खल्लो बुद्ध जयन्तीः शोभायात्राको बेवास्तादेखि खाली कुर्सीसम्म, प्रधानमन्त्रीले के भने ?


भैरहवा– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लुम्बिनीमा आयोजित बुद्व जयन्ती मूल समारोहलाई सम्बोधन गरे । सम्बोधनअघि मायादेवी मन्दिरमा पूजापाठपनि गरे । मूल समारोह सम्बोधनका लागि प्रधानमन्त्री आउने भएपछि त्यहीअनुसार स्वागत र सुरक्षा प्रवन्ध मिलाइएको थियो ।
मूल समारोह आयोजनास्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सजाएर चिटिक्क तुल्याइएको थियो । आयोजकले लुम्बिनी क्षेत्रका विद्यालयबाट छात्रछात्रा र गुम्बाबाट श्रद्धालु आमन्त्रित गरेर हलका कुर्सी भर्ने प्रयास गरेका थिए । विभिन्न संघसंस्थाका प्रतिनिधि आएका थिए । तर, आयोजकले प्रधानमन्त्रीले एकमहिना आगाडि दिएको निर्देशन पूरा गरेनन् । हलको मंचमा वक्ताले बोलेको कुरा सहभागीले स्पष्ट सुन्थेनन् । बरु, आवाजको प्रतिध्वनिमात्रै कानमा पुग्थ्यो ।
कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले मंचबाट पाहुनालाई आसन ग्रहण गराइरहेका बेला प्रधानमन्त्री ओली हलको मुख्य द्वारबाट प्रवेश गरेका थिए । मञ्चमा व्यक्तिले माइकबाट बोलेका कुरा प्रधानमन्त्रीले स्पष्ट सुन्न नसकेको शारीरिक हाउभाउबाट बुझिन्थ्यो । हुन पनि मञ्चको सामुन्ने बस्नेले बाहेक सहभागीले भाषण स्पष्ट सुनेनन् ।
कार्यक्रममा सहभागी देशी–बिदेशीले शुभकामना दिएपछि प्रधानमन्त्री ओलीले सभालाई सम्बोधन गर्ने समय आयो । धेरै सहभागीले प्रधानमन्त्रीबाट नयाँ जानकारी र लुम्बिनीका लागि नयाँ घोषणा सुन्ने अपेक्षा गरेका थिए । तर, प्रधानमन्त्रीले लुम्बिनी गुरुयोजना विपरीत सभा हल निर्माण गर्नुको औचित्य पुष्टयाइँबाट बोल्न सुरु गरे । अनि हलमा अगाडि बोलेको पछाडीकाले सुन्ने अवस्था नरहेको भन्दैं आलोचना गरे । अनि आफ्नो निर्देशन पालना नभएकोमा रोष प्रकट गरे ।
लुम्बिनीमा हरेक बैशाख शुक्ल पूर्णिमामा बुद्ध जयन्ती मनाइने गरे पनि सभाहलको अभाव खड्किने गरेको देखेपछि आफूले नै पहल गरेर ५ हजार जना अट्ने अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण गरेको गर्वसाथ सुनाए । तर त्यहीँ हलमा बोलेको कसैले नसुन्ने बनेकोमा आलोचना गरे । मञ्चमा वक्तालाई ठिकै बोले हुँला जस्तो लागे पनि अगाडि दर्शकले केही नसुन्ने हल बनाउन नचाहेको उनले बताए ।

