June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

जिल्लाबासीको मन जितेका सिडिओ

Advertisement

भैरहवा– नागरिकलाई सहज र सरलीकृत सेवाप्रवाहमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले पछिल्लो वर्ष केही सकारात्मक काम गरेको छ । त्यति मात्रै होइन्, प्रशासन नाका व्यवस्थापनदेखि सुरक्षा अवस्थालाई मजबुत पार्ने काममा पनि अब्बल कहलिएको छ । हडपिएको सार्वजनिक सम्पत्ती फिर्ता गर्नेदेखि मृत्युको मुखमा पुगेका एक नेपाली नागरिकलाई विदेशी भूमिमा जीवनदान दिने काममा प्रशासनले काम गरेको छ । यी सबै कामको नेतृत्व भने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका छन् ।

Advertisement

प्रशंसायोग्या पहिलो कामः सँगै काम गर्ने साथीको हत्या अभियोगमा साउदी अरबमा मृत्युदण्डको मुखमा पुगेका थिए धनुषाको जनकपुर नगरपालिका–१७, का रामाआषिश यादव । पीडित परिवारसँग ब्लडमनीमा सम्झौत नभए उनलाई साउदीमा मृत्युदण्ड हुन्थ्यो । तर, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यादवको ज्यान बचाउन पीडित परिवारलाई सहमती मात्रै गराएनन् ब्लडमनीवापत आवश्यक ४६ लाख बढी रुपैयाँ जुटाउन सफल भए । यादवलाई बचाउन अर्यालको अभियानलाई भैरहवाका उद्योगी व्यवसायीले साथ दिए । यादवको ज्यान बचाउन भूमिका खेलेपछि अर्यालको मुलुक भित्र र बाहिर प्रशंसा भयो । त्यो भन्दा ठूलो कुरा विदेशी भूमिमा मृत्युको मुखमा पुगेका व्यक्ति जोगिए, श्रीमतीको सिन्दुर पुछिनबाट रोकियो भने छोराछोरी टुहुरा हुन पाएनन् ।

प्रशंसायोग्या दोस्रोे कामः नेपाल भित्रिने पर्यटकले सीमा नाकामा दुःख पाउने गरेका गुनासा धेरै छन् । यसैलाई मध्यनजर गरेर प्रजिअ अर्यालको अग्रसरतामा बेलहियामा नाकामा पर्यटक लक्षित एकीकृत सेवा सुरु भयो । सीमा नाका बेलहियामा स्थायी संरचना बनाएर एकै ठाउँमा चेकजाँचको व्यवस्था गरियो । खासगरी सवारी साधन लिएर नेपाल आउने पर्यटकहरुलाई लक्षित गरी सेवा सुरु गरिएको हो । एकीकृत विन्दुमा सवारीको सम्पूर्ण जाँचपछि चालकको नाम, ठेगाना, गाडी नम्बर, गन्तव्य लेखिएको विवरणसहितको पहेंलो कार्ड चालकलाई दिइन्छ । यस्ता सवारीले रुपन्देही जिल्लाभर सुरक्षा जाँच भइरहेको ठाउँमा अन्य कागजात नदेखाई त्यही कार्ड देखाएर गन्तव्यसम्म पुग्छन् । भन्सार, नेपाल प्रहरी, सशस्त्र र ट्राफिकले एकैठाउँबाट एकीकृत सेवा दिइरहेका छन् । यसबाट मुलुक भित्रिने पर्यटकलाई निकै सहज भएको छ ।

प्रशंसायोग्या तेस्रो कामः प्रजिअ अर्यालको पहलमा सम्भवतः मुलुकमै पहिलोपटक नेपाल–भारत सीमानाका बेलहियामा वाकथु्र मेसिन राखिएको छ । चीनमा बनेको यो मेसिन अत्याधुनिक छ । यसले दैनिक प्रयोगका वस्तुलाई डिटेक्ट गर्दैन । तर, लागूऔषध, विष्फोटक पदार्थ, सुनचाँदीलाई भने डिटेक्ट गर्छ । यसले सुरक्षालाई मजबुत पार्दै अवैध सामान भित्रन रोक्ने अपेक्षा छ । यस्तै प्रशासनको पहलमै जिल्लाको कालीदह नाकामा पनि वाकथ्रु मेसिन राखिएको छ । यति मात्रै होइन्, प्रजिअको पहल र ट्राफिकको सक्रियतामा हप्ता दिनसम्म जिल्लामा ‘मेरो सवारी, मेरो लेन’ अभियान चलाइयो ।

