November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

मन्त्रीहरू ‘चोकचोक’मा ‘बरालिँदा’ लुम्बिनी सरकारको बजेट खर्च कमजोर

भैहरवा– पछिल्लो दुई हप्तामा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय सानाठूला दर्जन कार्यक्रममा सहभागी भए । प्रदेश राजधानी दाङस्थित मन्त्रालय उनी खासै गएका छैनन् । पछिल्लोपटक मात्रै होइन्, उनी प्रायः मन्त्रालय जाने गर्दैनन् । रुपन्देहीका चोकचोकमा आयोजना हुने स–साना कार्यक्रममा उनको बढी उपस्थिति देखिन्छ । हरेक कार्यक्रममा पुगेर समृद्धि र सुशासनका भाषण छाट्ने उनले आफ्नो मन्त्रालयको बजेट खर्चमा भने खासै ध्यान दिएको पाइँदैन ।

Advertisement

उनीमात्रै होइन्, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताको दैनिकी पनि उस्तै छ । मन्त्रालय भन्दा होटल–होटल र स–साना कार्यक्रममा उनको दैनिकी खेर जाने गरेको छ । विकास र समृद्धिका भाषण गर्न खप्पिस गृहमन्त्री पाण्डेय र गुप्ता त प्रतिनिधि मात्रै हुन् । लुम्बिनीमा मुख्यमन्त्रीदेखि सबै मन्त्रीको अवस्था उस्तै छ । ‘आवश्यक’ नै नभएका कार्यक्रममा पनि मन्त्रीहरु पुग्ने गरेका छन् । मुख्यमन्त्री प्रायः काठमाडौं धाउँदा नै समय घर्किने गरेको छ । अरु मन्त्री पनि उद्घाटन र शिलान्यासमा व्यस्त हुन्छन् ।

Advertisement

‘मन्त्रालयमा मन्त्रीलाई भेट्नै मुस्किल पर्छ, कर्मचारीले मन्त्रालय चलाए पछि मन्त्री किन नै चाहियो र भन्ने अवस्था सिर्जना भइरहेको छ’, गृहमन्त्रालयका एक उच्च अधिकृतले भने, ‘कहिलेकाही मन्त्रालय आउँदा पनि मन्त्रीज्यू पुरै समय बस्नुहुन्न ।’ मन्त्रीले नै चासो नदिए पछि योजना छनोट र बजेट कार्यन्वयनमा समस्या भएको ती अधिकृतले बताए । ‘हामीले बनाएका योजना ‘काटकुट’ हुन्छन्, आफू अनुकुल बनाउनुहुन्छ’, उनले भने, ‘त्यही पनि कार्यान्वयनमा चासो देखिँदैन ।’

खासगरी भैरहवा–लुम्बिनीका चोकचोकमा मन्त्रीले झण्डा हल्याउँदै गाडी कुदाएको देखिन्छ । मन्त्रालय भन्दा चोकमा बरालिन तल्लीन मन्त्रीकै कारण लुम्बिनी सरकारले चालु आर्थिक वर्षमा बजेट खर्च खासै गर्न सकेको छैन । कमजोर बजेट खर्च हुँदा उनीहरुले लगाउँदै आएको विकास र समृद्धिको नारा ओझेलमा परेको छ ।

सत्ता समिकरण बदलिएपछि मुख्यमन्त्री मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र शहरी विकास मन्त्रालय सम्हाल्दै आएका छन् । यि सबै मन्त्रालयको बजेट खर्च प्रगति न्युन छ । स्वास्थ्य मन्त्री राजु खनाल, गृहमन्त्री पाण्डे, सामाजिक विकास मन्त्री गुप्ता, कृषि तथा भूमि व्यस्था मन्त्री भण्डारीलाल अहिर, भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरी र उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा कसैको पनि कार्यक्षमता राम्रो देखिएको छैन । मन्त्रीहरुले खाली तलब खाने काम मात्रै गरेको अर्थशास्त्रीहरु बताउँछन् ।

