सम्राट अशोकले गाडेको लुम्बिनी इतिहासको जग



लुम्बिनी– ईसा पूर्वको तेस्रो शताब्दीमा सम्राट अशोकले आफ्ना गुरु उपगुप्तसँगै लुम्बिनी यात्रा गरे । उपगुप्तले बुद्धकी आमाले शिशु जन्माउँदा हाँगा समाएको रुख अशोक सम्राटलाई देखाए । त्यही यात्राको सम्झनामा अशोकले धर्म सन्देश सहितको स्मारक राखे । त्यसपछि लामो समय विस्मृतिमा रहेको लुम्बिनी क्षेत्र र अशोक स्तम्भ डा. एए फयुहरर र खडगशम्शेरले १ डिसेम्बर १८९६ मा पत्ता लगाए । सन् १९५६ मा स्वर्गिय राजा महेन्द्रले सडक, विहार र धर्मशाला बनाएर विकासको थालनी गरे ।
यसैक्रममा सन् १९६७ मा संयुक्त राष्ट्र संघका महासचिब उत्थान्तले लुम्बिनी भ्रमण गरेका थिए । यस्तो महत्वपूर्ण स्थलको दयनीय अवस्था देखेर महासचिव उत्थान्तले लुम्बिनीको विकासलाई अन्तर्राष्ट्रिय बहसमा ल्याएको मानिन्छ । उनकै पहलमा सन् १९७० मा संयुक्त राष्ट्रसंघको आह्वानमा लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति बन्यो । त्यसै वर्ष जापानी वास्तुकलाविद् केन्जो टाङ्गेलाई लुम्बिनीको गुरुयोजना बनाउन नियुक्त गरियो । १९७८ मा नेपाल सरकारले टाङ्गेले बनाएको गुरुयोजना स्विकृत गर्यो । गुरुयोजना अनुसार बिकासका लागि तीन किमि लामो र एक किमि चौडा क्षेत्र छुट्याए ।
गुरुयोजनालाई मूर्तरुप दिन सन १९८५ मा लुम्बिनी विकास कोष गठन भयो । सन् १९९३ देखि लुम्बिनी क्षेत्रमा विभिन्न मुलुकका विहार–मन्दिर निर्माण थालियो । त्यसपछि विकासको कामहरु देखिन थाल्यो । सन् १९९७ मा लुम्बिनी विश्व सम्पदामा सुचिकृत भएको थियो ।
बोधीज्ञान प्राप्त गरेपछि बुद्धको नामले चिनिएका सिद्धार्थ गौतम यही लुम्बिनीमा जन्मेका थिए । बोधगायमा ज्ञान प्राप्त गरेपछि उनले ४५ वर्षसम्म दुःखबाट छुटकारा पाउने धर्मदेशना गरे । महापरिनिर्वाण गर्नु अघि उनले आफ्नो शिष्य आनन्दलाई भने– यस्ता ४ ठाउँ छन्, जहाँको दर्शन गर्नु निष्ठावान आवश्यक ठान्छन् । लुम्बिनी, जहाँ तथागत जन्मे, बोधगया जहाँ तथागतले बोधी ज्ञान प्राप्त गरे । सारनाथ जहाँ तथागतले धर्मचक्र प्रवर्तन गरे र कुशीनगर जहाँ महपरिनिर्वाण प्रवेश गरे । यस्तो पवित्र तीथस्थलको यात्रामा निस्केको कुनै श्रद्धालुको मृत्यु भए त्यस्ले स्वर्गलोकमा जन्म लिनेछ भनेर आनन्द शिष्यलाई भनेका थिए ।
