३६ वर्षदेखि सिंचाई सपना अधुरै



प्यूठान– रोल्पाबाट नहर बाधेर गाउँमा पानी ल्याउने र सिचाई गर्ने भनेर गाउँमा चर्चा सुरु भएको थियो । म त्यसबेला ३२–३३ बर्षकी थिएँ होला । उमेरले ७२ बर्ष काटीसकेकी स्वर्गद्वारी नगरपालिका–५, सारीकी कुन्तादेबी भण्डारीले भनिन्, ‘तर अहिलेसम्म नहरमा पानी आएन ।’ सिंचाई समस्या झेल्दै आएका सारी बासीका लागि नहरमा पानी ल्याएर सिंचाई सुविधा पुर्याउने आयोजनाले खुबै हौसाएको थियो । तर निर्माण सुरु भएको लामो समय बितिसक्दा समेत नहरको काम अलपत्र पर्दा सारीबासी निरास छन् ।
गाउँमा पानी ल्याउन सबै खुबै लागेको सम्झँदै भण्डारीले सुनाइन्, ‘पहिलेको जस्तो जागर र जोश यहाँका कसैलाई छैन् । अहिले त नहरको कुराले स्थानीयलाई छुदा पनि छुन्न, वास्तै गर्दैनन् ।’ बिभिन्न निकाय धाउँदा धाउँदै हैरानी खेपेपछि स्थानीयलाई नहर निर्माण सम्पन्न भएर पानी ल्याउने आशा मरिसकेको छ । बिस्कुट र पानीको भरमा ति दिनमा काम गरेको सम्झने स्थानीय अहिले अनाहकमा काम गरिएछ भन्दै पछुताउने गर्छन् । ‘त्यत्रो दुःख गरेको नहरमा पानी आइदिएको भए बल्ल मन शान्त हुन्थ्यो, दुःख पनि गर्यौं पानी पनि आएन्, अहिले त ति दिन सम्झँदा मन बेचैन हुन्छ’, कुन्तादेबी सुनाउँछिन् ।
नहर निर्माणको काम ७५ प्रतिशत सकिएको छ । रोल्पाको लुग्रिखोलाबाट बाँध बाँधेर प्यूठानको सारीमा पानी ल्याउने आयोजनाको लक्ष्य हो । २०४२ सालबाट नहरको चर्चा सुरु भएको स्थानीय हुनाराम भण्डारी बताउँछन् । २०४४ सालबाट त निर्माणको काम सुरु भएको थियो । तर, ३८ बर्ष पुग्दासम्म पनि नहरमा पानी आएको छैन् । लामो समय प्रयोगबिहस्न हुँदा नहर जिर्ण अवस्थामा पुगेको छ । ‘अब त सामान्य मर्मतले नहरमा पानी आउने अवस्था छैन्,’ उनले भने, ‘सरकारी लगानी खेरै गयो ।’
ठाउँठाउँमा पहिरोले नहरनै बगाएको छ र कतिपय स्थानमा नहर माथिबाट आएको पहिरोले पुरिएको छ । ‘सिंचाई सुबिधा आउने भयो भनेर गाउँले खुबै खुसी भएका थियांै । पञ्चायत कालमा सुरु भएको नहर देशमा गणतन्त्र आउँदासम्म पनि बनेन् । सिंचाई अभावमा खेतबारी बाँझो छोड्नुपर्ने अवस्था रहेको छ’, उनले भने, ‘आकासको पानीको भर छैन्, नहरमा पानी आउँदैन् । सिंचाई बिना खेतबारी बाँझै छन् ।’
स्वर्गद्वारी नगरपालिकाको साविकका सारी, बेलवास, र बर्जिवाङ गाविसको १२ सय हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य राखिएको थियो । नहर आएको भए यहाँको अवस्था अहिलेसम्म फरक भैसक्थ्यो । अहिले त गाउँ पनि रित्तो हुँदै गैरहेको स्थानीय सरस्वती खनालले बताइन् । सबै किनेर खाने भएपछि गाउँले सबै शहर झर्न थालेका छन् । ‘गाउँमा उब्जनी हुने भए बसाइँसराई रोक्न सकिथ्यो की ? नहर निर्माणमा स्थानीयको कति योगदान छ भनेर भन्ने अवस्था नै छैन, दिनरात नभनी काम गर्यौं, गाउँमा बिकास आउने भयो भनेर हौसिएका पनि थियौं,’ उनले भनिन्, ‘अहिले त हात्ति आयो, हात्ति आयो फुस्सा भनेजस्तै भएका छौं ।’
नहरमा पानी ल्याउने बिषय अहिले राजनैतिक मुद्दा बन्ने गरेकोमा उनी निरास छिन् । निर्बाचन ताका नहरमा पानी ल्याउँछौ भन्दै दुईपटक स्थानीय तहमा पुगेका जनप्रतिनिधिले समेत निर्वाचन पश्चात बेवास्था गर्ने गरेका छन् । ‘भोट माग्न आउँदा नहरको कुरा उठाउनुहुन्छ,’ उनले भनिन्, ‘जितेर गएपछि खै कता हराउँछ हामीलाई थाहा छैन् ।’ निर्वाचन हार्नेले हरेक समय नहर नहर भने पनि जित्नेले बिर्सने गरेको बताइन् ।

