राखौं धुलोले कामै नलाग्ने हुन्छ । त्यसैले कोठामा थन्काएर राखेका हौं ।’