November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

राष्ट्रियता र स्वाधिनतासँग जोडिएको पाल्पाको भगवती जात्रा

Advertisement

पाल्पा– नेपालकै राष्ट्रियता र स्वाधिनतासँग जोडिएको पाल्पाको भगवती जात्रा निकालिँदैछ । अंग्रेज फौज माथि नेपाली सेनाले बिजय प्राप्त गरेको खुसियालीमा प्रत्येक वर्ष भगवती जात्रा निकाल्ने गरिन्छ । गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज वीरताको प्रतीकको रूपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा मनाउने प्रचलन छ ।

Advertisement

मंगलबार मध्यान्न रथ निकालिने छ। श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अनुसार बाजागाजा, भजनकृतनसहित रथयात्रा निकालिँदैछ। रथयात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत विशिष्ट पाहुना सहभागी हुँदैछन्। उनीहरुले माता भगवती मन्दिरमा पुजाआजा पछि रथयात्रामा पुजा गर्नेछन् ।

रथयात्रा नगर परिक्रमा गराइनेछ। नगरपरिक्रमा पछि भगवती मन्दिरमा ल्याइने छ । नेपालीसेनाले रथलाई सलामी दिने छ । रथयात्रामा विभिन्न झाँकीसहित स्थानीय, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, संघसंस्था, विद्यार्थी, निजामती कर्मचारी लगायत सहभागी हुनेछन् । रथयात्रामा सहभागी हुन् मुलुकका विभिन्न ठाउँबाट दर्शनार्थी र श्रद्धालु पाल्ला आएका छन् ।

तत्कालीन पाल्पाली प्रशासकका रूपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं १८७१–१८७२ मा बुटवलको जितगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो । यही सम्झनामा वि.सं १८७७ देखि प्रत्येक वर्ष पाल्पामा विजय उत्सव मनाउन थालिएको हो । सोही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजनकिर्तन गर्ने र भोलिपल्ट तानसेन भगवतीटोलमा रहेको श्री ७ रणउजीरेश्वरी भगवतीको मन्दिरबाट सिन्दुरजात्रा निकाल्ने परम्परा सुरु भएको हो ।

श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार महर्जनले रथयात्राले पाल्पा र मुलुककै इतिहासलाई सम्झाउने जनाए । उनले यसलाई राष्ट्रिय पर्वकारुपमा मनाउन सरकारसँग आग्रह गरे ।

बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिरसिंह थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेअनुसार यो जात्रा मनाइन्छ । दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिरसिंह थापाले १८७२ देखि १९७६ सम्म मन्दिर निर्माण गरी भगवती जात्रा मनाउन थालिएको बताइन्छ । विजय उत्सव प्रत्येक वर्ष भदौ कृष्ण नवमीको दिन मनाइने यो ऐतिहासिक रथ यात्राले २ सय ४ वर्ष पूरा गरेको छ । यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रुपमा लिने गरिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समिति, तानसेन , पाल्पाका सचिव प्रकाशनाथ गोंगलले बताए ।

जात्रामा गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही, काठमाडौंलगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरू पाल्पा आएका छन् । भगवती जात्राका लागि मन्दिर सरसफाई र रङ्ग रोगन सजावट गरेर चिटिक्क पारिएको छ । यात्रामा डुलाउने खट् सिंगारेर नगर परिक्रमा गराइँदैछछ । स्थानीयले यसलाई आयआर्जनसँग जोेड्न पनि माग गरेका छन् ।