पर्यटकको पर्खाइमा भैरवस्थान


पाल्पा – भैरवको दर्शनले मनोआकंक्षा पूरा हुने जनविश्वास छ । यसैले यहाँ श्रद्धालु पुजाअर्चनाका लागि आउँछन् । पाल्पाको रिब्दीकोट गाँउपालिकामा पर्ने भैरवस्थान मन्दिरमा धार्मिक तथा ऐतिहासिक महत्व छ । सदरमुकाम पाल्पाका करिब ९ किमी दूरीमा मन्दिर छ ।
भैरवस्थानको मन्दिर मणि मुकुन्द सेन प्रथमले वि.स. १५८१ मा बनाएको बताइन्छ । भैरवस्थान मन्दिरलाई अष्टभैरव, कुम्भ भैरव, भिमसेन भैरव, बाघ भैरवलगायत विभिन्न भैरवको रुपमा पूजा गरिन्छ । यहाँ महाकाल भैरव र बटुक भैरवको मूर्ति स्थापना गरिएको छ । मुकुन्द सेनको पालामा सेनवंशी राजाले भैरवस्थान मन्दिरलाई शक्तिपीठको रुपमा स्थापना गरेका हुन् ।
लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमध्येको यो मन्दिर पछिल्ला दिनहरुमा भने सुनसान छ । पर्यटक आगमन न्यून छ । कोरोना महामारी अन्त्यको पर्खामा मन्दिर छ । महामारीले यहाँ पर्यटक पुग्न सकेका छैनन् । सुनसान हुँदा मन्दिर परिसरमा घाँस उम्रिएको छ । पहिला विभिन्न समुदायले ढाडा, टण्टा, सत्तल, पौवा निर्माण गर्ने, पुजा लगाउने, पातहरु, दाउराहरु ल्याउने चलन थियो । भैरवको मन्दिरमा बलि पनि चढाइने भएकाले राँगा, बोका, कुखुरा, भालेहरुको बलि चढाइन्छ । घरमा मासु नखानेहरुले कुभिण्डो पनि चढाउने गर्दछन् । अहिले यी सबै ठप्प छ ।
मन्दिरमा सुनसान छ । गएको वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा अहिले पनि हटेको छैन् । पाल्पामा पुनः भदौ १२ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । सवारी साधन चलेका छन् । बजार पसल खुलेका छन् । मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा आवतआवत गरिरेहका छन् । तर मन्दिरमा पूजा गर्न रोक लगाइएको छ । आम भक्तालुका लागि मन्दिर खुला गरिएको छैन् । नित्य पूजा बाहेक अन्य पूजा गर्न रोक लगाइएको छ ।
विगतमा दैनिक सरदर एक हजार भक्तालु मन्दिरमा पूजा गर्न आउने गरेको मन्दिर व्यवस्थापन समितिका व्यवस्थापक मीनबहादुर बुढाथोकी बताउँछन् । उनी भन्छन्, ‘विगत २ वर्षदेखि यहाँ भक्तालु न्यून मात्रामा आएका छन् । अहिले ठप्प नै छ ।’ यसले मन्दिरको आम्दानी पनि खुम्चिएको छ । भक्तालु आउनु, मेडो चढाउनु नै मन्दिरको मुख्य आम्दानी हो । ‘विगतमा मासिक ५ लाख बढी आम्दानी हुन्थ्यो । अहिले आम्दानी शून्य छ । नित्य पूजा गर्न समेत समस्या भइरहेको छ’, उनले भने ।
मन्दिरका मूल पुजारीसहित केही सहयोगी कर्मचारीलाई बिहान साँझ खान समस्या हुन थालेको छ । मन्दिरमा चढाएका पैसा, मेडोको रुपमा चढाउन ल्याएको बोका, कुखुराका टाउका बिक्री गरेर मन्दिरको खर्च चल्दै आएको थियो । परेवा र मन्दिरबाट नै रोट बनाएर भक्तालुलाई बिक्री गरेका रकमबाट मन्दिरको खर्च व्यवस्थान हुँदै आएकाथियो । खर्चबाट बचत भएको रकमबाट मन्दिरले अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको थियो ।

कोभिडको बेलामा पनि आन्तरिक पुजा भने कहिल्यै पनि रोकिएको छैन । यहाँ अखण्ड धोनी हुन्छ, आगो बलिरहिन्छ । यहाँ स्वदेश तथा विदेशबाट भक्तजनहरु दर्शन तथा पुजाअर्चना गर्न आएका छैनन् । प्यागोडा शैलिमा बनाइएको मन्दिर संस्कृतिक झल्काउने खालको छ । मन्दिरमा पहिले झिंगटीको छानो लगाइएको थियो । यो अहिले इँटा प्रयोग गरेर बनाइएको छ । बीचमा टीनको पनि छानो लगाइएको थियो, यसलाई पुरातत्व विभागले व्यवस्थित गरेको छ । तर भित्री भाग चलाइएको छैन ।
यहाँ एसियाकै ठूलो त्रिशुल छ । त्यही त्रिशुल हेर्ने र त्रिशूलसँग फोटो खिच्न दैनिक सयौं मानिस आउने गर्दथे । मनोकांक्षा पूरा हुने भन्दै पूजा आराधना गर्ने र बलि चढाउँनेको घुइँचो नै लाग्ने गर्दथ्यो । आध्यात्मिक पर्यटक अध्ययन अवलोकनका लागि यहाँ आउँछन् ।
यहाँ पञ्चेबाजासहित पञ्चबली ल्याउने चलन छ । अहिले आएका भक्तालुले मन्दिरमा पुजा गर्न नपाउँदा केही टाढै पूजा तथा बलि चढाएर जाने गरेका छन् । कोरोना महामारीका कारण पछिल्लो समयमा भक्तालु आउन छाडेका छन् । मानिसको कुनै चहलपहल छैन् ।
यसअघि यहाँ २० जना कर्मचारी थिए । अहिले त्यो संख्या घटेको छ । कर्मचारीलाई तलब दिन नसकेपछि घरमै बस्न भनिएको मन्दिर व्यवस्थापनले जनाएको छ । काम गर्ने कर्मचारी नहुँदा मन्दिर भताभुङ्ग अवस्थामा छ । पर्यटक घुम्ने बगैँचामा झाडी उम्रिएका छन् । बस्ने कटेज तथा प्रतीक्षालयमा पानी चुहिन्छ । मन्दिर र मन्दिर परिसर अस्तव्यस्त बनेको छ । जताततै घाँस मात्रै उम्रिको छ ।
कोरोना महामारी अन्त्य हुने र मन्दिर खुल्ला गर्ने अपेक्षा व्यवस्थापनको छ । ‘हामी पर्यटक र भक्तजनलाई स्वागत गर्न आतुर छौं’, बुढाथोकी भन्छन्, ‘विस्तारै महामारी अन्त्य हुने अपेक्षा छ । फेरि भैरवस्थान पूर्ववतः लयमा फर्किने छ ।’
लेखकको सम्वन्धमा