लुम्बिनीका १२ जिल्लाका १२ पहिचान



भैरहवा– प्रदेशका सबै जिल्लाका नागरिकले आफ्नो जिल्लालाई कुनै न कुनै रुपमा पहिचान बनाउने गरी काम गरेको पाइन्छ । लुम्बिनी प्रदेशका १२ जिल्लाका आफ्नै पहिचान छन् । त्यस्ता पहिचानले गर्दा जिल्लाकै परिचयमा मद्दत पुगेको छ । यस्ता उत्पादनलाई आगन्तुकले कोशेलीका रुपमा घर लैजाने गरेका छन् । यस्तै मध्येमा रहेको छ भैरहवास्थित पवनको पेडा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा उत्रिएका धेरैको सोंच हुन्छ, पवनको पेंडा लिएर फर्किने । बुटवल पुग्ने अधिकांले सम्झने गर्छन भैरहवाको पवनको पेडा ।
चाडपर्वमा तराईका मात्र होइन, पहाडका अधिकांश जिल्लामा पवनको पेडा पुग्छ । रुपन्देहीको बुटवल, भैरहवा पुग्ने जो सुकैले कोशेली पवनको पेडा लैजाने गर्छन् । स्वदेशमा मात्र होइन, विदेशमा समेत पवनको पेडा पुग्छ । विदेश जाने यस भेगका अधिकांशले कोशेलीका रुपमा पवनको पेडा लैजान्छन् । तेस्रो मुलुक पुग्ने यस क्षेत्रका नेपालीले पवनको पेडा कोशेली लगेको भेटिन्छ । पवन मिष्ठान भण्डारका सञ्चालक पवन कुमार हलुवाईका अनुसार बुटवल भैरहवा मात्र होइन पहाडका जिल्ला हुँदै पोखरा, मुस्ताङ लैजानेहरु पनि छन् ।
यो पसल २०२५ सालदेखि खुलेको हो । भैरहवाको मिलन चोकमा झुप्रोबाट मिठाई पसल सुरु गरेर अहिले भव्य भवनसम्म पुगेको छ । अहिले २४ कोठासहितको होटल पवन इन्टरनेशनल बनेको छ । मिठाई व्यवसाय र होटल चलेको छ । यहाँ पेडासहित कम्तीमा २५ प्रकारका मिठाइ पाइने भएकाले पेडासँगै मिठाई खरिद गरेको सोनौलीबाट पेडा किन्न आएका अनुप भट्टराईले बताए । बजारमा पेडाको प्रतिस्पर्धा रहे पनि पवनको पेडाको आकर्षण घटेको छैन । क्वालिटीमा सम्झौता नगरेर पनि पवनको पेडाप्रति उपभोक्ताको विश्वास घटेको छैन ।
काला नमक धान
कपिलवस्तु धान उत्पादन अत्यधिक हुने जिल्ला हो । यहाँ रैथाने धान लगाउने प्रचलन अझै छ । रैथानेमध्यको एक हो, कालानमक । अधिकांश किसान अझै पनि थोरै भए पनि कालानमक धान लगाउन छाडेका छैनन् । व्यवसायिक लगाउने पनि छन् । भान्सामा मात्र होइन, छिमेकी जिल्ला र राजधानी काठमाडौंका आफन्तको भान्सामा पनि कालानमक धानको चामल पुग्छ । यो धानको चामल पकाएपछि खादा निकै मुलायम हुन्छ । स्वादिष्ट हुने भएकाले यसको बखान गर्ने धेरै हुन्छन् । कपिलवस्तुका जुनसुकै गाउँमा नयाँ आगन्तुकलाई सत्कार कालानमकबाट हुन्छ ।
