भैरहवाकाे स्वर्गद्वारीघाटमा प्रकृतिकाे अन्त्येष्टि



भैरहवा- भारतमा मृत्यु भएकी भैरहवाकी विद्यार्थी प्रकृति लम्सालको गृहजिल्ला रुपन्देही ल्याएर अन्त्येष्टि गरिएको छ । उनको शव गएराति ११ बजे सिद्धार्थननगर नगरपालिका-८ स्थित बैंककोलोनी घरमा ल्याइएको थियो । त्यसपछि स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिएको हाे ।
भारतकाे ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत उनकाे त्यहाँ मृत्यु भएको थियाे । उनकाे दाहासंस्कार गरिसक्दा विहीबार बिहान करिब पाँच बजेको थियो । लम्साललाई उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका छन् । देवनाथ ७६ वर्षका छन् ।
प्रकृतिको अन्त्येष्टिमा सयाैं स्थानीय सहभागी भएका थिए । सुरक्षा अधिकारीहरु, उद्योगी-व्यवसायी, स्थानीय तहका जनप्रतिनिधिहरुकाे सहघागिता थियाे । प्रकृतिकाे शव घरमा ल्याउँदा आफन्त र त्यहाँ उपस्थित स्थानीय भावबिह्वल भएका थिए ।
पारिवारिक स्राेतका अनुसार प्रकृतिको शव बुधबार ओडिसाबाट गोरखपुरसम्म हवाईजहाजमा र गोरखपुरबाट घरसम्म गाडीमा ल्याइएको थियो ।
ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
सोही कलेजमा अध्ययनरत भारतकै विद्यार्थी अड्विक श्रीवास्तवले दिने गरेको मानसिक यातनामा कजेल प्रशासन मौन रहनु प्रकृतिको मृत्युको कारण भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
प्रकृतिका आफन्त सिद्धान्त सिग्देलले कलेज प्रशासनलाई अड्विक श्रीवास्तवले पटकपटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित दुई पटक उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएको बताएका छन् । रुपन्देही प्रहरीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले राति अन्त्येष्टि गरिएको र अहिले यहाँको स्थिति नर्मल रहेको जनाए ।








प्रतिकृया दिनुहोस्