April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

महामारीमा मनकारी हातहरु

भैरहवा, जेठ ४ । यहाँका युवा व्यवसायी विवेक पौडेलले सोमबार भैरहवास्थित भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित र उनीहरुका कुरुवा (आफन्त)लाई निःशुल्क खाना खुवाए । पहिलो दिन ८० जनालाई निःशुल्क खाना बाँडेका उनले यसलाई निषेधाज्ञाभर निरन्तरता दिने बताए । रुपन्देहीमा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी छ ।

Advertisement

‘विरामी आफन्तको उपचारमा पिरोलिएकाले खना खाने फुर्सदसमेत छैन, अझ बजार बन्द छ, कहाँबाट किनेर ल्याउने ? यस्तो समस्या थाहा पाएपछि मेरो सानो प्रयासले थोरै भए पनि सहजता होस् भनेर निःशुल्क खाना वितरण गरेको हुँ’, सिद्धार्थनगर–९ निवासी पौडेलले भने । विरामी र कुरुवालाई उनले खानासँगै निःशुल्क पानी पनि वितरण गरे ।

Advertisement

भीम अस्पतालमा टाढाटाढाबाट विरामी उपचारमा आएका छन् । घरबाट खाना ल्याउने समय छैन । यातायात ठप्प छ । साधन हुनेले घरबाटै खाना ल्याए पनि नहुनेलाई दुःख छ । विरामीले खाने कुरा पोसिलो हुनुपर्छ, त्यो जहाँतही पाइँदैन ।

पौडेल मात्र होइन्, कोरोना संक्रमणले पिरोलीरहेका बेला उनीजस्ता धेरै मनकारीले महामारीमा राज्य र संक्रमित परिवारसँग हातेमालो गरेका छन् । रुपन्देहीमा यस्ता मनकारीहरु कैयन् छन्, उनीहरु रातदिन सेवामै जुटिरहेका छन् । आफूले सक्दो सयोग गरेका छन् । कतिले विरामीलाई सहयोग गर्छन् भने कतिपयले अस्पताललाई सहयोग गर्दै आएका छन् ।

व्यक्ति मात्रै होइन्, संघसंस्था, राजनीतिक दल पनि सेवारत छन् । संकटका साथी बनेका छन्, दिनदुखीको सहारा बनेका छन् । लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले पनि हप्ता दिनदेखि कोरोना संक्रमित र विरामी कुरुवालाई निःशुल्क खाना वितरण गरिरहेको छ ।

क्लबले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस) मा दैनिक एक सय ५० देखि दुई सय जनासम्म उपचाररत संक्रमित र कुरुवालाई खाना वितरण गरिरहेको क्लबका उपाध्यक्ष मनोज क्षेत्रीले बताए ।

‘संकटकाबेला भोकले कसैलाई नसताओस्, समयमै सबैले खाना पाउन भनेरै हामीले निःशुल्क खाना वितरण सुरु गरेका हौं’, उनले भने, ‘धेरै विपन्न वर्गको हामीले सेवा गर्न पाएका छौं, यसले म मात्रै होइन् सिंगो क्लब परिवार र सयौं विरामीहरुको मुहारमा खुशी थपेको छ ।’

क्लबले भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट जडानमा सहयोग गर्ने भन्दै एक लाख एक हजार रुपैयाँ नगद आर्थिक सहयोग पनि गरेको अध्यक्ष शिवनाथ गुप्ताले बताए । ‘अक्सिजन अभावमा धेरै विरामी छटपटिँदै गरेको हामीले देख्यौं, कतिजनाले अक्सिजन अभावमै ज्यान गुमाउनुभयो, हामीले सानो प्रयास गर्यौ भने प्लान्ट राख्ने अभियान सफल हुन्छ भनेर सहयोगमा जुट्यौं, यसले सार्थकता पाओस्’, उनले भने ।

भीम अस्पतालमै पूर्वमन्त्री ओमप्रकाश यादव ‘गुल्जारी’ले ४ दिन अघि निःशुल्क पानी वितरण गरे । संक्रमितलाई हौसला दिए । भीम अस्पताललाई नै लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले ५० थान सिलिन्डिरका लागि ३२ हजार ५ सय रुपैयाँ, दुधनाथ जैसवालले ११ थान अक्सिजन सहयोग गरेका छन् ।

मनोज गौचनले १०, प्रख्यात बन्जाडेले ५, संजीव जोशीले ९ र मालादेवी मिश्राले १० थान अक्सिजन सहयोग गरेका छन् । अस्पताललाई उद्योगी एवं अर्घाखाँची सिमेन्टका संचालक राजेशकुमार अग्रवालले ५ हजार एक सय पिस एन ९५ माक्स सहयोग गरेका छन् । भीमलाई ज्योति विकास बैंकले ४० हजार, रोहिणी गाउँपालिकाले ५ लाख र सम्मरीमाई गाउँपालिकाले ३ लाख सहयोग गरेका छन् ।