२०७३ सालदेखि स्थायी प्रकृतिको हल निर्माण गर्ने आफ्नो प्रयासले मूर्तरुप पाए पनि वक्ताले बोलेको अड्कल गर्नुपर्ने अवस्था अन्त गर्न जोड दिए । एक वर्ष हलमा अतिरिक्त निर्माण गरेर भए पनि बोलेको सुनिने बनाउन लुम्बिनी बिकास कोषलाई निर्देशन दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले एक महिनाअघि लुम्बिनीमा आयोजना भएको कार्यक्रममा सहभागी भएकै बेला प्रधानमन्त्रीले हलको ‘साउण्ड सिष्टम’को समस्या सामाधन गर्न निर्देशन गरेको स्मरण गरे । ‘प्रधानमन्त्री ज्यूको निर्देशन पालना गर्न नसकिएकोमा दुःख लागेको छ,’ उनले भने, ‘अबको केही समयमै मन्त्रालयले अतिरिक्त बजेट व्यवस्थापन गरेर भए पनि हललाई बोलेको सुनिने अवस्थामा पुर्याइने छ ।’ प्रधानमन्त्रीले पर्यटन मन्त्रालयलाई थप बजेट व्यवस्था गरेर भए पनि हलको अवस्था सुधार्न निर्देशन दिएका थिए ।
हलमा ४० प्रतिशत विद्यार्थी मात्रै
विगतमा बुद्ध जयन्तीमा हलभरी मानिसको उपस्थिति हुन्थ्यो । तर, यसपटक लुम्बिनी विकास कोषले केही फितलो कार्यक्रम गर्यो । प्रधानमन्त्रीले कार्यक्रममा मानिसको उपस्थितिबारे नबोले पनि उनी बोल्नेबेला आधा सहभागी हलबाट बाहिरिसकेका थिए । हलमा लुम्बिनी क्षेत्रका दर्जनौं विद्यालयका विद्यार्थीहरुलाई ल्याएर भर्न खोजिएको थियो । विकास कोषका एक अधिकृतका अनुसार हलमा ४० प्रतिशत त विद्यार्थी मात्रै सहभागी थिए ।
तर, प्रधानमन्त्री आउँदा र बोल्ने क्रममा ती विद्यार्थीहरु हलबाट निस्किएपछि आधा कुर्सी खाली भए । सुरुमै सबै कुर्सी भर्नै कोषलाई सकस परेको थियो । तर, विद्यार्थी धमाधम हलबाट निस्किएपछि पछाडिपट्टीका धेरै कुर्सी खाली भए । विकास कोषले लाखौं रुपैयाँ खर्च गरेर प्रचारप्रसार गरे पनि आममानिसको उपस्थिति गराउन नसकेर बुद्ध जयन्ती र प्रधानमन्त्री सहभागी कार्यक्रम नै खल्लो गराएको कार्यक्रममा सहभागीहरुले कानेखुशी गर्दै कुराकानी गरेको सुनिन्थ्यो ।

उद्योगी व्यवसायी र सांसदहरु नै आएनन्
विकास कोषको कमजोरी भनौं वा कार्यव्यवस्तता । यसपटक बुद्ध जयन्तीमा रुपन्देहीकै अधिकांश सांसदहरु उपस्थित भएनन् । ५ निर्वाचन क्षेत्र र १० प्रदेशसभा रहेको रुपन्देहीबाट धेरै समानुपातिक सांसदले समेत प्रतिनिधित्व गर्छन् । तर, आधा सांसदहरु पनि बुद्ध जयन्तीको मूल समारोहमा सहभागी भएनन् । कपिलवस्तु र पश्चिम नवलपरासीका सांसदहरु त उपस्थित नै भएनन् भन्दा हुन्छ । यस्तै, भैरहवा, बुटवल, कपिलवस्तु र पश्चिम नवलपरासीका धेरै उद्योगी व्यवसायी र पर्यटन व्यवसायी सहभागी भएनन् । बन्द कोठामा जम्मा हुने तर निजी क्षेत्रको मर्कालाई बेवास्ता गर्ने गरिएकाले कार्यक्रममा सहभागी हुनै जाँगर नलागेको भैरहवाका एक पर्यटन व्यवसायीले बताए ।
शोभायात्रामा पदाधिकारी र कर्मचारी नै अनुपस्थित
बिहान साढे सात बजे मायादेवी मन्दिर परिसरबाट शोभायात्रा सुरु भयो । उक्त शोभायात्रा केन्द्रीय नहर परिसरको छेउ हुँदै मूल समारोहस्थल अन्तर्राष्ट्रिय सभाहलसम्म आयो । तर, शोभायात्रामा कोषका पदाधिकारी र कर्मचारी नै अनुपस्थित भए । सदस्य सचिव सानुराजा शाक्यले नेतृत्व गरेको शोभायात्रामा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी थिए । स्थानीय र अन्य विभिन्न झाँकीको राम्रो सहभागिता थियो । तर, अन्य पदाधिकारी र कर्मचारी भने शोभायात्रामा ‘हिंड्न’ परेपछि ‘साइड’ लागे ।

शोभायात्रा सुरु हुनेबेला अलिअलि अनुहार देखाएकाहरु पनि दुईचारवटा फोटा खिचेर सेल्फी हानेर सुटुक्क गायब भए । करिब तीन किमी शोभायात्रामा सदस्य सचिव बाहेक अन्य पदाधिकारी देखिएनन् । कर्मचारी पनि तल्लो तहका मात्रै थिए । बरिष्ठ कर्मचारीहरु हलतिर र पर्यटनमन्त्री बद्री पाण्डेको अघिपछि देखिए । पदाधिकारी र कर्मचारीले नै शोभायात्राई बेवास्ता गरेको भन्दै सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए । शोभायात्रा र सभाहलमा सहभागीहरुले कर्मचारीको चाप्लुसी देखेर दिक्क देखिन्थे । केही पदाधिकारी र कर्मचारी प्रधानमन्त्री बोल्ने बेला निद्रामा झुलेको देखिन्थे ।








प्रतिकृया दिनुहोस्