November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

कुशल भुर्तेलः पर्फेक्ट ब्याटर

भैरहवा– कुशल भुर्ते नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याटर हुन् । पछिल्ला धेरै खेलमा चल्न नसकेका उनी मंगलबार पपुवा न्युगिनीविरुद्ध ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन जोडे नै महत्पूर्ण ४ विकेट लिए । उनकै अलराउण्डर प्रदर्शनमा नेपालले शानदार जित निकालेर फाइनल पुगेको छ ।

Advertisement

यति मात्रै होइन्, उनले मंगलबार उत्कृष्ट प्रदर्शन गरेसँगै टी–२० आई करिअरमा १ हजार रन पूरा गरेका छन् । कुशलले ३६ खेलमा १ शतक र ८ अर्धशतकसहित १०१ चौका र ४४ छक्का हान्दै १ हजार ८ रन बनाएका छन् । उनी नेपालबाट टी–२० आईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर हुन् । दीपेन्द्रसिंह ऐरीले ५८ खेलमा १ शतक र ८ अर्धशतकसहित १ हजार ४७६ रन बनाएका छन् ।

Advertisement

सन् २०१२ मा कुशल नेपालको यू–१६ टोलीमा समावेश भए । अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो पाइला थियो । सोह्र वर्षमुनिको राष्ट्रिय प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेपछि उनी त्यसबेला मलेशियामा हुने एसीसी यू–१६ का लागि छानिएका थिए । तर कुवेतविरुद्धको एक खेलपछि उनी अभ्यासको क्रममा घाइते भएर नेपाल फर्किए ।

चोटको फाइदा के भयो भने उनले आरामसँग एसएलसी परीक्षा दिन समय पाए । उनले क्रिकेटमा झन् मेहनत गर्न थाले । फलस्वरूप तीन वर्षपछि उनी यू–१९ राष्ट्रिय टोलीमा पर्न सफल भए । यसबीचमा उनले फ्रेञ्चाइज क्रिकेटमा आफूलाई व्यस्त बनाए ।

उनले एभरेस्ट प्रिमियर लीग इपीएल ललितपुरबाट, पोखरा प्रिमियर लीग पोखराबाट र धनगढी प्रिमियर लीग डीपीएल विराटनगरबाट खेले । पीपीएल खेल्दा तत्कालीन कप्तान शरद भेषावकरले उनलाई प्रारम्भिक ब्याट्सम्यानको रुपमा अगाडि ल्याएका हुन् ।

यसबीच राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा उनलाई हरेक पटक बोलाइन्थ्यो । तर अन्तिम छनोटमा उनको नाम हुँदैनथ्यो । सन् २०१९ को इमर्जिङ कपमा उनी बल्ल टिममा परे । तर राम्रो प्रदर्शन हुन सकेन । सोही साल नेपालमै भएको १३औँ दक्षिण एशियाली खेलकुदमा पनि टिममा परे । तर एक खेल पनि खेल्ने मौका पाएनन् ।

यसपछि मलेशिया, नेदरल्याण्ड्ससँग त्रिकोणात्मक शृङ्खला कुशलको लागि त्यही समय बनेर आइदियो । राष्ट्रिय टोलीको डेब्यु प्रतियोगितामा लगातार तीन खेलमा अर्धशतकको कीर्तिमान बनाएर उनले नेपाली क्रिकेट जगत्मा आफ्नो आगमन ‘ठूलो आवाज’ मा दिएका छन् ।

नेपाली राष्ट्रिय टोलीको खोजीको रूपमा रहेको प्रारम्भिक ब्याट्सम्यानको निर्विकल्प दाबेदारको रूपमा आफूलाई उभ्याएका छन् । उनको निरन्तर राम्रो प्रदर्शन पछि बुवा दीपक भुर्तेल पनि खुशी छन् । उनी अहिले निरन्तर राष्ट्रिय टिममा छन् । पहिलो रोजाईमा खेलिरहेका छन् ।

रुपन्देहीको तिलोत्तमास्थित मणिग्रामका कुशल बुवा दीपक र आमा दुर्गाका दोस्रो सन्तान हुन् । उनका एक दिदी र एक बहिनी छन् । कुशल स्कूलदेखि नै खेलकुदप्रेमी थिए । स्कूलमा हरेक खेलमा रुचि राख्थे । खेलकुदमा हुरुक्क हुने कुशलको बानी थियो । यही निरन्तरताले उनी आज सफल क्रिकेटर बनेका छन् । उनको प्रदर्शलोभ लाग्दो छ ।