गोेलिगढ आमा समूहको यो सामाजिक कार्य र आपसी एकता



भैरहवा– बैशाख १७ गते अक्षय तृतियाका दिन सिद्धार्थनगर नगरपालिका–९, गोलिगढस्थित चोकमा स्थानीय महिलाहरुको समूह एकै खालको पोशाकमा बिहानै जुटिसकेका थिए । चोकमा जम्मा भएपछि कोही बाल्टीमा पानी घोल्दै सर्वत बनाउन थाले । कोही जौँको सातु राखेर कागजमा स–साना प्याकेट बनाउन थाले ।
सर्वत र सातु तयार भयो । चोकमा आउजाउ गर्ने हरेक व्यक्तिलाई उनीहरुले रोकेर हातमा सातुको प्याकेट र अर्को हातमा सर्वतको गिलास थमाइदिन थाले । कतिपय यात्रु अलमल्लमा पर्थे । ‘आज अक्षय तृतियाको दिन हो, सर्वत र सातु खानु पर्छ’, अलमलमा परेका याुत्रलाई उनीहरुले भन्थे, ‘यसको कुनै पैसा लाग्दैन । निःशुल्क हो खानुस् ।’
अनि, बैशाखको घाम र गर्मीले आकुलव्याुकल बनेका यात्रु सर्वत र सातु खाएर गर्मीबाट राहत लिन्थे । पैदल, अटोरिक्सा, साइकल, कार लगायत निजी गाडीमा सवार यात्रु, अटोमा रहेका यात्रु, स्कुल बसका चालक र स्टाफ, विद्यार्थी, कर्मचारी, गश्तीमा रहेका प्रहरी लगायत हरेक व्यक्तिलाई सर्वत र सातु खुवाउनमा महिलाको समूह सडक भरि छरिएका थिए ।
‘परम्परादेखि चल्दै आएको रितिथिति र संस्कारलाई निरन्तरता दिनका लागि टोलका हामी सबै दिदीबहिनी यसरी नै जुट्ने गर्छौं’, स्थानीय महिला साधना पंगेनी पहारीले भनिन्, ‘टोलका दिदीबहिनीमा एकरुपता र यस्ता समाजिक परम्परा तथा संस्कारलाई जीवन्त राख्नका लागि हामीले गोलिगढ आमा समूहको स्थापना भएर सबै एकीकृत भएका छौं ।’
हरेक वर्ष अक्षय तृतियाको दिनमात्र होइन, गोलिगढ आमा समूहमा आवद्ध महिलाहरु अन्य पर्वका दिन पनि यसरी नै खटिएर आपसी एकता र सद्भावका साथ सामाजिक कार्यमा खट्ने गर्छन् । पछिल्ला वर्षमा तीज पर्व निकै तामझाम र भड्किलो बन्दै जान थालेको छ । सिमित महिलाको समूह होटल, रिसोर्ट, बैंक्वेट, पार्टी प्यालेसमा दर खादै तिज मनाउने प्रबृत्ति मौलाउँदो छ । यस्तो प्रबृत्तिबाट गरिव तथा बिपन्न आम महिला तिजको रमाइलोबाट बञ्चित नै हुनुपर्छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै गोलिगढ आमा समूहले गोलिगढ चोकमा साँझ साँझमा दिनहुँ मौलिक परम्परा अनुरुप तिजको रमाइलो गर्ने गर्छन् ।
जसबाट कुनै पनि बिपन्न महिला तिजको रमाइलो मनाउनबाट बञ्चित हुनु पर्दैन । जोसुकै पनि सहभागी हुन पाउँछन् । समूहमा आवद्ध महिलाहरु आफै मादल बजाउँछन्, गित गाउँछन् र छमछमी नाच्छन् । पुरै मौलिक परम्परामा । तिजको नाममा छाडा संस्कृतिका बिरुद्ध उनीहरु उभिने गर्छन् ।

‘हामीहरुको मुख्य उद्देश्य नै मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्नु हो’, गोलिगढ आमा समूहकी कोषध्यक्ष कमला मरासिनीले भनिन्, ‘यस खालको हाम्रो क्रियाकलापले टोलका दिदीबहिनी बिच आपसी एकतालाई अझ बलियो र कसिलो बनाउनमा बल पुगेको छ ।’
टोलमा कसैको घर परिवारमा बिवाह, ब्रतबन्ध, रुद्री, सप्ताह, महायज्ञ जस्ता धार्मिक कार्य, जुठो सुत्केरो जस्तो संस्कारमा पनि गोलिगढ आमा समूह पुग्ने गर्छ । दुनाटपरी खुट्नेदेखि भात भान्छाका सवै काम उम्काइदिएर भजन कृतन, आरती समेत गरेर आपसी एकता र सद्भावको उदाहरण देखाउने गर्छ गोलिगढ आमा समूह ।
पर्व र संस्कार मनाउनमामात्र होइन, गोलिगढ आमा समूह सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छ । प्रत्येक शनिवार हातमा कुचो, झाडु, बेल्चाका साथ टोलको सरसफाइ गर्ने गोलिगढ टोल सुधार समितिको अभियानमा पनि उत्तिकै साथ दिएको छ ।
‘सामाजिक पर्व होस वा कुनै पनि कामका लागि बिना पैसा केही नगर्ने अहिलेको पैसामुखी व्यवसायिक जमानामा गोलिगढ आमा समूहले गर्ने गरेका कार्यहरु समाज सुधारका लागि निकै उदाहरणीय छन्’, गोलिगढ टोल सुधार समितिका अध्यक्ष युवराज पाण्डे भन्छन्, ‘गोलिगढ आमा समूहबाट समाजले सिक्नु पर्ने धेरै पाठ छन् ।’
गोलिगढ आमा समूहको अर्को सक्रियताको कार्य हो, नियमित ‘ध्यान तथा योगा शिविर’ संचालन । गोलिगढ आमा समूहको आयोजनामा गोलिगढ चोकस्थित सामुदायिक तथा सांस्कृतिक भवनमा गत मंसिर १७ गतेदेखि प्रत्येक दिन बिहान योगा ध्यान शिविर संचालनमा छ । ‘टोलका सवै दिदीबहिनी, दाजुभाइ र बुवा आमालाई मानसिक र शारीरक रुपमा स्वास्थ्य राख्नका लागि यो शिविर संचालन गरिएको हो’, सचिव साधनाले भनिन्, ‘सामान्य बिजुली महशुल बापत बाहेक सहभागीलाई कुनै प्रकारको शुल्क लगाइएको छैन ।’








लेखकको सम्वन्धमा