सडकबाट उठेको ‘ड्याडिज किचन’



भैरहवा– अर्घाखाँचीको सन्धिखर्क–८, का ३३ वर्षीय कमलजंग कुंवरले माध्यामिक तहसम्मको अध्ययन गाउँमै पूरा गरे । त्यसपछि उच्चशिक्षा अध्ययनका लागि २०६४ सालमा रुपन्देहीको बुटवल झरे । पढ्न, बोल्न र अतिरिक्त क्रियाकलापमा कुंवर अब्बल थिए । जेठा दाईले देवीनगरमा फर्निचर पसल संचालन गरेकाले त्यही बसेर फर्निचर व्यवसायमा सघाउन थाले । दाजु बैदेशिक रोजगारीमा गएपछि दिदीको घरमा बसेर बिहान क्याम्पस पढ्ने र दिनभरि भिनाजुको मिल चलाउन थाले ।
मिलमा काम गर्ने शिलशिलामा कसरी ग्राहकसित डिल गर्ने, सामग्री खरिद गर्ने आदि सिक्ने मौका पनि पाए । त्यस बेलादेखि नै व्यवसायिक मानसिकता आफूमा गडेको उनले बताए । प्लस टु उत्तीर्ण भएपछि उनी बीबीए पढ्न बुटवलकै एक्सिस कलेजमा भर्ना भए । दोस्रो सेमेस्टर पढदै थिए, काठमाडौं जाने भुत सवार भयो । ‘आफ्नो कमाईले सबै गर्नुपर्छ भनेर गएँ,’ उनले भने, ‘काठमाडौंमा टुर एण्ड ट्राभल्स चलाएँ, गाईड बनेर हिंड्दा एयरलाइन्स, कुरियर जहाँकहींको नियम बुझें, स्टार होटल, लक्जरियस लाइफबारे थाहा पाएँ, नेपाल र व्यापार दुवै देखें ।’ धेरै समयसम्म त्यहाँ टिकिरहन नसकेपछि कमल पुन ः बुटवल आए । स्नातक अध्ययन पूरा गरे ।
दिदीको घरबाट नजिकै लाग्ने हाटमा ठेलामा चाउमिन, मःमः विक्री भइरहेको देखे । उक्त व्यापारलाई सटरमा राखेर विक्री गर्दा स्तरीय हुने र ग्राहकले रुचाउने कल्पना गर्न थाले । ‘त्यसपछि बजारमा चोकमा सटर पाइयो, मैले एकजना साथीलाई मःम बनाउन बोलाएँ,’ उनले भने, ‘एक सेफलाई बिहान र साँझमा सघाइदिन भनें, भिनाजुसँग केही रकम मागें, १ लाख ८० हजारमा होटल खुल्यो, नामकरणका लागि लेख्दा लेख्दै डायरीका पाना भरिए, अनि नाम ड्याडिज किचन रोजेँ ।’
उनले थालेको व्यापार ३ महिनासम्म राम्रो चल्यो । कुंवरले विस्तारै रेट बढाउँदै लगे । जसकारण व्यापार घटेर घाटैमा गयो । उनीकहाँ मानिस आउनै छाडे । व्यवसायी बन्ने भनेपछि पछि व्यवसायबाट निराश भएर हट्नु हुँदैन भन्ने लाग्यो । त्यसपछि उक्त सटर अगाडि ठेलामा कफी, लस्सी बेच्न थाले । त्यसमा पनि जम्न नसकेको उनले बताए । व्यवसाय थालेको एक वर्षपछि एकदिन बाटोमा हिंड्दै गर्दा कुंवरले एउटा चार चक्के ठेलागाडा थन्काएर राखेको देखे । त्यसमै सजावट गरेर खाजा बेच्ने निधो गरे । उक्त ठेला २५ हजारमा किनेर ठेलाभित्रै पकाउन मिल्ने बनाए ।
उनले बुटवलको राजमार्ग चौराहामा ठेला लगाउँथे । ‘चिनेका मान्छे आउँदा लाज लागेर भित्र पस्थें,’ उनले भने, ‘आफन्त, पढाएका सरहरु कहिल्यै पसलमा आउनुहुन्थेन, उल्टै जागिर खोजिदिन्छौं, ठेला छोड भन्नुहुन्थ्यो ।’ त्यसबेला मानिसले कसरी आफ्नो कामको स्तर विभाजन गरेको छ भन्ने बुझेको कुंवरले बताए ।
उनलाई मानिसको व्यवहारले आफूले गलत काम रोजेछु कि भन्ने पनि लाग्यो । अनिल केशरी शाह, विनोद चौधरीको बारेमा अध्ययन गरेका उनले आफ्नो हठ नछोड्ने निधो गरे । त्यसताका अलि फरक खालको खाजा बनाएमा मात्र मानिसको भिड बढ्ने उद्देश्यले बर्गरलाई फरक खालको स्वादमा बनाउने उपाय निकाले । ‘सेफसँग मिलेर धेरैपटक बर्गरको रिसिपी बनाउने, बिगार्ने गरियो,’ उनले भने, ‘फाइनल्ली बर्गर मिठो बन्यो, दैनिक ३ सय पिस बर्गर बिक्न थाल्यो । विस्तारै फस्टाएको व्यवसायले कुंवरलाई यसको दायरा बढाउन मन लाग्यो ।’ त्यसपछि आफैले एउटा फुडट्रक डिजाइन गरे । उक्त ट्रक बनाएर बुटवलको ट्राफिकचोकमा राखे । सडक छेउका घरबेटी, प्रहरी आदिले धेरै दुःख दिन थाले । तर, हार नमानिकन उनले प्रशासनिक अनुमति लिई व्यवसाय चलाइरहे ।