बास्नादार धानको प्रजाति भएकाले यसको पहिचान र कृषकको शान हो । पछिल्लो समय हाइब्रिड र धेरै फल्ने धानका कारण भने धेरैले परिवारलाई चाडपर्वमा खानका लागि मात्र लगाउन थालेका छन् । लगानी अनुसार प्रतिफल नभएर पनि किसानले लगाउन छाड्दै गएका हुन् । कालानमक कपिलवस्तुको ब्राण्ड थियो । स्थानीय तह, प्रदेश र संघको बाली विकास र संरक्षणका प्रशस्त कार्यक्रम भए पनि यसलाई जोगाउन सकेका छैनन् । कालोहुने हुँदा यसलाई कालानमक भन्ने गरिएको हो । कृषि ज्ञान केन्द्रका अनुसार १५ वर्षअघिसम्म १० हजार बढी हेक्टरमा कालानमक खेती हुन्थ्यो । पछिल्ला वर्षमा बढीमा ६ सय हेक्टर क्षेत्रफलमा खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
मुखै रसाउने रावडी
बाँकेको नेपालगञ्ज पुग्ने जो कोहीले सोध्ने प्रचलन छ, कता पाइन्छ रावडी ? जनजनको मुखमा झुण्डिएको रावडी बाँकेको नेपालगंजमा पाउने खानाका परिकारमध्ये लोकप्रिय परिकार हो । पहिलो पटक पुग्ने होइन, पटकपटक पुग्ने हरेकको मुखमा नेपालगंजको रावडीले ध्यान खिच्छ । गजब त के छ भने नेपालगञ्जको सडकमै उभिएर रावडीको स्वाद लिएको देखिन्छ । भीडभाड होस् वा फुर्सद एक पटक रावडीको स्वाद लिन भुल्दैनन् । पटक पटक नेपालगञ्ज पुग्ने पाल्पाका कमल भण्डारी खाने मात्र होइन खरिद गरेर पाहुर ल्याउने गरेको बताउँछन् ।
चौलिकाचोक, विपी चोक, धम्बोजी चोक लगायतमा रावडी सहजै पाइने भएकाले जो सुकैले खरिद गर्ने र खाने गर्छन् । दिउँसोमा भन्दा पनि नेपालगञ्जका रावडी पसल बेलुकी भीड हुन्छ । रावडीको व्यापार बेलुकी पख नै हुने व्यवसायी बताउँछन् । बसेर खाने मात्र होइन खरिद गरेर परिवार र आफन्तका लागि कोसेलीका रूपमा लैजाने प्रचलन छ । नेपालगन्ज पुग्ने जो सुकैले त्रिभुवन चोक कहाँनेर पर्छ भन्ने गर्छन् । यो चोकमा दर्जन जति रावडीका पसल छन् । पछिल्लो समयमा होटलमै रावडी किन्न पाइनेगर्छ । रावडीको मूल्य किलोको सात सय बढी नै पर्छ । यहाँका मिष्ठान्न पसल र होटलमा दैनिक ५ देखि १० किलो कम्तीमा बिक्री गर्छन् ।
पल्पाली ढाका
पाल्पा आउने जो कोही पहिलो कोशली ढाका र यसबाट निर्मित सामाग्री खरिद गर्छन् । २०१५ सालमा सुरु भएको ढाका कपडा र यसका विविधिकरणले देश र विदेशमा ख्याती कमाएको छ । भ्रमणमा आउने हुन् वा व्यक्तिगत भेटघाटमा आउनेले फर्किदा उपहारका रुपमा ढाका र यसका विविध सामग्री खरिद गरेर लग्ने प्रचलन बढेको ढाका उद्यमी मनोजराज शर्मा पौड्यालले बताए । पहिले ढाकाको व्यापार गर्न दशैं तिहार पर्खिनु पर्दथ्यो । तर पछिल्लो समय ढाकाको व्यापार जुनसुकै सिजनमा पनि हुन्छ ।
नेपालीको शीरको सानको रुपमा ढाका टोपी लिइन्छ । ढाका कपडा उद्योगकी संस्थापक ८७ वर्षीय पूर्णमाया महर्जनका अनुसार ढाका टोपी लगाउने प्रचलन पञ्चायतकालमा अझ बढी थियो । पाल्पाली ढाका उत्पादनमा नयाँ पुस्ताको चासो बढेको छ । बजारमा पाल्पाली भनेर अन्यत्रका ढाका बिक्री हुँदा भने यहाँ उत्पादन हुने ढाकालाई असर गरेको छ । ढाकाबाट उत्पादित टोपी, पछ्यौरा, रुमाल, पर्स, स्टकोट, झोला, टाईलगायत विविधिकरण गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार अहिले १ हजार जतिले मात्र रोजगारी पाएका छन् । पाल्पामा १५ बढी ढाका उद्योग छन् । घरघरमै ढाका बुनेर २ सय बढी महिलाले राम्रो आम्दानी गर्छन् । पाल्पाली ढाकाको वार्षिक कम्तीमा १० करोडको व्यापार हुने पाल्पाली ढाका संघले जनाएको छ ।
