लुम्बिनीको शिरमा रुकुमपूर्व



भैरहवा– लम्बिनी प्रदेशको सबैभन्दा अग्लो ७ हजार २ सय ४६ मिटर उचाइमा रहेको पुथाहिमालको शिरदेखि झण्डै ११ सय मिटरको उचाइमा रहेको पोखराको तातोपानीको मुहानसम्म फैलिएको रुकुमपूर्वलाई नेपाल सरकारको ‘उत्कृष्ट यात्रागन्तव्य’का रुपमा समेत समेत सुचिकृत गरेको छ । विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनीको शिरमा रहेको यो जिल्ला कुल १ लाख १३ हजार ५ सय २३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । रुकुमपूर्वमा तीनवटा पालिका छन् भने यसलाई देशको ‘कान्छो जिल्ला’पनि भनिन्छ । लुम्बिनी आउने पर्यटकलाई यहाँ पुर्याउन सके पर्यटकीय विकासले समेत फड्को मार्ने बताइन्छ ।
२०१८ सालमा साविकका सल्यान र जाजरकोटबाट छुट्टिएर रुकुम छुट्टै जिल्लाका रुपका कायम भएको थियो । त्यसपछि जिल्ला सदरमुकाम रहेको रुकुमकोटबाट वि.सं. २०३० सालमा जिल्ला सदरमुकाम मुसिकोट सारिएको थियो । पछि २०७३ सालमा संघीयताको आवधारणा अनुसार राज्यको पुनःसंरचना गरिएपछि रुकुमको पूर्व र पश्चिमभाग छुट्टाछुट्टै जिल्लाका रुपमा कायम भए । सदरमुकाम भयो रुकुमकोट । यसकारण यसलाई ‘कान्छो जिल्ला’जिल्ला भन्ने गरिएको हो ।
यसबाहेक लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला पनि हो रुकुमपूर्व । अरु ११ जिल्लाभन्दा अलि फरक परिचय र चिनारी बाकेको यो जिल्लामा अर्गानिक कृषि र पर्यटकीय दृष्टिले अथाह सम्भावना भएको ठाउँ हो । पुथासँगै ५ हजार मिटर भन्दामाथिका सिस्ने, दोगारी, सामजङ र निम्कु हिमालयहाँ रहेका छन् भने कमलताल, पुपाल दह, गुप्ता दह, सुन दह र साम्पे लगायतका बिभिन्न तालतलैयाको सुन्दरताको बयान शब्दमा सायदै गर्न सकिएला ।
धौलागिरी हिमालको पश्चिम भागमा रहेको नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनको ६० प्रतिशत भू–भाग पनि यही जिल्लाका पर्छ । सिस्नेतिर बनघारी भाका र पैसेरुको लहरोमा नाचिन्छ भने भूमे र पुथातिर यानीमाया भाकामा गित गाउँदैं भूमे नाचमा छमछम नाचिन्छ । भाषादेखी भुगोल अनि रिती–संस्कृतिदेखि जीवनशैलीमा समेत विवधता पाइने रुकुमपूर्वमा यही अनेकतालाई एकाताको डोरीले बाँधेको छ ।
भूमे गाउँपालिकाका पूर्वअध्यक्ष रामुसुर बुढा भन्छन्, ‘जनसंख्याका हिसाबले हेर्ने हो भने यहाँ जनजाती त्यसमा पनि खासगरी मगर खाम भाषा बोल्नेहरुको बाहुल्यता छ । बिबिध भाषा–भाषीहरुको पनि आफ्नै परिचय छ । आपसको हाम्रो प्रेम नै जिल्लाको चिनारी हो ।’
पर्यटन व्यवसायी रुकुम पश्चिमका मानबहादुर खत्रीले पोखराको तातोपानीमा नुहाएर रुकुमकोटको कमलदहको कमलको अचार चाख्दै महत, कोल, राङसी रतकसेरा देखीहुकाम–मैकोटका सुन्दर वस्तीहरु घुमेर हिमालतर्फ जान सकिने बारे बताउँछन् । ‘ढोरपाटनको बुकी घुमेर पुथाहिमालको काखमा डुल्दै–डुल्दै सुनदह र गुप्तादहको पानीलाई स्पर्श गरेर डोल्पासम्म पुग्न सकिन्छ’, उनि भन्छन्, ‘करिब १० दिन लामो यो पदयात्राले पर्यटकलाई अर्कै संसारमा लैजान्छ ।’