इसापूर्वको दोस्रो शताब्दी सम्राट अशोकको कालमा बौद्ध धर्मले विश्वव्यापी प्रचारको मौका पायो । त्यसपछिका समयमा बौद्ध दर्शन विश्वका धेरै मुलुकमा पुग्यो । महायान, थेरबादसहित बज्रयान र हिमालयन बौद्ध समुदायसहितका सम्प्रदाय निर्माण भए । विभिन्न मुलकका फरकफरक बौद्ध संस्कृति छन् । आ–आफ्नै कला छन् । धर्मदेशना, ध्यान, प्रवज्या र परित्रान पाठको आफ्नै संस्कृति छ । अहिलेका अध्येता विविधतायुक्त संस्कृतिको अध्ययन गर्न धेरै ठाउँ जान पर्दैन् । लुम्बिनी आए पुग्छ । एउटै थलोमा विभिन्न बौद्ध देश र बौद्ध धर्म संस्कृति मान्ने मुलुकको संस्कृति बुझ्न सकिन्छ । त्यही भएर यसलाई मिनी बुद्ध वल्र्ड भनिएको हो । ‘लुम्बिनी सानो बौद्ध विश्व नै हो,’ लुम्बिनी विकास कोष सदस्य सचिब सानुराजा शाक्यले भने, ‘धेरैलाई यो कुरा थाहा छैन् । यो कुरा राम्ररी बाहिर ल्याउन सकियो भने लुम्बिनी विश्वकै उत्कृष्ट पर्यटकीय गन्तब्य बन्छ ।’ बौद्ध अध्येता, विद्वान, बौद्ध धर्मावलम्बी उपासक उपासिका र दर्शनार्थीका आस्थाको केन्द्र हुन्छ । विश्व शान्तिको मुहान स्थापित हुन्छ ।
मोनाष्ट्रीले मनमोहक
गुरुयोजना अनुसार लुम्बिनीलाई उत्तर दक्षिण केन्द्रित तीन वर्गमाईल क्षेत्र तीन वटा बराबर पाटामा विभाजन गरिएको छ । यसको दक्षिण पवित्र उद्यान, बीचमा विहार गुम्बा क्षेत्र र उत्तरी क्षेत्रमा नयाँ लुम्बिनी ग्राम रहेको छ । यहाँ रहेका विहार र मन्दिर अहिले मुख्य आकर्षण बनेका छन् । यसको पश्चिम महायाना क्षेत्रमा रहेको द ग्रेट लोटस स्तुपा आकर्षक छ । तारा फाउण्डेसन जर्मनीले बनाएको स्तुपामा सरसफाई, हरियाली, फूल र शान्तिको वातावरणले सबै बुद्धशिक्षा प्रति श्रद्धा गर्दै नतमस्तक हुन्छन् । त्यहाँ बुद्धको जीवन प्रतिकारात्मक मूर्ति मार्फत प्रर्दशन गरिएको छ ।
बुद्धको गर्भ प्रवेशदेखि महापरिनिर्वाणसम्म देख्न पाइन्छ । तिब्बती परम्परा, कला र पेन्टिङको समिश्रण गजबले देख्न पाईन्छ । नेपालले बनाएको युनाइटेड टुङगाराम विहारको पनि उस्तै आकर्षक देखिन्छ । यो विहार ताईवानीको सहयोगमा नेपाली संस्थाले बनाएको हो । अर्को आकर्षक विहार चीनको जोङहुवा बौद्ध मोनाष्ट्री छ । छिङ्ताव शैलीमा राजदरबार जस्तो डिजाईमा बनाइएको छ । त्यहाँ पुग्दा चीनको कला संस्कृति र परम्परा जीवन्त देख्न सकिन्छ । ‘हामी नेपालीलाई करुणामैंत्री, सद्भाव र मित्रताको अनुभूति गराउन चाहन्र्छौ’, मोनाष्ट्री प्रमुख गुरु सु चुङयुङले भने, ‘त्यसैको प्रतिबिम्ब यहाँ मोनास्टी देख्न सक्छौं ।’ यहीबाट हामी बुद्धको पंचशिल फैलाउँछौं ।’ त्यस्तै भियतनामी विहार उत्तिकै मनमोहक छ । ढलान गरेर पहाड बनाइएको छ ।