तिल्की धान
पछिल्ला वर्ष स्थानीय र प्रदेश सरकारले रैथाने प्रजातिका अन्न बाली संरक्षणको नीति लिएका छन् । लुम्बिनी प्रदेश सरकारले पनि गत आर्थिक वर्षको नीत तथा कार्यक्रम र बजेटमै रैथाने प्रजातिका अन्नबाली संरक्षण कार्यक्रम समावेश गरेको छ । प्रदेशको नीति तथा कार्यक्रम र बजेटमै दाङ जिल्लामा तिल्की रैथाने प्रजातिका धानको संरक्षण संवद्र्धनको व्यवस्था गरेको देखिएको छ ।
स्थानीय तहहरूले पनि रैथाने जातका बाली संरक्षण गर्न नीति तथा कार्यक्रममा समावेश गरेका छन् । दाङ्को तुलसीपुर उपमहानगरपालिकाले रैथाने जातका बाली संरक्षणका लागि गत आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ । रैथाने जातको धान उत्पादन कम भएपनि किसानले मूल्य भने मनग्य नै पाउने गरेका छन् । उत्पादन कम भए पनि तिल्की धान लगाउन भने छाडेका छैनन् । बिस्तारै हाइब्रिड जातका धानमा आकर्षण बढेको छ । रैथाने जातको धान बाली उत्पादनमा मल र जलको कम आवश्यक पर्छ । रैथाने प्रजातिको धान तिल्की रासायनिक मलसमेत आवश्यक पर्दैन । कतिपय व्यक्तिगत र कृषि सहकारीले पनि व्यवसायिक रूपमै उत्पादन सुरु गरेका छन् । तिल्की धानको चामल पर्व विशेष, अतिथि सत्कारका लागि उपयोग हुन्छ ।
उपहारमा अल्लोका कपडा
रोल्पा सदरमुकाम लिवाङ् पुग्ने जो कोहीले सोध्ने गर्छन्, ‘अल्लोको कपडा कहाँ पाइन्छ ?’ पाल्पाको तानसेनबाट भ्रमणमा पुगेका शिक्षक कमल केसीले अल्लोको विषयमा व्यापारीसंग बुझेपछि मात्र हाते सामग्री भएकाले खरिद गरेको उनले सुनाए । स्थानीय व्यापारीहरुका अनुसार अल्लो वा चाल्ने सिस्नो रोल्पाका जंगल, खुल्ला स्थान, खोला तथा बाटोको छेउछाउका ओसिलो स्थानमा पाइन्छ । यसको रेसा धागो उत्पादनमा प्रयोग गरिन्छ । अल्लो धागोबाट जुत्तादेखि टोपीसम्मका विभिन्न कपडा, झोला आदि बनाइन्छ ।
रोल्पा जिल्लाका स्थानीयले सञ्चालन गरिराखेको अल्लोका घरेलु उद्योगमा विविध सामग्री पाइन्छ । कच्चा पदार्थ उत्पादन र प्रशोधनको समस्या छ । अल्लोका सामग्रीले उचित बजार पाउन प्रदेश र स्थानीय तहले सहयोग गर्नुपर्छ । जिल्लाभित्रका विभिन्न व्यक्तिले अल्लो प्रशोधन र त्यसबाट बनाइने सामग्रीबारे सीप, ज्ञान प्राप्त गरेका छन् । अल्लोबाट बनेका सामग्रीले भनेजस्तो बजार र परिश्रम अनुसार मूल्य पाउन नसकेको उद्यमीको गुनासो छ । अल्लोको रेसा निकालेर सुकाउने, पकाउने कुट्नेजस्ता प्रक्रियाबाट सामग्री बनाउनुपर्ने हुन्छ । गाउँमा बेच्दा बजार र श्रम अनुसारको आम्दानी हुँदैन ।