बिभिन्न प्राकृतिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले निकै महत्वपूर्ण जिल्लाका रुपमा रुकुमपूर्वलाई चित्रित गर्न सकिन्छ । तत्कालिन नेकपामा ओवादीले संचालन गरेको सशस्त्र संघर्षको उद्गमस्थलका रुपमा समेत रहेको रुकुमपूर्व जिल्लाका मूल बाटोलाई ‘गुरिल्लामार्ग’ समेत भन्ने गरिएको छ । तत्कालिन माओवादीले आफ्नो ‘बिशेष आधार क्षेत्र’ रुपमा घोषाण गरेको ऐतिहासि कचुन्बाङ आसपासबाट सुरु भएको यो मार्ग रुकुमकोटबाट डाडैडाँडा हुँदै रुकुमपश्चिमको बाँफिकोटतर्फ अघि बढ्ने पर्यटकन व्यवसायी मानबहादुर बताउँछन् ।
‘गुरिल्लामार्गलाई पनि व्यवसायिक पदमार्गका रुपमा विकास गर्न सकिन्छ । यसका लागि आजभन्दा झण्डै १५ बर्ष पहिले नै म्याप समेत बनाइएको छ । त्यसमा केही सामान्य हेरफेर र संसोधन गर्ने मात्रै हो भने पनि पर्यटकहरुले रुकुमपूर्व र पश्चिम नियाल्दै यात्रामा निस्किन सक्छन्’, उनले भने ।
कुलक्षेत्रफलको करिब १५ प्रतिशतमात्रै खोतियोग्य जमिनरहेको रुकुमपूर्वलाई खाद्यन्न बालीका हिसावले सुरक्षित मानिए पनि खाने बानीमा आएको परिवर्तनका कारण चामल लगायतको खाद्यान्न आयात गर्नु परिरहेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुमपूर्वका प्रमुख डिल्लीराज पौडेलले बताए । ‘यहाँ बिशेष गरी खाद्यन्न बालीमा मकै, गहुँ, जौं र फापर उत्पादन हुन्छ भने, धान एकदमै न्युन मात्रामा उत्पादन गरिन्छ’, उनले भने, ‘फलफूलमा स्याउ र सुन्तलातथा बर्खे आलु प्रशस्त पनि उत्पादन हुन्छ । यहाँको उत्पादनलाई व्यवसायिक रुपमा अघि बढाउन सकेमा आयस्तरमा वृद्धि ल्याउन सकिने थुप्रै सम्भावना छ ।’
रुकुमपूर्वलाई अर्गानिक वस्तु उत्पादन तथा प्राङ्गारिक जिल्लाका रुपमा पनि अघि बढाइरहेको प्रमुख पौडेलको भनाई छ । साथै उनले यहाँको खोतियोग्य जमिनको विस्तार र विकास गर्न सकिने कुरामा पनि जोड दिए । यसका लागि स्वायम् किसान र स्थानीय सरकारको सक्रियता जरुरी हुने उनको भनाई छ ।
कृषि र पर्यटनका साथै रुकुमपूर्वको अर्को ठुलो सम्भावना भनेको हिमाली जडिबुटीको हो । जिल्ला प्रशासन कार्यालयको वेवसाइटमा उल्लेख गरिए अनुसार यहाँ बहुमूल्य हिमाली जडीवुटी यार्चागुम्वाका साथै, पाँचऔले, कुरिलो, टिमुर, दालचिनी, गुर्जो, कटुकी, पाङर, बादलपाते, बोझो, हर्रोअमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराइटो, जटामसी, भलायो आदि जडिबुटीहरु पाइन्छन् ।

मध्यपहाडी लोकमार्ग यहाँको मुख्यमार्ग हो भने घोराही बाट रोल्पा हुँदैं रुकुमपूर्वको मैकोटसम्म पुर्याउने गरी निर्माणधिन सहितमार्ग पनि यहाँको अर्को महत्वपूर्ण सडक हो । जिल्लाको करिब ८० प्रतिशत भू–भागमा सडक पहुँचमा भए पनि प्रायः सडक कच्ची नै भएकाले यसको गुणस्तरीयतामा ध्यान दिन जरुरी छ ।
रुकुमपूर्व अरु जिल्लाको दाँजोमा भौतिक विकासमा केही पछि परेको उल्लेख गर्दैै रुकुमकोट उद्योग बाणिज्य संघका अध्यक्ष केवेन्द्र गौतमले यसका लागी सम्बन्धित सबै लाग्नुपर्ने बताउँछन् । ‘प्रशासनिक हिसाबले जिल्लालाई कान्छो भनिनु ठिकै हो तर विकासमा पनि कान्छो बनाउनु भएन । यसका लागि तीनै तहका सरकारले बिशेष ध्यान दिनुपर्यो । यहाँका सम्भावनालाई पहिल्याएर त्यसलाई विकास र रोजगारसँग जोड्नुपर्यो,’, उनले भने ।
रुकुमपूर्वलाई विकासको मार्गमा डोर्याउन आफ्नो तहबाट सक्रियताका साथ लागिरहेको बताउँदैं यस क्षेत्रका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीले सडक विकासमा बिशेष जोड दिइरहेको बताए । ‘निर्माणधिन सहिदमार्गमा यसबर्ष बजेट छुट्याउने कुरामा सरकारले लापरवाही गरेको कुरा मैले जोडदार तरिकाले उठाएको छु । अगामी बर्षमा यसमा पर्याप्त बजेट विनियोजन गरेर यसको निर्माण सम्पन्न गर्न सकेमा सहजता आउने छ’, उनले भने, ‘साथै यहाँको ऐतिहासिकता र पर्यटकीय सम्भावनालाई पनि संस्थागत रुपमा विकास गर्न हरेक पालिकालाई पर्यटन गुरुयोजना बनाएर अघि बढ्न भनिएको छ । यसमा संघीय र प्रदेश सरकारको पनि साथ जरुरी छ । यसका लागि पहल तथा आवश्यक सहजिकरण गर्ने काममा कमी हुने छैन ।’








प्रतिकृया दिनुहोस्