कमलको व्यवसाय ट्राफिकचोकमा समेत फस्टाउँदै गयो । त्यसपछि हौंसिएका उनले व्यवसाय बिस्तार गर्दै गए । अहिले उनको व्यवसाय रुपन्देहीमा मात्र सिमित छैन । बुटवल र पोखराका साथै काठमाडौंका केही स्थानमा ड्याडीज किचन पुगेको छ । अहिलेसम्म खाना र खाजाका १८ वटा प्रतिष्ठान सञ्चालनमा आइसकेको उनले बताए ।
काठमाडौंमा कुकर कफी चर्चित छ । बुटवलमा बर्गरसँगै अन्य फास्ट फुड र सोर्मा चल्छ भने, पोखरामा आफ्नै भवनमा ३ सय जना बस्न मिल्ने ड्याडीज किचन सञ्चालनमा छ । पोखराको प्रतिष्ठान नेपालमै फास्ट फुड सेन्टरमा धेरै जना अट्ने क्षमता भएको नमुना खाजाघर हो । ‘देशभर १ सय वटा यस्ता खाजाघर खोल्ने इच्छा छ,’ उनले भने, ‘निकट भविष्यमा विदेशमा पनि नेपाली खानाको स्वाद लिएर स्थापित हुन चाहन्छु ।’
यसबाहेक मोटर्स तथा इलेक्ट्रोनिक्स तर्फ लगानी गरेर उनले वातावरणनुकुलीत सवारी बेचिरहेका पनि छन् । बुटवल वरपरका सबै व्यवसायमा बहिनी सरिताले सघाइरहेकी छन् । काठमाडौं, पोखरामा विश्वासिला पात्रले जिम्मेवारी सम्हालिदिएकाले कमल बजारमा थप शाखा विस्तारका लागि आवश्यक नीति तर्जुमाको काम गरिरहेको बताउँछन् । विदेशी भूमिमा नेपालीले खाजा खान जाँदा ड्याडीजमा खाइयो भन्ने ब्राण्ड बनाउने सपना साकार पार्नेगरी काम गरिरहेको बताए ।
कमल यतीमा सिमित छैनन् । योगा, ध्यानका साथै अरुलाई मोटिभेट गर्ने खालका उनका कुरा सुन्नेको लर्को लाग्छ । उनीसँग १ घण्टा बसेर गफिने जो कोही कमलको ‘कायापलट ल्याउँछौं स्वदेशमै, युवा उद्यमशिलताको सम्मान गरौं’ भन्ने नारा अंगाल्न तत्पर बन्छन् । उनले यही नारा आफ्ना कर्मचारीलाई समेत सिकाएका छन् । उनीसँग हाल ६ सय ६० कर्मचारीले काम गरिरहेका छन् । कमल हरेक कर्मचारीलाई २५ हजार भन्दा माथि तलब दिने लक्ष्य राखेर अघि बढेको बताउँछन् ।
‘२०८२ भित्रसम्म म त्यो लक्ष्यमा पुग्न चाहन्छु,’ उनले भने, ‘कायापलट ल्याउन यहाँको तलब राम्रो हुनुपर्छ, जुन म दिन चाहन्छु ।’ मासिक २० लाख रुपैयाँ भाडा मात्रै बुझाउने गर्छन् । वर्षमा ३५ लाख रुपैयाँ भन्दा बढी कर्मचारीको तलबमा खर्च गर्छन् । तर जनशक्ति टिकाइरहन नसक्नु आफूजस्ता हरेक व्यवसायीको पीडा भएको उनले बताए ।
‘काम सिकेपछि विदेश नै गइरहेका छन्,’ उनले भने, ‘आकर्षक तलब दिएर यहीं टिकाउन सक्ने हो भने, युवाको सोंच र क्षमता विकास गर्न सकिन्थयो कि भन्ने लाग्छ ।’ लगानी गरेको नयाँ शाखामा ७० प्रतिशत कमाई हुन थालेपछि नयाँ शाखा विस्तार गर्नेतर्फ पाइला चालिहाल्ने गरेको बताए । ‘एउटा प्वाइन्ट राखेर काम नगरे अघि बढिन्न भन्ने सोंचले नै काम गरिरहेको हुन्छु,’ उनले भने, ‘आफू र कर्ममा विश्वास छ, सफल भइन्छ, आइडिया प्रयोग गर्ने तरिका सिक्न जरुरी छ ।’








प्रतिकृया दिनुहोस्