नमुना राडीपाखी र काम्लो
रुकुमपूर्व तकसेराकी लालकुमारी बुढा पाल्पा, गुल्मी र स्याङ्जाको संगम रिडीमा भेटिइन् । रुकुम–पूर्वका बुढा मात्र होइन धेरैले पुस्तौदेखि भेडा तथा बाख्रापालन गर्छन् । मगर समुदायका नागरिकले भेडाको ऊनबाट विभिन्न सामग्री निर्माण गर्दै आएका छन् । यसबाट राम्रो आम्दानी पनि हुन्छ । पछिल्लो समय बढ्दो आधुनिकतासँगै ऊनबाट बनेका सामग्रीले उचित बजार पाउन सकेको छैन । आफुले थाहा पाउने उमेरदेखि नै भेडाको ऊनबाट बन्ने सामाग्री बनाउँदै आएकोे लालकुमारीले बताइन् । घरमा भेडा बाख्रापालन हुने भएकाले सानैबाट धागो कात्ने, राडीपाखी, पटुका, टोपी, पञ्जा, मोजा, गलैंचा, स्वीटर, घुम लगायतका सामाग्री बनाउने गरेको उनले बताइन् ।
पहिला यी सामाग्रीले सहजै बजार पाउने उनले बताइन् । अहिले उत्पादन भएपनि बिक्री नहुँदा धेरैको पेशा सङकटमा परेको छ । पुथा उत्तारगंगा र भूमेका धेरै स्थानमा भेडाबाख्रा पालन हुन्छ । भेडाका ऊनबाट बनेका सामग्री बनाउने र बिक्री गर्ने गरेका स्थानीयवासीको रोजगारी त्यसैबाट भएको छ । पछिल्लो समय आधुनिक प्रविधि र आयातित कपडाका कारण परम्परागत रूपमा बुनेका राडी, पाखी र काम्लो बख्खु विस्तारै बजारमा लोप हुन लागेको छ । यो काममा महिला बढी सक्रिय छन् । भेडाको रौं बाट ऊन तयार पारेर राडी, पाखी र बख्खु बुन्ने कार्य हुन्छ ।
बाघमुखे चुलेसी
प्युठान पुग्ने जो कोहीले खोज्ने मायाको चिनो हो, बाघमुखे चुलेसी । तर यसको उत्पादनमा उचित सहयोग नपाउँदा भने उद्योगी निरास बन्दै गएका छन् । यो चुलेसी प्यूठानको पहिचान बोकेको छ । आन्तरिक तथा बाह्य पर्यटकले प्यूठानबाट मायाको चिनो होस् वा स्वागत तथा बिदाइमा यही चुलेसी दिने प्रचलन छ । सामान्य बाघमुखे चुलेसी बनाउन झण्डै ६ सय लाग्छ । त्यसरी बनाएको चुलेसी एक हजार देखि एक हजार ५ सयसम्ममा विक्री गर्न सकिन्छ ।
पित्तल पगाल्न चाहिने काठका ठुटा सामुदायिक वनमा पाउने व्यवस्था मिलाउनुपर्ने उद्योगीको माग छ । यसमा बलको काम बढी हुने गर्छ । परम्परागत काम गर्ने जाँगर युवामा नभएकाले पनि समस्या छ । प्रदेश र स्थानीय सरकारले सहयोग गर्ने हो भने बनाउन सकिन्छ । बाघमुखे चुलेसी बनाउने प्रमुख व्यक्तिहरुसमेत उद्योगका लागि सहयोगको अपेक्षा राखेका छन् । यो चुलेसी बनाउने सीप युवा पुस्तामा हस्तान्तरण पनि हुन नसक्दा समस्या छ । चुलेसीले जिल्लाको ऐतिहासिकताका साथै पर्यटकीय महत्व बढाएको छ । परम्परागत पेशालाई आधुनिकीकरण गर्न सकियो भने परम्परागत महत्व बोकेका सामग्री लोप हुने थिएन ।
