November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

गुन्द्रीमा बसेर संगितको आनन्द

भैरहवा– पछिल्लोपटक रेष्टुरेन्टको सहर बनिरहेको बुटवलमा सर्वसाधरणलाई आकर्षित गर्न विभिन्न नयाँ–नयाँ कार्यक्रम आयोजना हुन थालेका छन् । यसक्रममा ग्राहक, दर्शकलाई भरपुर रमाइलो पुर्याउन नयाँ उपाय अपनाउने गरिएको छ । बुटवलमा सुरु गरिएको गुन्द्री सेशनले यस्तो मजा प्रदान गरिरहेको छ । गुन्द्रीमा पलेटी कसेर गित सुन्न दर्शक आउने गरेका छन् ।

Advertisement

ग्राहकका अनुसार वरिपरि रुखबिरुवा, बत्तीको झिलीमिली र नेपालीको पुरानो बस्ने स्थान खुला आंगनमा गुन्द्रीमा बसेर आंखा अगाडि कलाकारले गाएको हेर्न र सुन्ने कार्यक्रमको बुटवलमा सुरुवात भएको छ । यसलाई निरन्तरता दिन सर्वसाधरणले माग गरेका छन् । दुई साताअघि बुटवलमा आयोजना भएको यस्तो सेशनमा गीत गाउन आइपुगेका गायक अंकित शाक्यले यसरी गीत गाउँदा आफूलाई हेर्ने र सुन्ने श्रोताको भाव नजिकबाट नियाल्न पाएको बताए ।

Advertisement

१३ वर्ष अगाडि आफूले गाएको भ्यालेन्टाइन बोलको गीत यतीका वर्षपछि पुनः गुनगुनाउँदा समेत दर्शक जमातले गाएर साथ दिएको बताए । ‘मेरो गीत, म अझै याद रहेछु भन्ने विषयले छाती फुलियो,’ उनले भने, ‘म भारतमा पढेर आएँ, अहिले नयाँ गीत रेकर्ड गर्ने तयारीमा थिएँ, लाईभ रेकर्डसहित सुनाउन पाउँदा खुसी लाग्यो । यो अन्तरालमा आफूले इन्डोर कार्यक्रममा गाइरहे पनि यो माहोलमा गाउन पहिलोपटक पाएको बताए ।

बुटवल रक्सले सुरु गरेको यो कार्यक्रमले बुटवलमा संगितको नयाँ वातावरण बनाएको एड्भेन्चर नेपालका निर्देशक तथा इभेन्ट होस्ट सुमन श्रेष्ठ बताउँछन् । यसले घरघरमा रहेका कलाकारलाई एउटा प्ल्याटफर्म दिएको उनले बताए । ‘गाउनै छोडेका, बजाउनै छोडेका कलाकारले पुन ः आवाज सुनाउने, बाजा बजाउने गरेर रमाइलो बनाए,’ उनले भने, ‘यसले नयाँ पुस्तालाई पनि संगित सृजना गर्न र प्रस्ष्फुटन गर्न बेग्लै मौका दिन्छ ।’ संगितकर्मीले संस्था मार्फत यसअघि गरिरहेको भोकल वर्कशप, ड्रम वर्कशप आदि गरेको र अहिले यस खालको इभेन्ट थालनी गरेर मानिसले आनन्द महशुस गर्ने वातावरण बनाइदिएको बताए ।

यस क्षेत्रका संगितकर्मीलाई एकजुट बनाएर विभिन्न समयमा सांगितिक कार्यक्रम र सिकाई गरिरहेको संस्थाले यसपटकदेखि नयाँपन झल्काउने गुन्द्री सेशन सुरु गरेको बुटवल रक्सका अध्यक्ष बसन्त श्रेष्ठले बताए । सन् २०१८ मा खुलेको संस्थामा ३ सय बढी स्थानिय संगितकर्मी आवद्ध रहेको उनले बताए । गुन्द्री सेशनमा गीत गाउन आउने कलाकारले अरुका गीतसँगै आफूहरुले रचेका नयाँ गीत समेत दर्शक श्रोतालाई सुनाउने गरेका छन् । कार्यक्रममा गायकले आफूले अहिलेसम्म नगाएका गीत प्रस्तुत गर्ने, श्रोताले सुनिरहेका र सुन्न चाहिरहने गीत गुनगुनाउने गरेको श्रेष्ठले बताए । ‘हामीले नयाँ गितको लाइभ रेकर्डिङ गरिरहेका हुन्छौं,’ उनले भने, ‘उक्त गीतलाई स्टुडियोमा पुनः मिक्सिङ गरेर अडियो र भिडियो नै युट्युबमा सार्वजनिक गर्ने गर्छौं ।’

उनले यसले कलाकारलाई निःशुल्क आफ्ना गीत रेकर्ड गराउने र श्रोता, दर्शक माझ चिनिने मौका समेत प्रदान गरेको बताए । उनका अनुसार यस सेशनमा जिल्लाका पुराना कलाकार, संगितकर्मी, ब्याण्डले प्रस्तुती दिएका छन् भने अन्यत्रका कलाकारले समेत चासो देखाई आउने र मौका पाएसम्म प्रस्तृती सुनाउने गरेका छन् । ११ वटा क्यामेराले भिडियो गरी लाइभ भिजुवल पनि तयार गर्ने यस सांगितीक माहोलले बुटवल र वरपरका संगितप्रेमीलाई झुमाइरहेको उनले बताए ।

श्रेष्ठले बुटवल संगितको हब भएकाले यहाँ हुने विभिन्न सांगितीक कार्यक्रममा हरेक राष्ट्रिय कलाकार आउन चाहने वातावरण पहिलेदेखि नै रहेकाले यो शाख जोगाइराख्न स्थानीय कलाकारकै जागरुकता र एकताका लागि गुन्द्री सेशन मजेदार बनिरहेको बताए । उक्त सेशनको पहिलो र दोस्रो दिनमा ४ सय मानिसको उपस्थिति रहेको उनले बताए । गुन्द्री सेशन हरेक महिनाको एकपटक गर्नेगरि अघि बढ्ने उनको भनाई छ ।