रूपन्देहीमा आत्महत्याको ग्राफ डरलाग्दो, छैनन् सचेतनामूलक कार्यक्रम



भैरहवा– रूपन्देहीमा आत्महत्याको ग्राफ डरलाग्दो अवस्थामा देखिएको छ । वर्सेनि आत्महत्या गर्नेहरु बढेका बढ्यै छन् । प्रहरीका अनुसार फागुन महिनामा मात्रै जिल्लामा २७ जनाले आत्हत्या गरेका छन् । पछिल्लो ५ वर्षमाको अवधिमा मात्रै १ हजार १७६ जनाले आत्महत्या गरेका छन् । रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीकाअनुसार झुण्डिएर, विष सेवन गरेर, हातहतियार प्रयोग गरेर, हाम फालेर, करेन्ट तथा आगो लगाएर आत्महत्या गरेका हुन् । संख्यात्मक रुपमा आत्महत्याका घटना बढ्नुमा मानसिक तनाव, बहुविवाह, आत्मग्लानी, महत्वकांक्षी र गरिबी लगायत मुख्य कारण देखिएको उनको भनाई छ ।
‘मान्छे चाहिने भन्दा बढी महत्वकांक्षी हुनु र ती आवश्यकता पुरा नहुँदा, वैदेशिक रोजगारी, श्रीमान् श्रीमतीबीच मनमुटाव हुँदा आत्महत्यासम्मको निर्णय लिने गरेको पनि पाइएको छ’, कार्कीले भने, ‘यी बाहेक भित्री अन्य कारण पनि हुनसक्छन्, खोजविन गरी न्यूनीकरणमा लाग्न जरुरी छ । यसतर्फ प्रहरी लागिपरेको छ ।’ उनका अनुसार लागूऔषध दुव्र्यसनी र मदिरा सेवन पनि आत्महत्याको कारण मानिएको छ ।
उनले घटना बढ्नुका कारण र न्यूनीकरण बारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताए । बेलाबेलामा प्रहरीले सचेतनामूलक कार्यक्रम गर्ने गरेको उनले जनाए । प्रहरी तथ्यांक हेर्दा जिल्लामा दैनिकजसो आत्महत्याका घटना हुने गरेका छन् । ‘प्रहरीको एक्लो प्रयासले हुँदैन, खासगरी स्थानीय पालिकाहरुले सचेतनामूलक शिक्षा संचालन गर्न जरुरी देखिएको छ’, डीएसपी कार्कीले भने ।
प्रहरी तथ्यांक अनुसार आर्थिक वर्ष २०७७–०७८ मा २५०, ०७८–०७९ मा २६६, ०७९–०८० मा २४१, ०८०–०८१ मा २५५ र २०८१–०८२ को फागुन मसान्तसम्म १६४ जनाले आत्महत्या गरेका छन् । आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण देखिएको छ । प्रहरी तथ्यांकअनुसार सबैभन्दा बढी आत्महत्या गर्नेमा १६ देखि २५ वर्ष उमेर समूहका किशोरकिशोरी र युवायुवती छन् ।
अधिकांशले झुण्डिएर र विष सेवन गरी आत्महत्या गर्ने गरेका छन् । वर्षेनि आत्महत्याका घटनाहरु बढ्दै गए पनि न्युनिकरण र सचेतनामूलक कार्यक्रम खासै हुन सकेका छैनन् । स्थानीय तह र प्रहरीले बेलाबेल आयोजना गर्ने सचेतनामूलक कार्यक्रम पनि त्यति प्रभावकारी छैनन् । नागरिकसँग प्रत्यक्ष जोडिने स्थानीय सरकारका प्रतिनिधिहरुले त पूर्णरुपमा बेवास्ता नै गर्दै आएका छन् । पालिका स्तरमा आत्महत्याविरुद्ध अभियान चलाउने हो भने घटनादर कम गर्न केही भए पनि सहयोग पुग्ने अधिकारकर्मीहरु बताउँछन् । खासगरी पछिल्लो समय घरायसी विवाद, अशिक्षा, गरिबी, दिर्घ रोगले गर्दा पनि आत्महत्या गर्ने बढ्दै गएको मनोरोज विशेषज्ञहरु बताउँछन् । यस्तै पारिवारिक विछोड र मानसिक तनाबका कारणले पनि मानिले आत्महत्याको बाटो रोज्ने गरेका छन् ।
‘आत्महत्याको अवस्था भयाबह बन्दै गएको छ, लागूऔषध, प्रेम सम्बन्ध, पारिवारिक झगडा तथा पीडा, सामाजिक बहिस्कार र स्वनिर्णय जस्ता कारण पनि एक हुन्’, मनोरोग विशेषज्ञ डा.मनोज ढुंगाना भन्छन्, ‘आत्मवल कमजोर हुँदा विशेषज्ञ डाक्टरकहाँ उपचार गर्न पुगे पनि आत्महत्या गर्ने मनोबलमा परिवर्तन ल्याउन सकिन्छ । यसका लागि सरकार र शिक्षित वर्गले जागरण अभियान चलाउन जरुरी छ ।’
उनले बिलासिताका सामाग्रीहरु बढ्दै जानु तर बेरोजगारीका कारण ती आपूर्ति गर्न नसक्दा पनि आत्महत्या हुने गरेको बताए । सानै उमेरमा प्रेम गर्ने, अन्तरजातीय विवाह, महिला तथा घरेलु हिंसाको घटना, युवाहरुमा बेरोजगारी समस्या, बढ्दो प्रविधिसँगै आएको विकृतीले पनि आत्महत्याका घटनाहरु बढ्दै गएको प्रहरीको भनाई छ । युवाहरुलाई रोजगार बनाउने, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड्न सके न्यूनीकरण गर्न सकिने विशेषज्ञहरु बताउँछन् । मनोरोग विशेषज्ञ डा.ढुंगानाले भने, ‘थकान, निराशा, अनावश्यक तनाव, पुराना कुराहरुप्रति वितृष्णा, एक्लै बस्न खोज्ने जस्ता किसिमका लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ, यसो भएमा मनोबलमा परिवर्तन आउँछ र घटनामा कमी हुँदै जान्छ ।’
आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण कार्य भए पनि मानिसले तत्कालै र दीर्घकालीनरुपमा आइपर्ने दुःख र निरासाको क्षण धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल पनि बितेर जाने र यसले आफ्नो आत्महत्याको सोचमा पुनर्विचार गर्न मद्दत पुग्ने ढुंगाना बताउँछन् । ‘थोरै समयमा आफूले गरेको धैर्यतामा अरुबाट थप सहयोग प्राप्त हुनसक्छ, यसले आत्महत्या गर्ने अवस्थामा पुगेको जो कोहीको पनि जीवन जोगिन सक्छ । त्यसैले धैर्य गर्ने बानी बसालौं, आत्महत्याका लक्षण देखिएकाहरुलाई सहयोग र परामर्स दिऔं । मर्नु त एकपल्टै छँदैछ तर अनाहकमा जीवन खेर नफालौं’, मनोरोग विशेषज्ञ डा.ढुंगानाले भने ।
उनका अनुसार पछिल्लो समय मानिसको मृत्युमध्ये आत्महत्या दोस्रो स्थानमा पर्छ । हरेक दिन २० जना मानिसकले आत्महत्या गरिरहेका छन् । ‘यो चिन्ताको विषय हो’, उनले भने, ‘सरकारी तहबाट यो विषयलाई गम्भीररुपमा लिएर रोकथाममा लाग्नुपर्छ ।’









लेखकको सम्वन्धमा