प्रकृति लम्साललाई न्याय माग, भैरहवामा निकालियो र्याली


भैरहवा– भारतमा मृत्यु भएकी भैरहवाकी विद्यार्थी प्रकृति लम्साललाई न्याय दिनुपर्ने मागसहित भैरहवामा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ । शुक्रबार सिद्धार्थ संजाल, रुपन्देहीको आह्वानमा र्यालीसहित प्रदर्शन गरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत २० वर्षीया लम्साल गत आइतबार त्यहाँको होस्टेलमा मृत भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद भएको भैरहवाबासीको भनाई छ ।
भैरहवाको देवकोटा चोकमा जम्मा भएका स्थानीय बासिन्दा र उद्योगी व्यवसायीहरुले बैंकरोड, मिलनचोक हुँदै जिल्ला प्रशासनसम्म र्याली निकालेका थिए । उनीहरुले दुई देशबीचको सम्बन्ध प्रघाढ बनाउनु पर्ने तर प्रकृतिलाई न्याय दिनुपर्ने माग गरे । व्यवसायी विजय पाण्डेले कुनै पनि बहानामा अनुसन्धान प्रभावित हुन नहुने जनाउँदै त्यसका लागि नेपाल सरकारले पहल गर्नुपर्ने माग गरे । ‘जसरी पनि प्रकृतिलाई न्याय दिनुपर्छ, दोषीलाई कडा कारबाही हुनुपर्छ’, उनले भने ।
प्रकृतिको न्याय माग्दै जिल्ला प्रशसन पुगेका उनीहरुले दुई देशको सम्बन्ध प्रघाढ पारौं, दोषीउपर कारबाही गर, केआईआईटी विश्वविद्यलयमाथि छानविन गर, पीडित परिवारलाई क्षतिपूर्ति देउ, नेपाली विद्यार्थीलाई शान्तिपूर्णरुपमा पढ्ने ब्यवस्था गर, मानव अधिकारको सम्मान गर लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।

र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै सरकारले प्रकृतिको न्यायका लागि विशेष पहल गर्नुपर्ने माग गरे । प्रमुख जिल्ला अधिकारी घिमिरेले घटना घटेको जानकारी पाउँदावित्तिकै सरकारले पहल गरेको, आरोपी व्यक्ति पक्राउ परिसकेको जनाउँदै स्थानीयको चासो र चिन्ता सकारात्मक भएको जनाए । उनले न्यायका लागि सरकारले निरन्तर पहल गरेको र अब पनि गरिरहने जनाए ।
प्रकृतिलाई उनी अध्ययनरत कलेजका युवक भारतका अड्विक श्रीवास्तवले मानसिक यातना दिएको र त्यही कारण उनले मृत्युको बाटो रोजेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसमा कलेज प्रशासनको पनि बेवास्ता रहेको जनाइएको छ । श्रीवास्तव अहिले भारतीय प्रहरीको हिरासतमा छन् । प्रकृतिको पार्थिव शरीर बुधबार राति गृहजिल्ला रुपन्देही ल्याएर राति नै अन्त्येष्टि गरिएको थियो । उनी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८, बैंक कोलोनी निबासी हुन् ।
शान्तिपूर्ण विरोध र्यालीमा उद्योग व्यापार संगठन, सिद्धार्थ होटल संघ नेपाल, जेसीआई सिद्धार्थ नेपाल, जेसीआई सिद्धार्थ लेडी नेपाल लगायत दर्जन संघसंस्थाका साथै स्थानीय बासिन्दा सहभागी भएको सिद्धार्थ संजालका अध्यक्ष अनिलकुमार ज्ञवालीले जानकारी दिए ।









प्रतिकृया दिनुहोस्