प्रधानमन्त्री र प्रकृतिका बुवाबीच फोनमा कुराकानी, सुनिलले भने– अब यस्ता घटना नहोस् भनेर राज्यले पहल गरोस्



भैरहवा– भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा मृत फेला परेकी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८, बैंक कोलोनीकी प्रकृति लम्सालका परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन सम्वाद गरेका छन् ।
भारतको प्रयागराजस्थित महाकुम्भ मेला पुगेर काठमाडौं फर्किने क्रममा एमाले नेता महेश बस्नेत भैरहवास्थित प्रकृतिको घरमा पुगेका थिए । सोमबार करिब १ बजे प्रकृतिको घरमा पुगेका बस्नेतले त्यहीबाट प्रधानमन्त्री ओलीलाई फोन गरेर प्रकृतिका बुवासँग कुरा गराएको हुन् ।
प्रकृतिका बुवा सुनिल लम्सालले आफूले प्रधनमन्त्रीसँग कुराकानी गरेको जनाए । ‘आफूले छोरी गुमाइसकेको तर अब त्यहाँ अध्ययनरत नेपाली र कुनै पनि देशका विद्यार्थीलाई यस्तो नहोस् भनेर यसबारे पहल गर्न मैले प्रधानमन्त्रीलाई भनेको छु’, उनले पब्लिक कुरासँग भने । कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले प्रकृतिका आमा–बुवालाई सान्त्वना दिँदै घटनाबाट आफूलाई निकै दुःख लागेको जनाएका छन् ।
प्रधानमन्त्रीले प्रकृतिको परिवारसँग कुराकानी गरेको भिडियो क्लिप नेता बस्नेतले मंगलबार बिहान आफ्नो फेसबुक पेजमा राखेका छन् । कुराकानीका क्रममा प्रधानमन्त्रीले लम्साल परिवारलाई सम्हालिन आग्रह गर्दै भनेका छन्, ‘भइसकेको कुरा फर्काउन सकिँदैन, नहुने कुरा भइसक्यो ।’
प्रधानमन्त्री ओलीले सुरुमा क्याम्पसको पछिल्लो अवस्थाबारे सोधेका थिए । प्रकृतिका बुवा सुनिलले क्याम्पसतिरको स्थितिबारे जानकारी नभएको बताउँछन् । उनले प्रकृतिको मृत्युको अनुसन्धान भने भइरहेको जानकारी पाएको बताए । पोष्टमार्टम रिपोर्ट आइसकेको र फरेन्सिक जाँचको प्रगति थाहा भने नभएको उनले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् ।
संवादका क्रममा प्रकृतिका बुवा सुनिलले भनेका छन्, ‘आगामी दिनमा यस्ता घटना नहोस् भनेर राज्यले पहल गरिदिनुपर्छ ।’ त्यसपछि प्रधानमन्त्री ओलीले घटनालाई चासोपूर्वक हेरिरहेको बताए । ‘हामीले चासो दिएका छौं सुरुदेखि नै । सार्वजनिक रुपमा पनि चासो दिएका छौं,’ ओलीले भनेका छन् ।
प्रधानमन्त्री ओलीले त्यस घटनाबारे निष्पक्ष छानबिनसहित र दोषीलाई कारबाही पनि हुने विश्वास व्यक्त गरेका छन् । प्रकृतिको घरमा पुगेका बस्नेतले पनि घटनाबारे प्रधानमन्त्रीले नै चासो दिएको जनाउँदै निष्पक्ष छानविनमा सरकारले पहल गरिरहेको जानकारी गराएको सुनिलले जनाए । ‘तपाईंहरुलाई परेको पीडाले हामीलाई पनि दुखी बनाएको छ’, महेशको भनाई उद्धत गर्दै लम्सालले भने, ‘यसमा सरकारले सबै किसिमका पहल गर्छ । प्रकृतिलाई न्याय दिन सबै पहल भएका छन् र आउँदा दिनमा पनि हुन्छन् ।’








प्रतिकृया दिनुहोस्