November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

लुम्बिनी प्रदेश नै ‘हस्पिटालिटी हब’

Advertisement

भैरहवा– लुम्बिनी प्रदेश पर्यटनका लागि ‘स्वर्ग’ नै हो भन्दा फरक पर्दैन । बुद्ध जन्मस्थल, राष्ट्रिय निकुञ्जदेखि हिमालसम्मले प्रदेशको सौन्दर्यता थपेका छन् भने सम्भावना बोकेका छन् । अहिले लुम्बिनीका रुपन्देही, दाङ, बाँके, पाल्पा, अर्घाखाँची लगायत जिल्लामा पर्यटक लक्षित संरचना र सुविधा थप भइरहेका छन् । पहिले पाहुनाका लागि भनेर होटल र रेष्टुरेन्टमात्र निर्माण गरिन्थे । अहिले आवासायी र खानपिनका सुविधासँगै पर्यटकलाई भुलाउन मनोरञ्जनका कार्यक्रमसँगै भ्रमण प्याकेज समेत बनाउन थालिएको छ ।

Advertisement

कुनै समय सिमावर्ती भैरहवामा गल्ला व्यापार हुन्थ्यो भने उत्तरमा अवस्थित बटौंली बजारमा पहाडी जिल्लाबाट आएका सर्वसाधरणले घ्यू बेचेर बदलामा नुन–तेल र लत्ताकपडा किनेर फर्किन्थे । परम्परादेखि व्यापार र नेपाल–भारत आउजाउ रुपमा थलोका रुपमा रहेको रुपन्देही अहिले ‘सर्भिस सिटी’मा परिणत भइसकेको छ ।

लुम्बिनी प्रदेशमा रुपन्देहीको बेलहिया बाहेक पश्चिम नवलपरासीको महेशपुर, लुम्बिनीको कालिदह, कपिलवस्तुको कृष्णनगर, चाकलचौंडा, दाङको कोइलबास, बाँकेको रुपैडिया र बर्दियाको मूर्तिया नाकाहुँदै भारतीय र तेस्रो मुुलुकका पर्यटक मुलुक आइरहेका छन् । यसरी आउने पर्यटकलाई सिमावर्ती सहरले आवास, खानपिन, मनोरञ्ज, यातायात, पथप्रर्दशन र पर्यटकीय गन्तव्य घुमफिरका लागि सेवा प्रदान गरिरहेका छन् ।

‘रुपन्देहीले स्वदेशी र बिदेशी पर्यटकलाई आवश्यक सम्पूर्ण सुविधा प्रदान गरिरहेको छ,’ भैरहवाका व्यवसायी धीरजकुमार घिमिरेले भने, ‘उद्योग, व्यापारसँगैं पर्यटन क्षेत्र रुपन्देहीमात्र नभएर लुम्बिनी प्रदेशकै आर्थिक मेरुदण्डका रुपमा बिकास भइरहेको छ ।’ परम्परादेखि रुपन्देहीको बेलहिया स्थलमार्गबाट मुलुकमा धेरै पर्यटक भित्रिने नाका हो । पछिल्लो समय बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउनेलाई लक्ष्ँित गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई नाकाबाट आउने पर्यटक थपिएका छन् ।

विभिन्न नाकाबाट भैरहवामा पाइला टेक्ने बाह्य र आन्तरिक पर्यटकलाई लुम्बिनी समेत मुलुकका पर्यटकीय गन्तव्यमा सहज आवत–जावत र बसोबासका लागि आवश्यक सबै सुविधा यहीबाट प्रदान गर्न सकिने भएकाले रुपन्देहीलाई ‘सर्भिस सिटी’ भनिएको व्यवसायी घिमिरेले बताए । पछिल्लो समय भारत लगायत मुलुकबाट धेरै परिवार आफ्ना आफन्तजनको विवाहका लागि रुपन्देही लगायत लुम्बिनी प्रदेशका स्तरीय होटल छनौंट गरेर आउन थालेका छन् ।

आन्तरिक र बाह्य पर्यटक लक्षित तारे होटल सञ्चालनको होडबाजीले यहाँको हस्पिटालीटीको परम्परागत शैलीमा परिवर्तन ल्याएको छ । रुपन्देहीको तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस बाई सोल्टीका जनरल म्यानेजर (जीएम) अग्निमित्र शर्मा स्तरीय होटलको संख्या बृद्धिले मात्र पर्यटक आकर्षित नगर्ने बताउँछन् । ‘पर्यटकको बसाइँ लम्ब्याउने खालका गतिविधि बिकास गर्न जरुरी छ,’ उनले भने, ‘त्यसका लागि होटलले नयाँ–नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’ उनका अनुसार अहिले रुपन्देहीका होटलमा विभिन्न चाडपर्व लक्षित इभेन्ट सञ्चालन र अफर सञ्चालन गर्न थालिएको छ ।