प्रशंसायोग्या चौथो कामः संविधानसभा सदस्य कमलेश पुरी गोस्वामीद्वारा अतिक्रमण गरिएको १५ कट्ठा जग्गा सार्वजनिक कायम गरियो । प्रजिअ अर्याल आफै पुगेर रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मा गोस्वामीले आफ्नो जग्गासँगैको १५ कट्ठा बढी जग्गा तारबार गरी अतिक्रमण गरेको पाइएपछि कानुनी प्रक्रिया पूरा गरेर सार्वजनिक कायम गरिएको हो । गोस्वामीले सार्वजनिक जग्गा तारबार गरेर अतिक्रमण गरी प्रयोग गर्दै आएको पाइएपछि उनीविरुद्ध गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी परेको थियो ।

प्रशंसायोग्या पाँचौ कामः अर्याल प्रजिअ भएर आएपछि जिल्ला प्रशासन कार्यालयमा अडियो नोटिस बोर्ड लागू गरे । यतिमात्रै होइन् दैनिक कार्यसम्पादन कार्यलाई सुधार गरे । जेष्ठ नागरिक लक्षित स्वास्थ्य परीक्षण डेस्क प्रशासनमै राखिएको छ ।

यी केही उदाहरण हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्यालले आफ्नो एक वर्षको कार्यकाल उत्कृष्ट गराए । जिल्लाबासीबाट मात्रै होइन्, गृह मन्त्रालयबाटै प्रशंसित भए । उनको असल काम गर्ने शैलीकै कारण नतिजा राम्रो आयो । यही भएरै जिल्ला प्रशासन रुपन्देही कार्यसम्पादन मूल्यांकनमा मुलुकमै उत्कृष्ट ठहरियो । ‘हामीले नागरिक सेवालाई सिरमा राखेर टिमवर्कमा काम गर्दै आएका छौं’, प्रजिअ अर्यालले भने, ‘यही कामले सार्थकता पाएको हो ।’ उनले उत्कृष्ट हुनुपर्छ भनेर भन्दा पनि सेवा सरल र चुस्त हुनुपर्छ भनेर काम गरेको जनाए ।

‘प्रशासन मुलुकमै उत्कृष्ट हुनुपर्छ भन्ने कुरालाई कहिल्यै पहिलो प्राथमिकतामा राखेनौं । हामीलाई सेवाग्राही सन्तुष्ट भए पुग्छ, कहीकतैबाट प्रशासनको काममा औँला ठडिन हुँदैन भन्ने नै हो’, उनले भने, ‘बफादार भएर काम गर्दा परिणाम आउनु स्वभाविक हो । यो खुशीको क्षण समेत हो ।’ उनले सफलताको श्रेय कर्मचारी र जिल्लाबासी र तालुक मन्त्रालयलाई दिए । ‘जिल्लाबासी जसले मलाई हरेक कुरामा सूचना दिने, सुधारका लागि सुझाव दिने गर्नुभयो’, उनले भने, ‘मेरो नेतृत्वमा मातहतका कर्मचारी साथीहरुले लगनशील भएकार काम गर्नुभयो । तालुक मन्त्रालयले गाइडलाइन दियो ।’

गृहसचिव र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकाले देशभरका ७७ जिल्लामा रुपन्देही प्रथम भएको छ । कार्यसम्पादन सम्झौता मूल्यांकनमा ९८ अंक ल्याएर रुपन्देही प्रशासन पहिलो भएको हो । प्रशासन पहिलो भएपछि रुपन्देहीमा कस्ता काम भए भन्नेबारे धेरैले चासो दिइरहेका छन् । माथि केही उदाहरण पेस भइसकेको छ ।