‘यहाँ धनीगरिब सबै किसिमका विरामी उपचारमा आउँछन्, आर्थिक अभावमा उनीहरुको उपचारमा कमी नहोस् भनेर पालिकाकोतर्फबाट सहयोग गरेका हौं’, रोहिणी अध्यक्ष सनोज कुमार यादवले भने, ‘अन्य पालिकाले पनि सहयोग गरेमा यहाँको सेवा थप प्रभावकारी हुन्छ, अभावमा कुनै संक्रमितको ज्यान जोखिममा पर्दैन ।

भीम अस्पतालमै नेकपा माओवादी केन्द्र, सिद्धार्थनगर कमिटीले निःशुल्क क्याटरिङ नै संचालन गरेको छ । बिहान ५ देखि राति ९ बजेसम्म संक्रमित र उनीहरुका कुरुवालाई तातो पानी, अण्डा, झोलिलो सुप, खाना खुवाउँदै आएको छ । माओवादी नेता तिरबहादुर रोकामगर डार्विन भन्छन्, ‘जनतालाई भोट बैंकका रुपमा मात्रै प्रयोग गर्नुहुँदैन, हरेक संकटमा राजनीतिक दलहरुको ऐक्यबद्धता रहनुपर्छ, सुखदुःखको साथी बन्नुपर्छ । यसैले हामीले खाना खुवाउन सुरु गरेका हौं, धेरैले सेवा लिइरहनुभएको छ ।’

कोभिड–१९ को महामारीबाट प्रभावित विपन्न परिवार र नागरिकलाई लक्षित गरी रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवाको प्रहरी टोलमा ‘फूड बैंक’ संचालन गरेको छ । फूड बैंकमार्फत् गरिब, दुखी, विपन्न र दैनिक ज्यालादारी गर्ने, दैनिक छाक टार्न समस्यामा परेका परिवार र नागरिकलाई कम्तिमा १० दिन पुग्ने गरी निःशुल्क खाद्यान्न वितरण गर्दै आएको क्बलका संस्थापक अध्यक्ष बिमल सेन्चुरीले बताए ।

सिद्धार्थनगर नगरपालिकाले भैरहवाको बसपार्कमा संचालन गरेको आइसोलेसन सेन्टरमा रोटरी क्लब अफ भैरहवा र रोटरी क्लब अफ लुम्बनी सिद्धार्थनगरले चार लाख ७५ हजार बराबरको अक्सिजन कन्सनटेटर र डिस इन्फेक्सन केमिकल सहयोग गरेका छन् । ‘अक्सिजन अभावले विरामीको उपचारमा समस्या भएपछि हामीले नगरपालिकासँग समन्वय गरेर सहयोग गरेका हौं, यो पर्याप्त नभए पनि धेरै संक्रमितको उपचारमा टेवा भने पुग्नेछ’, रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष राजकुमार गुप्ताले भने ।

दुई क्लबले अक्सिजन कन्सनटेटर ३ थान र ४ सय लिटर भाइरस डिस इन्फेक्सन केमिकल सहयोग गरेका हुन् । अक्सिजन कन्सनटेटरमा विद्युत् जडान गरे पछि यसले अटोमेटिक अक्सिजन उत्पादन गर्छ ।

यी त केही प्रतिनिधिमात्र सहयोगी हातहरु हुन् । संकटमा धेरैले साथ दिएका छन् । हुनेखाने भएर मात्रै हुँदैन । सेवा गर्न मन पनि फराकिलो हुनुपर्छ । यस्तै मन भएका सेवारत संघसंस्था, उद्योगी व्यवसायीको सहयोगले कैयौं संक्रमितले पुनर्जीवन पाएका छन्, कैयन्ले साँझबिहानको छाकटार्न पाएका छन् ।

बुटवलमा पनि घरघरमा हामी भन्ने संस्थाले निःशुल्क खाना, खाद्यान्न वितरण, अक्सिजन अभाव भएकाहरुलाई अक्सिजन व्यवस्थापनमा सहयोग गर्दै आएका छ । यस्तो सहयोग जिल्लाभर मात्रै होइन्, लुम्बिनी प्रदेशका हरेक जिल्लामा त्यहाँका संघसंस्था र मनकारी हातहरुले गरिरहेका छन् ।

संकट पर्दा राज्य र नागरिकसँग हातेमालो गर्ने व्यक्ति र संघसंस्था नै सच्चा समाजसेवी/सामाजिक संस्था हुन् । यस्ता सहयोगी हातहरु अझै बढ्दै जानुपर्छ । जसले गर्दा यो महामारीसँग लड्न राज्यलाई बल मिलोस्, संक्रमित र उनीहरुका आफन्तमा हौसला बढोस्, अक्सिजन र बेड अभावमा छटपटिन नपरोस् ।