अन्तर्राष्ट्रिय उडान ठप्पः कहिलेदेखि सुरु हुन्छ उद्योगी-व्यसायीको घोषित आन्दोलन ?



भैरहवा– ‘हामीले कालोपट्टी बाँधेर दबाबमूलक विरोध प्रदर्शन गर्छौं । शान्तिपूर्ण र्याली गरी बजार परिक्रमा समेत गर्दैछौं’, सिद्धार्थ संजाल, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानको माग गर्दै बुधबार भैरहवामा आयोजित आन्दोलन घोषणा कार्यक्रममा भनेका थिए, ‘सरकारले पटक–पटक हामीलाई झुक्यायो, घोषणा गरेका कार्यालय समेत भैरहवामा खोलेन ।’
सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले त सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई डाइभर्सनको रुपमा जस्तै प्रयोग मात्र गरेको जिकिर गरे । उनले भनेका थिए, ‘काठमाडौंमा विमानस्थल मर्मत गर्न लागेपछि केही समयका लागि भैरहवालाई डाइभर्सनका रुपमा प्रयोग गरिएको हो । अबको आन्दोलनलाई निर्णायक बनाउने गरी अघि बढ्नुपर्छ । नेपालगंजका निजी क्षेत्रले नेपालगंजमा, दाङकाले दाङमा रहेका विमानस्थलमा आन्दोलन गर्नुपर्छ ।’ पत्रकार सम्मेलन नै गरेर चरणबद्ध आन्दोलन घोषणा गरेका व्यवसायीले मिति भने तोको छैनन् । धेरैले सामाजिक संजालमा प्रश्न गरेका छन्, ‘निजी क्षेत्रको निर्णायक आन्दोलन कहिलेदेखि हुन्छ ?’
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, सिद्धार्थ सञ्जाल, रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा संयुक्त पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय उडानको माग गर्दै आन्दोलन घोषणा गरेका थिए । बुँदागतरुपमा कडा आन्दोलनको चेतावनी दिएका उद्योगी–व्यवसायी कहिलेदेखि उत्रिन्छन् त ‘फिल्ड’मा ? यसको भने एकीन भएको छैन ।
आन्दोलन सुरु गर्ने मितिबारे संघका अध्यक्ष आचार्यले केही हप्ता लाग्नसक्ने बताए । ‘हामीले पहिलो चरणमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेका छौं । अब, रुपन्देहीमा क्रियाशील राजनीतिक दल, स्थानीय पालिकाका जनप्रतिनिधि, प्रदेश र संघका सांसदसँग रायसुझावसहितको छलफल गर्छौं’, उनले भने, ‘सबैको सुझाव लिएर एकजुट हुन्छौं र आन्दोलनको मिति तोकेर अघि बढ्छौं ।’ उनले प्रदेशका निजी क्षेत्र, १२ वटै जिल्लाका व्यवासयिक संस्थाहरुसँग पनि सहकार्य गरी आन्दोलनमा उत्रिने जनाए । आचार्यले निजी क्षेत्र आज उठ्नै नसक्ने अवस्थामा पुग्दा समेत सरकार आँखा चिम्लिएको बताए ।
पछिल्लो पटक करिब तीन महिनासम्म भैरहवामा उडान भर्दै आएका जजिरा, फ्लाई दुबई, एयर एशिया लगायतका विमान कम्पनीले उडान स्थगित गरेका छन् । यसपछि निजी क्षेत्र आक्रोसित भएको हो । आन्दोन घोषणा गरेका संस्थाहरुले श्रम स्वीकृति, गाम्का लगायत स्वास्थ्य परीक्षण, भिसा सेन्टर कार्यालय, म्यानपावर कम्पनी तत्काल भैरहवामा स्थापना गर्न माग गरेका छन् । यस्तै, अन्तर्राष्ट्रिय विमान कम्पनीलाई दिने भनिएको छुट सुविधा तत्काल दिनुपर्ने, नेपाल एयरलाइन्सबाट दैनिक उडान हुनुपर्ने, अन्य वायुसेवालाई भैरहवा ल्याउनुपर्ने र भारतसहित अन्तरप्रदेश तत्काल उडान गर्नुपर्ने माग राखेका छन् । यसलाई बेवास्ता गरे निर्णायक आन्दोलन हुने निजी क्षेत्रको सरकारलाई चेतावनी छ ।
