सिमानाका बेलहियाको हेल्थडेस्क अस्तव्यस्त



भैरहवा– भारत लगायत विदेशबाट आउने यात्रुबाट हुने संक्रामक रोग न्युनिकरण तथा नियन्त्रणका लागि रुपन्देहीको बेलहिया नाकामा संचालनमा ल्याइएको हेल्थडेस्क प्रभावकारी बन्न सकेको छैन । भौतिक पूर्वाधारसहितका संरचना, उपकरण, पर्याप्त जनशक्तिको अभाव र व्यवस्थापन फितलो भएकाले बिगत पाँच वर्षदेखि स्थायी रुपमा संचालनमा ल्याइएको उक्त हेल्थडेस्क प्रभावकारी बन्न नसकेको हो । बेलहिया–सुनौली नाका स्थलमार्ग हुँदै भारतसँगको आवत जावतमा सर्वाधिक यात्रुले प्रयोग गर्ने सिमानाका हो ।
स्वास्थ्य मन्त्रालय र विभाग भने हेल्थडेस्क संचालनमा सिमीत केही स्वास्थ्यकर्मीको भरमा छाडिदिएका छन् । नियमित अनुगमन र स्थानीय तह र बासिन्दासँग समन्वय र परामर्श गर्नेतर्फ संघ र प्रदेश सरकारले चासो देखाएका छैनन् । भारत हुँदै नेपाल आउने विभिन्न संक्रामक रोगका शंकास्पद यात्रुको सीमा नाकाका हेल्थडेस्कमैं स्वास्थ्य परीक्षण हुने गरेको र त्यस्ता बिरामीको स्क्रिनिङसहित स्वास्थ्य जाँच सिमानाकामैं गरिने भएकाले संक्रामक रोगहरु नेपाल भित्रिने जोखिम निकै कम भएको दावी मन्त्रालय र विभागको छ ।
तर, स्थलगत रुपमा सिमा नाकामैं हेर्ने हो भने हेल्थडेस्कको अवस्था अस्तव्यस्त छ । स्वास्थ्य मन्त्रालय र विभागले भनेभन्दा हेल्थडेस्कको अवस्था धेरै फरक छ । हेल्थडेस्क कुन ठाउँमा कहाँ संचालनमा छ ? कुनै अत्तोपत्तो छैन । हेल्थडेस्कको साइनबोर्ड पनि छैन । नेपाल प्रवेश गरेका यात्रुलाई कहाँ स्क्रिनिङ गर्ने ? यात्रुको स्वास्थ्य जाँच र रगत परीक्षण कहाँ गर्ने ? संक्रमित यात्रुलाई कहाँ राख्ने ? सवै प्रक्रिया भद्रगोल छ । पूर्वाधार नै छैन ।
बेलहिया हेल्थडेस्क जस्तै भद्रगोल अवस्था कपिलबस्तुको कृष्णनगर नाकाको पनि छ । सिमानाकाका हेल्थडेस्कमा कोभिड, मलेरिया, क्षयरोग र एचआइभी संक्रामक रोगको परीक्षण हुने गरेको भनाइ स्वास्थ्य मन्त्रालयको छ । कोेभिड संक्रमणका वेलामा नियन्त्रणका लागि सिमानाकामा कोभिड परीक्षण सुरु गरिएसँगै बेलहियासहितका मुलुकको प्रमुख नाकाहरुमा २०७७ देखि कोभिडसहितका अन्य संक्रामक रोग नियन्त्रणका लागि स्थायीरुपमा हेल्थडेस्क संचालनमा ल्याएको हो ।
‘हेल्थडेस्कका लागि आवश्यक पर्ने जनशक्ति, उपकरण र भौतिक पूर्वाधारको अभावले संचालन गर्न निकै कठिनाइ छ’, बेलहिया हेल्थडेस्कका इन्चार्ज लालमोहन चौधरीले भने, ‘यात्रुलाई स्क्रिनिङ गर्ने स्थान व्यवस्थित नहुँदा स्वास्थ्यकर्मीले बर्षा र गर्मीको वेलामा धेरै सास्ती बेहोर्नु परेको छ । रगत परीक्षण गर्ने स्थान समेत नहुँदा झोलामैं किट बोकेर सडकमैं उभिएर जाँच्नु पर्ने बाध्यता छ ।’
