मिलेमतोमा घाटगद्दी नगरी गिट्टी–बालुवा विक्री, तिलोत्तमाको पहुनीमा सबैभन्दा बढी बद्मासी



भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिका–६, पहुनीमा सोमबार साँझ साढे ७ बजेसम्म नदीजन्य पदार्थ उत्खनन् भइरहेको थियो । पालिकाले बिहान सूर्य उदयदेखि साँझ सूर्यास्तसम्म मात्रै नदीजन्य पदार्थ उत्खननका लागि अनुमती दिएको छ । तर, पहुनी घाटको नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएको बुटवल–१३ को प्रदीप कन्स्ट्र्क्सनले भने उत्खनन सुरु गरेयता बिहान ५ बजेदेखि राति अबेरसम्म गिटीबालुवा उत्खनन गरिरहेको छ ।
स्थानीयका अनुसार यहाँ पालिकाले नगर प्रहरी खटाएर उत्खननलाई व्यवस्थित गर्न खोजेको छ । तर, ठेकेदारको पालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र प्रहरीसँग साठगाँठ छ । जसले गर्दा नगर प्रहरीको केही चलेको छैन । ‘नगरले बढीमा तीन फिट गहिराई खन्न कार्यादेश दिएको छ तर यहाँ २० फिटसम्म उत्खनन भएको छ । यतिमात्रै होइन् समयावधि भन्दा लामो समयसम्म उत्खनन हुँदासमेत मिलेमतोमा कसैले केही गर्न सकेका छैनन’, एक स्थानीयले भने ।
ती स्थानीयका अनुसार पहुनीबाट निकालिएको गिटीबालुवा घाटगद्दी नगरी सिधै क्रसर उद्योगमा लग्ने गरिएको छ । यसबावापत ठेकेदार बुटवलका दीर्घबहादुर केसी ९कुमार०ले पाललिका र प्रहरीलाई मोटो रकम बुझाएको दावी स्थानीयको छ । यसैले खुलेयाम नदीमा मनपरी हुँदासमेत तैचुपमैचुप छन् ।
नियमन गर्ने जिम्मेवारी पाएका जनप्रतिनिधिले नै तिनाउ खोलाबाटै गिटीबालुवा विक्री गर्न थालेका छन् । नियमनको पहिलो जिम्मेवारी प्राप्त खोला आसपासका वडाका जनप्रतिनिधिले जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योगलाई नदीजन्य पदार्थ विक्री गर्न थालेपछि आलोचना भएको छ ।
स्थानीय तहले उत्खननका लागि आह्वान गरेका ठेक्काको शर्तमा उत्खननपछि अनिवार्य घाटगद्दीस्थलमा गिटीबालुवा जम्मा गर्नुपर्ने उल्लेख छ । उक्त शर्त विपरित रुपन्देहीको तिनाउ खोलामा उत्खनन गरिरहेका ठेकेदारले घाटगद्दी स्थलमा जम्मा नगरेर सिधैं क्रसर उद्योगलाई विक्री गर्ने गरेको पाइएको छ ।
स्थानीयका अनुसार तिलोत्तमामा घाटगद्दी नगरी विक्री आदेश दिइएका छ । जसले गर्दा खोलाबाटै गिटी, बालुवा विक्री भइरहेको छ । यो बेथिति मायादेवी, शुद्धोधन र सियारी गाउँपालिकामा पनि छ । तिलोत्तमा नगरपालिकाले घाटगद्दी तोकेका स्थानमा उत्खनन अनुसार गिटीबालुवा जम्मा गरिएको छैन । ठेकेदारले अनुकुल स्थानमा लगेर गिटीबालुवा डम्पिङ गर्ने गरेको स्थानीयले बताए । ‘अनुगमन फितलो छ । अनुगमनमा आएकाहरुलाई ठेकेदारले गाडीबाट नझर्दै मिलाउँछन्’, ती स्थानीयले भने, ‘गाडीबाट ओर्लेर यथार्थ जाँच्दैनन्, बार्गेनिङ गरेर फर्किन्छन् ।’ अहिले बुटवलदेखि दक्षिण मायादेवीसम्म तिनाउ खोलामा उत्खनन् भइरहेको छ ।

शुद्धोधन गाउँपालिकाले पनि ७ वटा ठेक्का लगाएको छ । त्यहाँ पनि मनपरी उत्खनन् छ । जिल्लाका दानव र तिनाउ खोलामा मायादेवी, सियारी, शुद्धोदन, तिलोत्तमा लगायत स्थानीय तहले गिटी, बालुवा उत्खननका लागि ठेक्का लगाइसकेका छन् । खोला आसपासका पालिकाको राजश्व आम्दानीको स्रोत नदीजन्य पदार्थ भएकाले प्रत्येक आर्थिक वर्षमा अन्तिम महिनामा उत्खननका लागि ठेक्का लगाउने गरिएको छ । पछिल्लोपटक मायादेवी गाउँपालिका र तिलोत्तमा नगरपालिकामा ठेक्काको शर्त विपरित उत्खनन गरेर घाटगद्दी नगर्ने समस्या देखिएको हो । त्यहाँ खोलाबाट नदीजन्य पदार्थ सिधैं क्रसरमा पुर्याउने गरेको स्थानीयले आरोप लगाउने गरेका छन् ।
जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाइँले तिलोत्तमा नगरपालिका र मायादेवी गाउँपालिकाका २–३ ठाउँबाट घाटगद्दी नगरेर गिटीबालुवा क्रसरमा विक्री गर्ने गरेको गुनासो आएको बताए । उनका अनुसार सबैभन्दा बढी लापरबाही तिलोत्तमाको पहुनी घाटमा छ । ‘नियमसंगत काम गर्न हामीले ठेकेदारलाई भनेका छौं, गुनासा आए तत्कालै अनुगमन पनि हुन्छ’, उनले भने, ‘नटेरे र लापरबाही गरे कारबाही हुन्छ ।’ प्रत्येक पालिकामा उत्खनन स्थलको सिमांकन, रेखांकन र उत्खनन स्थलमा सम्पूर्ण विवरण उल्लेख गरिएको होडिङ बोर्ड अनिवार्य गरिएको उनले बताए । गुनासो आउने वित्तिकै अनुगमनका लागि क्विक रेस्पोन्स टीम (क्यूआरटी) बनाइएको उनले बताए ।
‘सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला समन्वय अधिकारी लगायत सहभागी अनुगमन समिति बनाएका छौं,’ उनले भने, ‘पालिकामा प्रमुख र वडास्तरीय अनुगमन समिति छन् । निरन्तर अनुगमन भए पनि केही न केही बेथिति छ ।’ उत्खनन र घाटगद्दी स्थल नियमनका लागि पहिलो तहमा वडाध्यक्ष र सदस्य सहभागी अनुगमन समिति रहेको छ । वडा समितिले मुचुल्का गरेपछि मात्रै उत्खनन गर्न पाइने पालिकाले जनाएका छन् । त्यसपछि दोस्रो तहमा नगर–गाउँ पालिकास्तरीय अनुगमन समिति छन् । तेस्रो तहमा मात्रै जिल्ला स्तरीय समिति रहेको जिल्ला समन्वय प्रमुख चपाइँले बताए । ‘नदीजन्य पदार्थ उत्खनन र व्यवस्थित गर्ने ठूलो जिम्मेवारी सम्बन्धित पालिकाको नै हो,’ उनले भने, ‘हामीले पालिकालाई सघाउने गरेर अनुगमन गरिरहेका छौं ।’








प्रतिकृया दिनुहोस्