भियतनामी परम्परामा बनाइएको मन्दिर दर्शन गर्न जाँदा पहाड चढेको अनूभूति हुन्छ । बुद्ध जीवनीसँग संबद्ध भित्तेचित्रहरु कलात्मक ढाँचामा छन् । अष्ट्रियाको गेडेन र फ्रान्सको लिनसन टेम्पल पनि हेर्न लायक छन् । त्यस्तै दक्षिण कोरिया, जापान, क्यानाडा र सिंगापुर विहार पनि मनछुने खालका छन् । त्यही रहेको बज्रयान विहारमा पनि गजबको कला देखिन्छ । नेपाल मण्डलको वास्तुकला झल्किने बज्रयान विहार निर्माण गरिएको छ । यो विदेशी सहयोग नलिई नेपाली नागरिकबाट सानोतिनो रकम संकलन गर्दै बनाइएको हो । बज्रयान बौद्ध धर्मावलम्बीमा वर्षमा एक पटक ‘पञ्जरा’ भनेर दान लिने र दिने चलन छ । त्यसरी संकलन गरिएको त्यो दानबाट विहार निर्माण गरिएको हो ।
पूर्वी क्षेत्रको थेरबादी संप्रदायका विहार पनि मनछुने छन् । रोयल थाई मोनाष्ट्री अहिले पर्यटकका लागि मुख्य गन्तव्य बनेको छ । थाइल्याण्डको रोयल आर्किटेक्ट कला र शैलीमा विहार जीवन्तता दिइएको छ । मन्दिरको टुप्पोमा हिमाल जस्तो चुचुरो बनाई हिमालको देश भनेर चिनिने नेपालसँग प्रगाढ सम्बन्ध मन्दिरमै झल्काइएको छ । त्यस्तै मन्दिरमा हिमाल जस्तै टल्कने देखियोेस् भनेर सेतो रंग लगाएर आकर्षण थपिएकोे छ । कम्बोडियन विहार पनि उस्तै मनमोहक छ । त्यहाँ कम्बोडियन कला संस्कृति झल्कने गरि मोनास्ट्री बनाइएको छ ।
मोनास्ट्रीको मुख्य आकर्षण मन्दिर भित्र पिपलको रुखमुनि ध्यानमग्न भगवान गौतम बुद्धको मुर्ति रहेको छ । रुख कृत्रिम रुपमा बनाइए पनि दुरुस्तै उतारिएको छ । मन्दिर चढ्ने ४ वटा खुटकिलो सिंढीका दुबै तिर लामो घुमाउरो ड्रयागन बनाइएको छ । निक्कै मसिनो रुपमा कुँदिएको कलाकृति हेर्दै माथी चढेपछि मन्दिर प्रवेश द्वार छ । चारैतिरको मन्दिर प्रवेशको मुख्य प्रवेश द्वारमा दाँया बाँया सुन्दर सुन्दरीको चित्र छ । स्वागत गर्न तम्तयार अवस्थामा रहेको सुन्दरीका तस्विरलाई काठमा कुदेर देखाइएको छ । मन्दिरका भित्र र बाहिर भित्तामा पनि बुद्धको जीवनसँग संबन्धित चित्र, पेन्टिङ र थान्काहरु बनाइएको छ । महायानी सम्प्रदायका बौद्ध अनुयाईले ड्रयागन प्रति विषेश आस्था र विश्वास राख्छन् । त्यस्तै आकर्षक म्यानमारको गोल्डेन टेम्पल छ । सुनौलो रंगमा गजबको चैत्य बनाइएको छ । त्यहाँ पुग्दा राजधानी याङगुन पुगेको अनुभूति हुन्छ । त्यस्तै श्रीलंकन महाविहार पनि उत्तिकै आकर्षक छ । त्यहाँ पत्रिव बोधी बृक्षमुनीमा रहेको बुद्ध प्रतिमाले आस्था र पवित्रता बढाएकोे छ । महाबोधी समाज कलकत्ता, बोधी ईन्स्चियूट र अन्तर्राष्ट्रिय गौतमी भिख्खुनी मन्दिरले पनि आकर्षण थपेका छन् ।