चौधरीका अनुसार, दैनिक आवतजावत गर्ने बाहेक धेरै दिनसम्म भारततर्फ बसेर नेपाल आउने यात्रुलाई सिमानाकामा संक्रामक रोगका वारेमा सोधपुछ र स्क्रिनिङ गर्ने गरिएको छ । आवश्यकता अनुरुपको जनशक्ति नभएकाले नाकामा २४ सै घण्टा स्वास्थ्य जाँच हुन सकेको छैन । प्रयोगशाला कक्ष नभएकाले किट र अन्य स्वास्थ्य उपकरणसहितको झोला कर्मचारीले घरबाटै बोकेर नाकामा ल्याउँछन् । फर्किदा सँगै लैजान्छन् । किटको अभावले बिगत छ महिनादेखि कोभिडको परीक्षण अवरुद्ध हुन पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा.प्रकाश बुढाथोकीले बेलहियासहित भारतसँग जोडिएका १६ वटा सिमानाकामा हेल्थडेस्क संचालनमा रहेको बताए । तीन–चार वटा महत्वपूर्ण नाकामा २४ सै घण्टा र अन्य नाकामा बिहान ८ देखि राती ८ बजेसम्म संचालन गर्ने गरि जनशक्ति खटाइएको पनि उनले जनाए ।
बिदशेबाट नेपाल आउने यात्रुबाट विभिन्न संक्रामक रोग र नेपालमा उन्मुलन भैसकेका संक्रामक रोग नेपालमा भित्रिन नदिने गरि सिमानाकामा हेल्थडेस्क संचालन गरिएको उनले बताए । ‘संक्रामक रोगहरुको परीक्षणका लागि आवश्यक पर्ने किटहरु माग गरे अनुरुप उपलब्ध गराइएको छ’, उनको भनाइ थियो ।
सिमानाकामा अपनाइनु पर्ने अन्तर्राष्ट्रिय मापदण्डलाई पुरा गर्नका लागि हेल्थडेस्क संचालनमा ल्याएको घोषणा गरेको सरकारले आवश्यकता अनुरुपको जनशक्ति, उपकरण र अन्य भौतिक पूर्वाधार उपलब्ध गराउनेतर्फ चासो नदिँदा बेलहियाको हेल्थडेस्क नाम मामात्रै सिमीत हुन पुगेको छ ।
बेलहिया नाकाको हेल्थडेस्कको निगरानी कक्ष प्रायः खाली रहन्छ । स्वास्थ्यकर्मी लगायतका सरोकारवाला व्यक्ति कतिखेर आउँछन् र बिरामी यात्रुको पहिचान तथा स्वास्थ्य जाँच गर्छन् ? कुनै नियमितता हुँदैन । दशगजा सिमानामैं रहेको निगरानी कक्षमा स्वास्थ्यकर्मीको सट्टा हेल्थडेस्कसँग असम्बन्धित व्यक्ति तथा समूहको अड्डा बनेको हुन्छ । कसैलाई पनि रोकेर सोधपुछ गरिँदैन । कुनै पनि पर्यटकको स्वास्थ्य चेकजाँच हुँदैन । शंकास्पद बिरामीको स्वास्थ्य चेकजाँच र स्क्रिनिङको काम औपचारिकतामा सिमीत हुने गरेको छ ।
हेल्थडेस्कका इन्चार्ज चौधरीले बिहानमा निगरानी कक्षमा स्वास्थ्यकर्मीको टोली पुगेर भारतको टाढाटाढादेखि आएका नेपाली यात्रुलाई चेकजाँच गर्ने गरिएको र ११ बजेपछि टेन्टले वारिएको निगरानी कक्षमा गर्मी हुने गरेको बताए । ‘हेल्थडेस्कमा सहज तरिकाले काम गर्ने खालको संरचनाहरु केही पनि छैनन्’, उनले भने, ‘किट लगायतका उपकरण सकिएकाले परीक्षण कार्य अवरुद्ध हुन पुगेको जानकारी हामीले वारम्बार सम्बन्धित निकायमा गराए तापनि उपलब्ध भएको छैन ।’
