April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

रूपन्देहीका स्थानीय तहले तयार पारे २४६ शय्याको आइसोलेसन

सिद्धार्थनगर नगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा उपचाररत कोरोना संक्रमित । तस्बिरः प्रकाश न्यौपाने/पब्लिक कुरा

भैरहवा, वैशाख ३१ । कोरोना संक्रमण तीव्र फैलिँदै गएपछि रुपन्देहीका अस्पतालहरु भरिभराउ भएका छन् । अस्पतालले थेग्नै नसक्ने अवस्था आएपछि स्थानीय तहहरुले अक्सिजनसहितका आइसोलेसन सेन्टर बनाएका छन् ।

Advertisement

१६ स्थानीय तह रहेको रुपन्देहीमा कोरोना भाइरस समुदायस्तरमै फैलिएको छ । खुल्ला सीमाका कारण संक्रमण थप फैलने डर छ । संक्रमण भयाबह बन्दै जाँदा अस्पतालहरुमा शय्या र अक्सिजन अभाव छ । ठाउँ अभावमा सबैजसो अस्पतालमा संक्रमितको भुइँमा राखेर उपचार भइरहेको छ ।

Advertisement

यस्तो अवस्थामा संक्रमण नियन्त्रण तथा संक्रमितको उपचार प्रभावकारी बनाउन भन्दै स्थानीय तहहरुले अक्सिजनसहितका अस्थायी आइसोलेसन सेन्टर बनाएका हुन् । आइसोलेसन सेन्टरमा अक्सिजनसहितको चिकित्सकीय सेवा दिइएको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।

‘भयावह बन्दै गएको स्थितिलाई नियन्त्र गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । हामी नागरिकको सेवा गर्नबाट भाग्न सक्दैनौ, त्यसैले हरेक समस्यासँग जुध्न तयार छौं’, उनले भने, ‘अहिलेको विषम परिस्थितिलाई पार लगाउन लागिपरेका छौं ।’

अक्सिजन चाहिने संक्रमित बढी भएकाले स्थानीय तह अक्सिजनसहितको आइसोलेसन निर्माणमा केन्द्रित छन् । स्थानीय तहहरुले रुपन्देहीमा अक्सिजनसहितका ६० बेड तयार पारेका छन् । अक्सिजन र अक्सिजनविनाका गरी २४६ बेडको आइसोलसन सेन्टर स्थानीय तहले तयार पारेर संक्रमितको उपचार सुरु गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले बताए ।

निर्माण भएका आइसोलेसनहरु संक्रमितको चापअनुसार पर्याप्त नभए पनि यसले जटिल संक्रमितको उपचारमा थोरै भए पनि सहजता भने ल्याउने स्थानीय तहको विश्वास छ । ‘अस्पतालहरुमा भुइँमै उपचार भइरहेको छ, यस्तो अवस्थामा स्थानीय सरकारले आइसोलेसन बनाएपछि धेरै मात्रामा गम्भीर संक्रमितले उपचार पाउनु भएको छ’, सिद्धार्थनगर नरगपालिका उपप्रमुख उमा काफ्लेले भनिन् ।

ढिलो भए पनि स्थानीय तहहरुले अक्सिजन र चिकित्सकसहितको आइसोलेसन सेन्टर बनाएर उपचार सेवा सुरु गरेका छन् । यसले अस्पतालहरुमा संक्रमितको चाप घट्ने अपेक्षा त गरिएको छ । तर संक्रमण अझै कति समयसम्म लम्बिनी हो भन्ने एकीन नभएकाले स्थानीय तहहरुले आइसोलेसनको क्षमता थप विस्तारमा गर्नुपर्ने हुन्छ ।