कोशेली मह
मौरीपालन व्यवसाय सजिलो छ । त्यसैले यसमा किसानको आकर्षण बढेको छ । मौरीपालन मात्र होइन, चाका, गोला, घार उत्पादन हुन्छ । यो बिक्रीबाट मनग्य आम्दानी हुने भएकाले पनि किसानको आकर्षण बढेको हो । कोशेली घर वा केही पसलमा अर्घाखाँचीको मह पनि पाइन्छ । तर यसलाई व्यवस्थित गर्न भने सकेका छैनन् । अर्घाखाँचीका प्रायः सबै स्थानमा मौरीपालन गर्छन् । मह उत्पादन हुन्छ । यसको बजार र व्यवस्थित मौरीपालन भने अझै हुन नसकेको किसानको गुनासो छ ।
हुन त अर्घाखाँचीमा मह उद्योग पनि छ । तर यसलाई व्यवस्थित रुपमा संचालन गर्न सकेका छैनन् । अर्घाखाँचीमा ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रमका लागि कृषि मन्त्रालय, उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रमार्फत मह उद्योग स्थापना भएको थियो । त्यसबेलाको लागत १ करोड ५ लाख थियो । व्यवसायिक मह उत्पादनमा जोड दिन नसक्दा उद्योगले कच्चा पदार्थ पाउन सकेको छैन । उद्योगका लागि घर, पहुँच सडक, मेसिन छ । कच्चा पदार्थ अभाव छ । यसका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने आवाज उठेको छ ।
उखु र गुँड
पाल्पादेखि तम्घास जाने सडकका छेउछाउका पसलमा होस् वा अन्यत्र गुल्मीको खुदो र गुँड देख्न पाइन्छ । बजार, मेला, महोत्सवमा पनि खुदो र गुँडको स्टल नै हुन्छ । गुल्मी पुग्नेहरु पछिल्लो समय खुदो र उखु खरिद गर्ने बानी परेको छ । रूरूक्षेत्र गाउँपालिकाका विभिन्न स्थानमा उखु खेती हुन्छ । थोर्गा, रातमाटा, बलेटक्सार, थानपति, हर्दिनेटा, दिगाम र हुँगाका गाउँमा उखु खेती हुन्छ । त्यहाँका किसानको मुख्य आम्दानी उखु बनेको छ । यहाँ उखु पेलेर खुदो र गुड बनाउने गरिन्छ । थोर्गाको गुड र खुदो कोशेलीको रूपमा जिल्लामात्र होइन जिल्ला बाहिर र बिदेशसम्म पुग्ने गरेको छ । देशका विभिन्न स्थानमा आयोजना हुने ब्यापारिक मेला, महोत्सव र औद्योगिक प्रदर्शनीमा थोर्गाको गुड देखिन्छ ।
किसानले बारीमा लगाएको उखु काटेर सफा गरेपछि त्यसलाई गोरु वा मेशिनको प्रयोग गरेर काठ तथा फलामबाट बनेको मेसिनको माध्यमबाट रस निकालिन्छ । फिल्टर गरेर आगो (रसेटो) मा पकाएपछि खुदो तयार गरिन्छ । खुदो तयार गरेपछि त्यसलाई फेरि साना–साना भाँडामा पकाएर बाक्लो बनाई मसला र विभिन्न स्वादजन्य सामग्री राखेर तयार हुन्छ । गुल्मीमा सादा, मसलेदार, फसफसे, चकलेटी र हाडे गुड पाइन्छ । सादा गुड २ सय र मसलेदार गुड २ सय ५० रूपैंयाँ किलोमा बिक्री हुन्छ । खुदो प्रति लिटर १ सय ७० रूपैंयाँमा बिक्री हुने गरेको छ ।
बर्दियामा बेतबाँसका सामग्री