सिमानाकाका हेल्थडेस्कको अनुगमन लगायतको व्यवस्थापन प्रदेश स्वास्थ्य निर्देशनालयको जिम्मामा छ । पहिला बेलहियामा रहेको अध्यागमन कार्यालयको भवनमा प्रयोगशाला संचालन गरिएको थियो । अध्यागमन कार्यालय अगाडि खाली स्थानमा टेन्ट गाडेर परीक्षण गरिएका यात्रुको बिश्राम कक्ष बनाइएको थियो । सडक बिस्तारका क्रममा ति संरचना तथा पूर्वाधार भत्काइएपछि बेलहिया नाकाको हेल्थडेस्क प्रयोगशाला र बिश्राम कक्षबिहीन हुन पुगेको हो ।
सिद्धार्थनगर नगरपालिकाले हेल्थडेस्कका लागि सिमा नाकामा आफ्नो स्वामित्वमा रहेको एउटा कोठा उपलब्ध गराएको त छ । तर, त्यो कोठमा बत्तिको राम्रो प्रबन्ध नभएकाले न एयरकन्डिशन चल्छ न त कम्प्युटर नै । भवन निर्माणका लागि जग्गा उपलब्ध हुन नसकेकाले स्थायी हेल्थडेस्क भवन निर्माणका लागि उपलब्ध गराइएको करिव ५० लाख बजेट बिगत दुई बर्षदेखि फ्रिज हुँदै आएको छ ।

मन्त्रालयका प्रबक्ता बुढाथोकीले बेलहिया हेल्थडेस्कमा भौतिक पूर्वाधारको अभावले काम प्रभावित हुने गरेको जानकारी आफू समक्ष नआएको बताए । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वस्थ्य निर्देशक डा.बिनोदकुमार गिरी भौतिक पूर्वाधार र अन्य संरचना अभावका कारण बेलहियाको हेल्थडेस्क प्रभावकारी रुपमा संचालनमा आउन नसकेको बताउँछन् । ‘भौतिक पूर्वाधार लगायतका संरचना नभएकाले बेलहिया हेल्थडेस्क व्यवस्थित हुन नसकेकाले सामान्य रुपमा काम भैरहेको छ’, गिरीले भने । सिमा नाकामा संचालन गरिने हेल्थडेस्कका लागि आबश्यक पर्ने पूर्वाधार उपलब्ध हुन नसकेको उनले बताए ।
कपिलबस्तुको कृष्णनगर नाकामा संचालन गरिएको हेल्थडेस्क पनि पूर्वाधारको अभावले गर्दा प्रभावकारी हुन नसकेको उनले जनाए । हेल्थडेस्कमा कार्यरत सवै स्वास्थ्यकर्मीसहितका कर्मचारीको करार नियुक्तिको म्याद असारमा सकिएपछि पुनः नबिकरण भएको छैन । पुनः नियुक्ति हुने–नहुने अन्यौलताले कर्मचारी चिन्तित छन् । बेलहिया हेल्थडेस्कमा ३ जना कार्यालय सहयोगीसहित हेल्थ असिस्टेन्ट, अहेव र ल्याब असिस्टेन्टसहित १० जना कार्यरत छन् ।
प्रदेश निर्देशनलायले नियुक्ति गरेको ति कर्मचारीलाई संघदेखि तलव आउने हो । ‘गत आवमा आठ महिनासम्म बिना नियुक्ति काम गर्न बाध्य भइयो । दुई महिना बिना तलव काम गर्नु पर्यो’, नाम उल्लेख नगर्न आग्रह गर्दै एक कर्मचारीले भने, ‘अहिले पनि अवको नियुक्ति के हुने ? भन्ने अन्यौलताले राम्ररी काम गर्ने मनस्थिति कर्मचारीमा छैन ।’ गत आव २०८०–०८१ मा यस नाकामा ७ हजार २ सय ७७ जनामा कोभिड परीक्षण गर्दा ५ जना संक्रमित, ९ सय १२ जनामा एचआइभी परीक्षण गर्दा एकजना संक्रमित र १ हजार ५ सय ९५ जनामा क्षयरोगको परीक्षण गर्दा एक जना संक्रमित फेला परेका थिए ।








प्रतिकृया दिनुहोस्