यस्ता इभेन्ट प्रायः एकैप्रकारमा भएकाले यिनमा फरकपन जरुरी रहेको उनको भनाई छ । ‘हाम्रो होटलले परिसरमै आधा दर्जन खेलका लागि आवश्यक पूर्वाधार तयार गर्दै छ,’ उनले भने, ‘यसबाहेक तीन दिनको प्याकेज कार्यक्रमपनि सञ्चालन गरेका छौं, जसमा सहर अवलोकन, पुल पार्टी, मुभी अवलोकन लगायत छन् ।’ प्रदेशमा रहेका ऐतिहासिक र पुरातात्विक स्थलका कथा विक्री गर्न सक्ने हो भने पर्यटकको बसाइँ लम्याउन सकिने उनको भनाई छ ।

अहिले रुपन्देहीको बेलहियादेखि बुटवलको गोलपार्कसम्म २६ किलोमिटर व्यापारिक मार्गको दायाँ–बायाँ स्तरीय होटल होटल सञ्चालन भइरहेका छन् । यहाँ सञ्चालन गरिएका अधिकांश होटल चारतारे स्तरका छन । स्वदेशी उद्योगी, व्यवसायीले लगानी गरेका यस्ता होटलको व्यवस्थापनको जिम्मेवारी भने म्यानेजमेन्ट कम्पनीले लिन थालेका छन् । यस्ता कम्पनीमध्ये केही मुलुकभित्रै होटल चेन सञ्चालन गरिरहेका छन् । केही होटलले बिदेशी कम्पनीसमेत भित्र्याएका छन् ।

होटल व्यवस्थापनमा यस्ता कम्पनीको प्रवेशले तिनको हस्पिटालीटीमा नयाँ आउनुका साथै अन्य लगानीकर्तालाई सिक्ने अवसर समेत सिर्जना गरिरहेको यहाँका व्यवसायीका भनाई छ । रुपन्देहीको भैरहवामा पाँचतारे सिद्धार्थ भिलासा सञ्चालनमा छ । सिद्धार्थ हस्पिटालिटी ग्रुप अन्तर्गत यो पहिलो पाँचतारे रुपन्देही सदरमुकामको आकर्षण बनेको छ । यसबाहेक चार तारे स्तरका होटल निर्वाणा, मौर्या, होटल रेडसन, नान्स, भैरहवा गार्डेन, ल्याण्डमार्क, एसियन बुद्ध सञ्चालनमा छन् । यी बाहेक स्तरीय होटलको संख्या एक सय हाराहारी छ ।

जिल्लाको मध्यभागमा रहेको तिलोत्तमामा पाँचचारे टाइगर प्यालेस बाई सोल्टीका साथै ड्रिमल्याण्ड, विश्रामवाटिका, एसआर, होटल पौवा, डी क्राउन जस्ता एक दर्जनभन्दा बढी सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् । बुटवल उपमहानगरपालिकाभित्र साना–ठूला गरेर दुई सयभन्दा बढी होटल सञ्चालनमा छन् । माछा पर्यटनका लागि प्रसिद्ध सियारीमा लुम्बिनी प्यालेस रिर्सोट, सखिया फिस भिलेज लगायत आधा दर्जन स्तरीय होटल छन् । बुद्धस्थल लुम्बिनीमा पाँच चारे पवन प्यालेससहित चार तारे स्तरका होक्के, कसाई, मायादेवी गार्डेन, लुम्बिनी गार्डेन सञ्चालनमा छन् ।

अहिले लुम्बिनीमा बाराही समूहले पनि होटल निर्माण गरिरहेको छ । यी बाहेक ८० भन्दा बढी मध्यम र साना होटल छन् । सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठका अनुसार रुपन्देहीमा मात्रै होटल व्यवसायमा ८० अर्ब हाराहारी लगानी भइसकेको छ । ‘अन्तर्राष्ट्रिय विमानस्थल लक्षित गरेर धेरै लगानी भइरहेको छ,’ उनले भने, ‘होटलको संख्यामात्र बढेको होइन, सुविधा पनि थपिएका छन् ।’ यहाँ धेरैं लगानीका तारे होटलमात्र नभएर सर्वसाधरणले खर्च गर्नसक्ने खालका सबैं स्तरका होटल खुलेको श्रेष्ठले बताए ।

‘यो हस्पिटालिटी हब हो,’ उनले भने, ‘यहाँ आउने पाहुनालाई निराश होइन, खुसी तुल्याएर पठाउँछौं ।’ मुख्य नाका भएका रुपन्देही र बाँकेमात्र होइन, प्रदेशका १२ वटै जिल्लाका पर्यटकीय सम्भावना लक्षित गरेर हस्पिटालिटी क्षेत्रमा लगानी भइरहेको छ । यहाँका लगानीकर्ताले पर्यटकको चाहना बुझेर नयाँ गन्तव्य पहिल्याउँदैं लगानी गरिरहेका छन् । कतिले पाहुना लोभ्याउन नयाँ कार्यक्रम र शैली बिकास गरेका छन् ।