यसबाहेक प्रजिअ अर्यालले हदबन्दीका कारण मन्दिरलाई दिइएको जग्गा व्यक्तिको नाममा दर्ता भएपछि त्यसलाई रोक्ने काम गरे । गौतमबुद्ध विमानस्थलको धावनमार्गमा पर्ने उक्त जग्गा नाममा गराए पछि मुआब्जा लिने प्रयास भएको थियो । यसलाई अर्यालकै पहलमा रोकिएको हो । अहिले मुआब्जा वितरण रोकिएको छ । यस्तै, सिद्धार्थनगरमा रहेको मसानघाटको जग्गा व्यक्तिको नाममा गएका बारे उनले चासो देखाए । उक्त जग्गा बदर गर्न निर्देशन दिए ।

सेवाप्रवाहलाई छिटोछरितो बनाए । विगतमा जस्तो जिल्ला प्रशासनका बारे जनमानसमा गुनासा कम सुनिन्छन् । रुपन्देहीका खोलाहरुमा लाग्ने ठेक्कामा सधैं चलखेल हुन्थ्यो । यसलाई रोक्न ‘क्विक रेस्पोन्स टिम’ बनाएर काम गरे । जसले गर्दा नियमविपरीत नदी उत्खननमा प्रयोग भएका टिपर, एक्स्काभेटर, ट्याक्टर नियन्त्रणमा ल्याइयो । यसबाट लाखौं रुपैयाँ राजस्व उठ्यो ।

रुपन्देहीको शुद्धोधनमा इलाका प्रशासन कार्यालय स्थापना भयो । यसले त्यहाँका स्थानीयलाई राहत मिलेको छ । यस्तै, बुटवलमा फरक–फरक ठाउँमा रहेका मालपोत र नापी कार्यालयलाई एकीकृत गरेर एकैठाउँबाट सेवा उपलब्ध गराउन प्रजिअ अर्यालले पहल गरे । ‘यस्ता कयौं काम सिडिओसा’वको नेतृत्वमा भएका छन्’, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल भन्छन्, ‘नेतृत्वले हरेक कुरालाई सिरियस रुपमा ल्याएर सुक्ष्म ढंगले काम गर्यो भने सबै कर्मचारीले एकढिक्का भएर काम गर्छन् र सफलता मिल्छ भन्ने उदाहरण जिल्ला प्रशासन रुपन्देहीले दिएको छ ।’

नक्कली डाक्टर बनेर रुपन्देहीको मर्चवारमा शल्यक्रिया जस्ता संवेदनशील कार्य गर्नेलाई नियन्त्रणमा लिनेदेखि खाद्यवस्तुमा अखाद्यवस्तु मिसावट गर्नेसम्मलाई प्रजिअ अर्यालले कारबाहीको दायरामा ल्याए । दर्ताविनै संचालनमा रहेका कयौं फर्म कारबाहीको भागिदार बने । प्रशासनका यस्ता कामलाई धेरैले प्रशंसा गरेका छन् ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले जिल्ला प्रशासन मुलुकमै उत्कृष्ट हुनु जिल्लाबासीका लागि खुशीको कुरा भएको बताए । ‘सबै क्षेत्रसँग सहकार्य गरेर काम गर्ने प्रमुख जिल्ला अधिकारीको शैलीले नै आज यो सफलता हात लागेको हो’, श्रेष्ठले भने, ‘एउटा प्रशासकले सही ढंगले काम गरे नागरिकमा सुशासन र सहज सेवाप्रवाह अनुभूति हुँदो रहेछ भन्ने उदाहरण रुपन्देही बनेको छ ।’ उनले जिल्ला प्रशासनले पछिल्लो एक वर्षमा गरेका दर्जनौं काम मुक्तकण्ठले प्रशंसायोग्य रहेको जनाए ।

अर्याललको सेवाग्राहीसँगै जिल्लाका सबै पालिकाका जनप्रतिनिधि, प्रदेश र संघीय सांसदहरुसँग सुमधुर सम्बन्ध छ । सुरक्षा निकायमा पनि उनको काम गर्ने शैलीको प्रशंसा हुने गरेको छ । निजी क्षेत्र र सामाजिक संघसंस्थाले त उनको प्रशंसा नै गर्दै आएका छन् ।