बर्दियाको गुलरिया होस् वा राजापुर, ठाकुरद्वारा पुग्नेले वेत बाँसका उपहारका सामग्री पाउँछन् । यो सामग्री भने राजापुर नगरपालिका क्षेत्रमा उद्योगका रुपमा फस्टाउँदै गएको छ । यसबाट उपहारका सामग्रीदेखि घरमा प्रयोग गर्ने विविध सामग्री निर्माण हुन्छ । उद्योगीले बेतबाट कुर्सी, टेवुल, ह्यांगर लगायतका सामग्री बनाउछन् । यहाँको बेत केही वर्ष अघिसम्म त्यसै फालिन्थ्यो । अहिले भने बेतबाट फर्निचर तथा उपहारका सामग्री बन्छ ।
लुम्बिनी प्रदेश सरकारले पनि यसलाई सहयोग गर्ने नीति तथा कार्यक्रममा राखेको थियो । पछिल्ला वर्षमा किसानले वेतबाट बनेका सामान बिक्रबिाट राम्रो आम्दानी लिन थालेका छन् । व्यवसायी यसको बजार विस्तार गर्न लागि परेको पाइएको छ । बर्दियाको राजापुरस्थित कर्णाली नदी तटीय क्षेत्रमा वेत पाइन्छ । बजारमा बेतबाट बनेका फर्निचरको माग बढ्न थालेको छ । त्यसैले व्यवसायिक उत्पादन पनि बढेको छ । राजापुर–४ का मोहनबहादुर केसी बेतबाट बनेका फर्निचरको बिक्रीबाट राम्रो आम्दानी गर्न थालेका छन् । थोरै लगानीमा राम्रो आम्दानी हुन्छ । जंगलमा त्यसै खेर जाने बेतका सामग्री अहिले हरेकको घर–घरमा पुगेको छ । बाहिर जिल्लाबाट पुग्नेले पनि यसलाई उपहारका रुपमा लग्ने गर्छन् । बेतका फर्निचर तथा उपहारका सामग्री कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको दाङ, बुटवल, नेपालगन्ज र राजधानी काठमाडौंसम्म पुग्छन् ।
जतासुकै उखु र खुदो
नवलपरासी जिल्लाको पहिचान भनेको उखु खेती हो । लुम्बिनी चिनी कारखाना पूर्ण रुपमा संचालन भएका बेला यहाँका किसानले उखु खेती सुरु गरेका हुन् । नवलपरासी (पश्चिम) जिल्लामा रहेको लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग र इन्दिरा चिनी उद्योगले गर्दा पनि उखु खेती गर्ने किसान बढेका हुन् । हुन त यहाँको मोहिनी चिनी उद्योग पनि छ । यी सबै ठूला चिनी उद्योग हुन् । नवलपरासीको उखु बाहिर जिल्लामासमेत निकासी हुन्छ । तर पछिल्ला वर्षमा उखु उत्पादनमा कमी आएको छ । यहाँ वार्षिक १५ देखि २५ लाख क्विन्टल उखु उत्पादन हुन्छ । किसानलाई भुक्तानी समस्या नहुने हो भने उखु उत्पादन अझ धेरै बढ्छ ।
चिनी मिलका सञ्चालकहरुले समयमा उखुको रकम नदिने समस्या अझै छ । त्यसैले कतिपय किसानले उखुखेती गर्न छाडेका छन् । उखु कम उत्पादन भएपछि यहाँका चिनी उद्योगले बेला बेलामा क्रसिङ बन्द गर्छन् । अघिल्ला वर्षकै किसानको उखुको भुक्तानी बाँकी राख्दा पनि किसान मारमा पर्छन् । नवलपरासीमा ५० भन्दा बढी भेलीका साना क्रसर उद्योग पनि छन् । कृषि ज्ञान केन्द्रको तथ्यांकमा नवलपरासीमा साढे सात हजार हेक्टर क्षेत्रफलमा उखुखेती हुन्छ । झण्डै १४ हजार घरपरिवार उखु खेतीमा छन् ।








प्रतिकृया दिनुहोस्