सधैं उद्घाटनमा व्यस्त हुने मन्त्री पाण्डेयले हाँकेको गृह मन्त्रालयले चालुतर्फ ४२.५८ प्रतिशत र पुँजीगतमा ४४.३२ प्रतिशत गरी कुल ४३.४० प्रतिशत बजेट खर्च गरेको छ । अहिलेसम्म करिब ७० प्रतिशत बजेट खर्च गर्नुपर्ने सरकारले जम्मा २७ प्रतिशत मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीका अनुसार लुम्बिनी सरकारले फागुन मसान्तसम्म पुँजीगततर्फ जम्मा २५.४१ प्रतिशत र चालुमा २९.८१ प्रतिशत खर्च गरेको छ । ८ महिनाको यो खर्च प्रगति निकै निराशाजनक हो ।

चालु वर्षका लागि ४० अर्ब ४७ करोड ९७ रुपैयाँ बजेट ल्याएको सरकारले फागुन मसान्तसम्म ११ अर्ब ४ करोड ५० लाख रुपैयाँ मात्रै खर्च गरेको हो । ज्ञवालीका अनुसार पुँजीगततर्फ ५ अर्ब १३ करोड ४६ लाख रुपैयाँ खर्च भएको छ भने चालुतर्फ ५ अर्ब ९१ करोड ४ लाख रुपैयाँ खर्च गरेको छ ।

नयाँ सत्ता गठबन्धन निर्माणको गठजोड र मन्त्रीको कार्यसम्पादनमा चासो नहुँदा लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले लक्ष्य अनुसार बजेट खर्च गर्न सकेको छैन । मुख्यमन्त्रीदेखि तालुकवाला मन्त्रीले घुमफिर र प्रचारमा समय बिताउँदा जन सरोकारका बिषय ओझेलमा परेका छन् । कर्मचारीको तलव भत्ता बाहेक बिकास निर्माणका क्षेत्रमा खर्च बढ्न सकेको छैन । यसले नागरिकका सरोकारमा सरकार उदाशीन भएको देखिन्छ ।

मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालय रहेको प्रदेशमा सबैभन्दा कम खर्च मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालुतर्फ ७.४९ प्रतिशत र पुँजीगत तर्फ शून्य दशमलव ८५ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । यो कार्यालयले कुल ७.२४ प्रतिशत बजेट खर्च गरेको देखिन्छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत तर्फको बजेट १३ अर्ब ३१ करोड ६० लाख २० हजार रहेकोमा हालसम्म २३ प्रतिशत अर्थात् ३ अर्ब २८ करोड ८० लाख रुपैयाँ खर्च भएको छ ।

वन मन्त्रालयले कुल बजेटको ३० प्रतिशत खर्च गरेको छ । वन मन्त्रालयले चालुतर्फ ३८.९० र पुँजीगत १८.९ प्रतिशत बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले कुल बजेटको ४१.३६ प्रतिशत खर्च गरेको छ, जसमा चालुमा ४०.८९ प्रतिशत र पुँजीगत तर्फ ४३.४१ प्रतिशत खर्च गरेको छ । अर्थ मन्त्रालयले चालुतर्फ २७.६६ प्रतिशत र पुँजीगत तर्फ १०.४३ गरी कुल २६.३३ प्रतिशत बजेट खर्च गरेको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालुतर्फ २४.१३ र पुँजीगतमा १२.९४ प्रतिशत गरी जम्मा २१.२७ प्रतिशत बजेट खर्च गरेको छ ।

सामाजिक विकास मन्त्रालयले जम्मा २५.२० प्रतिशत बजेट खर्च गरेको छ । उसले चालुमा २६ र पुँजीगतमा १७ प्रतिशत बजेट खर्च गरेको हो । यसैगरी खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले फागुन मसान्तसम्म जम्मा ३० प्रतिशत बजेट खर्च गरेको छ ।