सिद्धार्थ संजालका अध्यक्ष ज्ञवालीले घोषणा गरेको आन्दोलन हुन्छ तर कहिलेदेखि सुरु गर्ने भन्नेबारे छलफलमै रहेको जनाए । ‘सबैको सुझाव लिने काम भइरहेको छ’, उनले भने, ‘सँगसँगै आन्दोलनको मोडालिटी पनि तय गरिरहेका छौं ।’ छिट्टै कार्यतालिका घोषणा गरेर आन्दोलनमा होमिन्छौं ।’ रुपन्देही, लुम्बिनी प्रदेश मात्रै होइन् सिंगो मुलुकको आर्थिक समृद्धिका लागि आन्दोलन सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उनले बताए ।
घोषित आन्दोलनका कार्यक्रमहरुमा विमानस्थल अगाडि धर्ना दिनेदेखि कालोपट्टी बाँधेर प्रदर्शन गर्नेसम्मका छन् । सरकारले विमानस्थल शिलान्यास र उद्घाटन गर्दा निजी क्षेत्रलाई लगानी गर्न आह्वान गरेको थियो । त्यसपछि निजी क्षेत्रबाट भैरहवा र आसपास अर्बौं लगानी भएको छ । तर, विमानस्थल पूर्ण क्षमता नचल्दा र संचालित उडान पनि स्थगित हुँदा सरकारी र निजी क्षेत्रको अर्बौं लगानी डुवेको निचोड तीन निजी क्षेत्रका संस्थाको छ । मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई अल्टिमेटम दिँदै विमानस्थलबाट उडान सुचारु गर्न ध्यानाकर्षण गराइने र अन्तर्राष्ट्रिय उडान सुरु नभए भैरहवामा आउजाउ गर्दा उनीहरुलाई विमानस्थल प्रवेशमा रोक लगाउने व्यवसायीहरुले चेतावनी दिएका छन् ।
आन्दोलनकै कार्यक्रम अन्तर्गत व्यवसायीले आन्तरिक उडानतर्फका टिकक नकाट्न आह्वान गर्ने र विमानस्थल गेटमा शान्तिपूर्ण प्रदर्शन गरी आवातजावत समेत बन्द गराउने बताएका छन् । शान्तिपूर्ण विरोधका कार्यक्रमले उग्र रुप लिए त्यसको जिम्मेवार सरकार हुने जनाएका छन् । रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी र पाल्पाका निजी क्षेत्रसँग मिलेर संयुक्त आन्दोलन गर्ने र लुम्बिनी प्रदेशका अन्य जिल्लाहरुमा पनि निजी क्षेत्रसँग सहकार्य गरी आन्दोलन चर्काउने चेतावनी उद्योगी व्यवसायीको छ ।
एकआध बाहेक यसअघि उडान भरेका विमान कम्पनीमा यात्रुको संख्या राम्रो भएको तर विमानस्थल संचालनका लागि संघ सरकारले बेवास्ता गरेको आरोप उनीहरुको छ । विमानस्थल संचालनमा प्रदेश र स्थानीय सरकारले कुनै भूमिका नखेलेको निष्कर्ष निजी क्षेत्रको छ ।
गत वर्ष निजी क्षेत्रको अगुवाईमा हप्तौं दिनसम्म विमानस्थल अगाडि प्रदर्शन भएको थियो । त्यसबेला सरकारी तहबाट पूर्णक्षमतामा विमानस्थल संचालन गर्ने प्रतिबद्धता भए पनि अहिले पूर्णरुपमा बेवास्ता गरिएको आरोप व्यवसायीको छ । उद्योग ब्यापार संगठन, रुपन्देहीकी महासचिव लक्ष्मी अधिकारीले विमानस्थल नचलेकै कारण निजी क्षेत्र सडकमा आउने स्थिति बन्नु दुःखद् भएको जनाइन् ।
‘हाम्रो मुलुकमा जुनसुकै निर्णय कार्यान्वयन गराउन सडकमा आउनुपर्ने बाध्यता छ’, उनले भनिन्, ‘राज्यले करिब ४० अर्ब लगानी गरेको विमानस्थल आज ठप्प हुँदा सरकार कहाँ छ ? विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले गरेको ८० अर्ब बढी लगानी बालुवामा पानी हाले सरह भइसक्यो ।’ उनले आन्दोलनमा उत्रिनुको विकल्प नभएपछि आफूहरु त्यसैको तयारीमा लागेको जनाइन् । आन्दोलनका कार्यक्रमबारे चरणबद्ध छलफल र विभिन्न संघसंस्थासँग सहकार्य भइरहेको उनको भनाई छ ।








प्रतिकृया दिनुहोस्