लुम्बिनी प्रदेशका मनोरम पहाडी जिल्लामा धमाधम पर्यटकीय गतिविधि बढिरहेका छन् । बुटवलको चिडियाखोलाबाट पाल्पाको बसन्तपुरसम्म लुम्बिनी केवलकार सञ्चालनमा आएको छ । त्यस्तै बुटवलको पश्चिम फूलबारीबाट बसन्तपुर डाँडासम्म सिद्धार्थ केवलकार सञ्चालनमा छ । बुटलमा बेस भएका दुईवटा केवलकारको सञ्चालनले पाल्पाका बसन्तपुर र नुवाकोटमा पर्यटकीय लगानी थपिन थालेका छन् । पहाडकी रानी भनेर उपमा पाएको पाल्पा सदरमुकाम तानसेन र रानीमहल स्वदेशी र भारतीय पर्यटकले रुचाएको गन्तव्य हो ।

पछिल्लो गुल्मीको रेसुङ्गा आकर्षक गन्तव्य बनेको छ । अर्घाखाँचीको सुपा देउरालीमा बाह्रैमास श्रद्धालु पुग्छन् । तर, गर्मी सुरु भएपछि सुपा देउराली नजिकैको नरपानीका होटल पाहुनाले खचाखच हुन्छन् । बैशाख–जेठमा समेत बाक्लो लुगा लगाउनुपर्ने नरपानीमा भारतीय ओइरिने गरेका छन् । कपिलवस्तुको चन्द्रौटा, प्रदेश राजधानी रहेको दाङको देउखुरीमा धमाधम होटल, रेष्टुरेन्ट खुल्न थालेका छन् । ‘हामीसँग पर्यटन गन्तव्य र संरचना प्रशस्त छन्,’ नेपलिज होटलर्स एशोसियशन अध्यक्ष प्रविणबहादुर पाठकले भने, ‘अब जतिसकिन्छ पर्यटक ल्याउन अभियान चलाउनु पर्यो ।’

प्रदेशको पश्चिम कुनामा रहेका बर्दिया र बाँके निकुञ्ज वन्यजन्तु केन्द्रित सफारी पर्यटनका केन्द्र हुन् । सफारी पर्यटन लक्षित गरेर बर्दियाको ठाकुरबाबा र आसपासका पालिकामा धमाधम होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आइरहेका छन् । होटल एशोसिएशन बर्दियाका अध्यक्ष मोहन चौधरीकाअनुसार ठाकुरद्वारामा मात्रै ५० भन्दाबढी होटल खुलिसकेका छन् । कर्णालीको भङ्गालो खौराहा नदी किनारमा अहिले प्रकृतिमैत्री रिर्सोट खुल्न थालेको चौधरीले बताए ।

‘मध्यवर्ती क्षेत्रमा होटल थपिने क्रम जारी छ,’ उनले भने, ‘होटलको संख्यासँगै सुविधा पनि थप भएका छन् । ‘सफारी पर्यटन भएकाले ठाकुरद्वारा र मधुवनमा खुलेका होटल र रिसोर्ट वातावरण र वन्यजन्तुमैत्री हुने गरेको उनले बताए । रुख र टेन्टमा पर्यटकलाई बास बसाउने बुराहन जस्तो पक्की संरचनाबिहीन रिसोर्ट पनि विश्वकै उत्कृष्ट गन्तव्यमा पर्नुले निकुञ्ज आसपासका संरचनालाई वन्यजन्तु र प्रकृतिमैत्री बनाउन दबाब पुगेको चौधरीले बताए ।

विश्व आश्थाको केन्द्र गौतमबुद्ध जन्मस्थल लुम्बिनी अनेक सम्भावना र विशेषताले भरिपूर्ण छ । थरिथरि जातजातीकासाथै अनुपम संस्कृति र विविधतायुक्त प्रकृति रुपन्देहीका विशेषता हुन् । कृषि, उद्यम, पर्यटन, शिक्षा, स्वास्थ्य, व्यापार र पूर्वाधारले यहाँको हस्पिटालिटी क्षेत्रलाई बाह्रैमहिना चलायमान बनाइरहेका छन् ।

बर्दियाको ठाकुरबाबा, बाँकेको बागेश्वरी, प्यूठानको स्वर्गद्वारी, पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थलमा रहेको ऋषिकेष (रिडी), पाल्पाको सिद्धबाबा, रुपन्देहीको मोक्षधाम, नवलपरासीको त्रिवेणी र वाल्मिकी आश्रममा बाह्रै महिना धार्मिक पर्यटन ओइरिने गरेका छन् । परम्परादेखि विश्रामस्थलका रुपमा रहेको रुपन्देही अहिले हस्पिटालिटी ‘हब’मा परिणत भइसकेको छ । रुपन्देहीका होटलमा प्रत्येक वर्ष एक हजार हाराहारी बैदेशिक विबाह हुने गरेका छन् । प्रदेशका जिल्लाहरुमा अहिले तारे होटल, क्यासिनो, रेष्टुरेन्ट, स्पासँगै विश्वस्तरीय फनपार्क सञ्चालन भइरहेका छन् ।