April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

संक्रमित परिवारलाई निःशुल्क हरियो तरकारी वितरण गर्दै ओमसतिया अध्यक्ष केवट

आफ्नो तरकारीबारीमा सेल्फी फोटो लिँदै ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट ।

भैरहवा, वैशाख २९ । रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवटले पालिकाभित्रका कोरोना भाइरस संक्रमित परिवारलाई निःशुल्क हरियो तरकारी वितरण सुरु गरेका छन् । उनले आफ्नो निजी तरकारी खेतीबाट संक्रमित परिवारलाई निःशुल्क तरकारी उपलब्ध गराउन थालेका हुन् ।

Advertisement

‘मैले १५ कठ्ठामा लगाएको तरकारी फल्ने बेला मानवमाथि संकट आएको छ’, उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘ओमसतिया गाउँपालिकाका कोभिड–१९ को बिरामी परिवारलाई निःशुल्क ताजा तरकारी आवश्यक परे सम्पर्क गर्नुहोला ।’

Advertisement

उनले आफू र आफ्नो परिवारको मेहनतबाट उब्जिएको तरकारी आफ्ना नागरिकलाई वितरण गर्ने र स्वस्थ राख्न मद्दत गर्नेसमेत बताएका छन् । ‘मेरो लगानीबाट मेरो जनतालाई स्वस्थ बनाउनु मेरो जिम्मेवारी’ भन्ने उद्देश्यले निःशुल्क तरकारी वितरण सुरु गरेको छु । सेवा गर्ने मौका दिनुहोला’, उनले लेखेका छन् ।

अध्यक्ष केवटले खेतमै आएर तरकारी लिनसक्ने परिवारले आएर लैजान आग्रह गरेका छन् । यदि कोही परिवार तरकारीबारीमा आउन नसक्ने भए सम्पर्क गर्न आग्रह गर्दै उनले दुईवटा मोबाइल नम्बरसमेत उपलब्ध गराएका छन् ।
पब्लिक कुरासँग कुराकानी गर्दै अध्यक्ष केवटले भने, ‘मेरो उद्देश्य संक्रमित परिवारलाई ताजा तरकारीको अभाव नहोस्, हरियो तरकारी खाना पाउन भन्ने हो ।’ उनले बारीमा तरकारी लिन आउन नसक्ने परिवारले तरकारी मगाएको खण्डमा घरमा पुर्याउने व्यवस्था आफैले मिलाउने बताए ।

केवटले १५ कठ्ठामा लौका, भिन्ड, बोडी, घिरौला, काँक्राको खेती गरेका छन् । यी तरकारी अहिले खानाका लागि उपयुक्त भएको र संक्रमित परिवारलाई आवश्यकताका आधारमा उपलब्ध गराउने उनले जनाए ।