आयोजना निर्माणमा हालसम्म जनश्रमदानसहित १३ करोड १२ लाख रुपैयाँ खर्च भइसकेको छ । आर्थिक बर्ष २०७४–०७५ सम्म नहर निर्माणमा बजेट बिनियोजन हुने गरेको जलश्रोत तथा सिंचाई डिभिजन कार्यालयले जानकारी दिएको छ । त्यसयता चालु आर्थिक बर्षमा संघ सरकार र प्रदेश सरकारले फरकफरक कामका लागि बजेट बिनियोजन गरेको कार्यालयका सव इन्जिनियर बिधान पण्डितले सुनाए । संघ सरकार मार्फत् नहर मर्मतका लागि ३५ लाख रुपैयाँ बिनियोजन भएको छ । नहरको बिस्तृत अध्ययन गर्न प्रदेश सरकारले १५ लाख रुपैयाँ बिनियोजन गरेको छ । ३५ लाखमा नहर मर्मत गर्ने अवस्था नै नरहेको कार्यालयका सवइन्जिनियर पण्डितले बताए ।
२०७४ सालमा गरिएको अध्ययनले ३ करोड ४ लाखमा नहरमा पानी ल्याउन सकिने अवस्था थियो । अहिले त्यहाँको अवस्था झनै बिग्रिएको छ । अब बिस्तृत अध्ययन पछि मात्रै नहरको बाँकी अवस्थाका बारेमा जानकारी हुने बताए । ‘अहिले यही अवस्थामा छ भन्न सकिँदैन्,’ उनले भने, ‘तीन दशक अघिको आयोजना प्रयोगमा नआउँदा जिर्ण अवस्थामा छ ।’ बिस्तृत अध्ययन पछि मात्रै नहरलाई मर्मत गर्ने वा काम नै स्थगित गर्ने भन्ने विषय टुंगो लाग्ने उनले बताए ।
सिंचाई आयोजना सञ्चालन नहुँदै भत्किएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका कोइरालखर्क जोड्ने सडक निर्माण गर्दा नहरको केही भाग पुरिएको छ भने केही भाग भत्किएको छ । रोल्पाको तेवाङ, अरेस र गाम पुर्याउने सडक खन्ने क्रममा बिगतका बर्षहरुदेखि नै पुरिँदै आए पनि विकास निर्माणमा सरकार र निर्माण पक्षको लापरवाहीका कारण निर्माण नसकिँदै आयोजना जिर्ण बनेको हो ।

तत्कालीन राजा वीरेन्द्रको पालामा २०४४ सालमा उक्त आयोजनाको निमार्ण कार्य थालनी गरिएको थियो । लुंग्रीमाडी आयोजनाका लागि स्थानीयले ६० लाख रुपैयाँको श्रमदान गरिसकेका छन् । आयोजना आर्थिक वर्ष २०४४–०४५ देखि विभिन्न कार्यक्रम अन्तर्गत र ०७०–०७१ देखि मझौला सिंचाई आयोजनाको नाममा निर्माण भैरहेको थियो । आयोजना सम्पन्न भए ७ सय ६२ घरधुरी किसानको २ सय ३० हेक्टर क्षेत्रफल जमिनमा बाह्रै महिना सिंचाई सुविधा पुग्छ ।
आयोजना निर्माण भएर नहरमा पानी चलाउन सकिने अवस्थामा पनि अन्य बिकास निर्माणले नहरमा क्षती पुर्याएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिकाको सुलिचौर हुँदै तेवाङ, अरेस र गाम पुर्याउने सडक निर्माण गर्दा नहर पुरिएको छ । त्यसबाहेक लुग्रिखोला नजिकै छिर्नेमा पक्की पुल निर्माण गर्दा ७० मिटर जति नहर पहिरोले बगाएको कार्यालयका सव इन्जिनियर पण्डितले सुनाए । नहरमा पानी चल्ने अवस्था थियो । तर अन्य बिकासले आयोजनाले त्यसमा झन क्षती पुर्याएपछि अहिले बवस्था नाजुक बनेको छ ।
रोल्पा लुग्रिखोलास्थित नहरको मुहानमा ३ सय ६० मिटर बढि क्षती भएको थियो । सडक निर्माण गर्दा तत्कालीन समयमा नहरमा १ करोड ५० लाख बराबरको क्षती पुगेको अनुमान गरिएको थियो । मुहान क्षेत्र पुरिएपछि जुतुंग खोलाको पानी भए पनि चलाउने प्रयास गरिएको स्वर्गद्वारी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष गिरबहादुर घर्तीले बताए । तर नहरमा पुनः रोल्पा जाने सडकले क्षती पुर्याएपछि अहिलेसम्म पानी चल्न सकेको छैन् । १२ किलोमिटर र्सिचाई आयोजना ३८ बर्षदेखि अलपत्र हुँदा त्यसको प्रत्यक्ष मार स्वर्गद्वारीका साविकका ३ वटा गाविसका किसानले झैल्दै आएका छन् ।








प्रतिकृया दिनुहोस्