जिल्लाका केही स्थानीय तहहरुले अहिले संक्रमितलाई घरघरमै पुगेर आवश्यक औषधि वितरण, आफू चढ्ने गाडी कोभिड एम्बुलेन्स बनाएर संक्रमितलाई बोक्ने, समुदायस्तरमा परीक्षण जस्ता कामसमेत गरिरहेका छन् । यसले संक्रमितको हौसला बढीरहेको छ । ‘हामीले अण्डा, भिटामिनसहित संक्रमितको घरमा पुगेर हौसला दिने र पोसिलो खाने कुरा उपलब्ध गराउँदै आएका छौं । यसले उहाँहरुको आत्मबल बढेको छ’, ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवटले भने ।

ओमसतिया गाउँपालिकाले बनाएको अक्सिजनसहितको आइसोलेसन सेन्टर ।

बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाले कोरोना संक्रमण नियन्त्रण र उपचार प्रक्रियालाई प्रभावकारी बनाउ समुदायस्तरमा कोरोना परीक्षण गरिरहेको छ । उपमहानगरले एन्फा एकेडेमीमा आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ । वडा नं ११ र १३ को नवनिर्मित भवनमा थप आइसोलेशन सेन्टर बनाउने तयारी गरेको उपमहानगरका प्रेस सल्लाहकार अमृत गिरीले बताए ।

अक्सिजन र स्वास्थ्यकर्मीसहित चौबिसै घण्टा टोली परिचालन गरेर उपमहानगर क्षेत्रमा उपचार गर्दै आएको । यस्तै, उपमहानगरले संक्रमितको घरदैलोमै भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, जिंक, पेन्टाप्राजोल, सिटामोल, गिलोये चूर्ण, अमला चूर्णसहितका आयुर्वेद औषधि समेत वितरण गर्दै आएको छ ।

सिद्धार्थनगर, तिलोत्तमा, सियारी गाउँपालिकाले प्रमुख, उपप्रमुख चढ्ने गाडीलाई कोभिड एम्बुलेन्स बनाएर संक्रमितलाई अस्पताल, आइसोलेसन सेन्टर लैजाने र घरसम्म ल्याउने काम गर्दै आएका छन् ।

देवदह नगरपालिकाले अक्सिजनसहितको २० शय्याको आइसोलेशन सेन्टर संचालन गरेको नगरप्रमुख हिरा केसीले बताए । देवदह –७ मा रहेको मगर समाजको भवनमा सेन्टर सञ्चालन गरिएको छ । नगरले नगरवासीको निःशुल्क कोरोना परीक्षणसमेत शुरु गरेको छ । सैनामैनाले पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष अस्थायी आइसोलेशन अस्पताल निर्माण गरी संचालनमा लयाएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मा अक्सिजनसहितको २० शय्याको आइसोलेशन संचालन गरिएको छ । सिद्धार्थ नगरपालिकाले सिद्धार्थ बसपार्कमा आइसोलेशन सेन्टर बनाएको छ । १० बेड अक्सिजनसहितको र १० बेड अक्सिजनविना गरी २० शय्या छन् । यी आइसोलेसनमा स्वास्थ्यकर्मीसहित चिकित्सकीय सेवा उपलब्ध छ ।

रोेहिणी र शुद्धोधन गाउँपालिकाले पाँच/पाँच शय्याको अक्सिजनसहितको आइसोलेसन बनाएका छन् । मायादेवीले १० र ओमसतियाले ७ बेडको अक्सिजनसहितको आइसोलेसन बनाएका छन् । कोटहीमाई गाउँपालिकामा ७ शय्याको अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण गरिएको पालिका अध्यक्ष चन्द्रभुषण यादवले बताए ।

सम्मरीमाई र मर्चवारी गाउँपालिकाले ५/५ शय्या अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेका छन् । तिलोत्तमा नगरपालिकाले ४० शय्याको तयारी तरी उपचार सुरु गरेको छ भने थप ६० बेडको धमाधम निर्माण सुरु छ । सियारी, कंचन र गैडहवा गाउँपालिकाले ५/५ शय्याको आइसोलेसन बनाएका छन् । संक्रमण तीव्र बन्दै जाँदा र मृत्युदरसमेत बढीरहेकाले स्थानीय तहहरु अक्सिजनसहितका शय्या थप गर्ने तयारीसमेत गरिरहेका छन् ।