यहाँ निर्माण गरिएका विभिन्न सृजनाले शान्तिको प्रतिकात्मक अर्थ दिएका छन् । निप्पोजान म्याहोजी जापानले नव लुम्बिनी ग्राममा विश्व शान्ति स्तुप बनाएकोछ । स्तुप ४१ दशमलब ५ मिटर अग्लो र २० मिटर गोलाईको रहेको छ । त्यस्तै स्तुपको आधार स्तम्ब ५९ मिटर गोलाइको रहेको छ । ९ सय मेट्रिक टन सिमेन्ट लागेको उक्त स्तुपमा २७ हजार स्क्बायर फुट मार्बल प्रयोग गरिएको छ । स्तुपको गर्भ र गजुरमा भगबान गौतम बुद्ध पवित्र अस्तुधातु प्रतिस्थापन गरिएको छ । यहाँ स्थापित ४ मूर्तिहरुले शाक्यमुनिको जन्म, संबोधी, पहिलो देशना र महापरिनिर्वाण जस्ता बुद्धजीवनीका ४ घटना व्यक्त गर्छन् । लुम्बिनी मै विश्वभरि अमनचयनको सन्देश प्रवाहित गर्दै ३५ वर्षदेखि शान्ति ज्योति अनवरत बलिरहेकोछ । पवित्र उद्यानको उत्तर तर्फ केन्द्रिय कडीको दक्षिण पुछारमा ज्योतिले शान्ति फैलाईरहेकोछ । संयुक्त राष्ट्र संघले सन् १९८६ लाई शान्ति वर्ष उत्सव मनाएको थियो ।

त्यसैबेला खेलाडीहरुले ५४ मुलुक घुमाउँदै ल्याएको राकोबाट उक्त ज्योति जलाइएको हो । त्यस्तै शान्ति ज्योति भएको ठाउबाट करिब २५ मिटर पुर्व ठूलो शान्ति घण्ट छ । घण्टमा शान्तिका लागि हजारौं बौद्ध सुत्रहरु कुदिएका छन् । सन् २००५, मे २३ तारिकमा उक्त घण्ट स्थापना गरिएको हो । यी ३ वटै शान्तिका प्रतिकले विश्वलाई नै शान्तिको सन्देश फरक तरिकाले फैलाइरहेका छन् ।
कोष अवधारणा र संरक्षक
भगवान् गौतम बुुद्धको जन्मस्थल लुम्बिनी तथा वहाँको जीवनीसँग प्रत्यक्ष वा परोक्ष रुपमा सम्बन्ध रहन गएका तिलौराकोट (प्राचिन कपिलवस्तु) गोटिहवा, निग्लीहवा, सग्रहवा, सिसनिया, अरौराकोट, कुदान, (कपिलवस्तु) देवदह(रुपन्देही) रामग्राम (पश्चिम नवलपरासी) समेतका क्षेत्रहरु र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका अन्य क्षेत्रहरु लुम्बिनी विकासका क्षेत्रभित्र पर्दछन् । लुम्बिनी विकास कोष ऐन २०४२ अनुरुप लुम्बिनी को विकास गर्ने लक्ष्य र आदर्शलाई प्रभावकारी बनाउने नेपाल सरकारको कटिवद्धतालाई विश्व जनसमक्ष प्रस्तुत गर्न र सो अनुरुप लुम्बिनी विकास योजनालाई बढि समन्वयात्मक र सुचारुरुपले संचालन गर्न स्वशासित संस्थाको रुपमा तत्कालीन श्री ५ महाराजाधिराजको संरक्षकत्वमा लुम्बिनी विकास कोषको व्यवस्था गरेको थियो । देशमा लोकतन्त्र बहाली भएपछि सम्माननीय प्रधानमन्त्री कोषको संरक्षक रहने व्यवस्था रहेको छ ।








प्रतिकृया दिनुहोस्