November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

राजापुरको मुहार फेरिँदै

बर्दिया– पश्चिम तराईको अन्न भण्डारका रुपमा रहेको बर्दियाको राजापुर टापुको मुहार फेरिन थालेको छ । कर्णाली नदीका भंगालाले घेरेको राजापुर धान उत्पादनका लागि मुलुकमा प्रख्यात छ । भौगोलिक रुपमा जिल्लासित अलग रहेको यो टापु मुुलुकमा सशस्त्र द्वन्द्वका बेला झन एक्लिएको थियो । द्वन्द्वका कारण आधारभूत मानवीय आवश्यकताबाट त्यहाँका बासिन्दा बञ्चित थिए भने धेरै बासिन्दा बिस्थापित भएका थिए ।

Advertisement

कुनै बेला राजापुर पश्चिम तराईको ठुलो व्यापारिक केन्द्र थियो । क्रमशः पूर्व–पश्चिम राजमार्ग र रत्नराजमार्ग निर्माणपछि वीरेन्द्रनगर, टिकापुर, भजनी, चिसापानी लगायत बजार बिस्तारपछि साविक कर्णाली र सुदुरपश्चिमाञ्चलका पहाडी जिल्लाबाट व्यापारी आउन छाडे । बजार बिस्तारका क्रममा राजापुर बाहेक शान्तिबजार, मनाउ, खैरीचन्दनपुर, गोला लगायत ठाउँमा धान खरिद, बिक्री गर्ने व्यवसायी भरिँदै गएपछि यहाँ किसान आउने क्रम घट्दै गएको छ ।

Advertisement

राजापुर साविक सुदुरपश्चिम र मध्यपश्चिमाञ्चल विकास क्षेत्रका पहाडी जिल्लाका व्यापारिक केन्द्रका रुपमा विकसित हुँदै गएको थियो । पुरानो राजापुर बजार २०१६ सालमा आएको बाढीले बगाएपछि पूर्व तर्फ रहेको राजापुरकी स्वर्गिय क्षमाकुमारी उपाध्यायले बस्ती बसाल्न जग्गा दिइकी थिइन् । उनको नाममा १८ विघा १० कट्ठा जग्गामा बस्ती र बजार बसेको स्थानीय ६७ वर्षिय गोपाल ध्वज जिसी बताउँछन् । राजापुरकी स्वर्गिय क्षमाकुमारी उपाध्यायको नाममा १८ विघा १० कट्ठा जग्गा भएको सरकारी अभिलेखमा उल्लेख छ । २०२१ सालमा हदबन्दी लागु भएपछि उपाध्यायको नाममा रहेको १८ विघा १० कट्ठा जग्गा सरकारले आफ्नो नियन्त्रणमा लिएको थियो । त्यस जग्गामा बसोबास गर्दे आएका व्यवसायी र सर्वसाधरणले हकदाबी गर्दै आएका छन् ।

‘नेपालगन्ज लगायत भारतबाट आएका व्यवसायीले राजापुरमा व्यापार गर्थे । यहाँको सबै भन्दा पुरानो कर्णाली बस्त्रालय, सरला राइस मिल, हिरालाल गुप्ता लगायतका पसल सञ्चालमा थिए,’ उनले भने ‘व्यवसायमा मन्दी आएपछि धेरै जसो पुराना व्यवसायी अन्यत्र पलायन भए ।’ द्वन्द्वकालमा भारतीय व्यवसायी पलायन भए । नेपाली व्यवसायी नेपालगन्ज र कैलालीमा स्थान्तरण भएका थिए । धानको उर्वराभूमि मानिएको राजापुरबाट २०२१ साल अघि करिब २ लाख ५० हजार क्विन्टल धान भारत लगायत मुलुकमा निर्यात भएको जिसीको भनाई छ ।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा १६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ । करिब १४ हजार हेक्टर क्षेत्रफलमा सिचाई सुविधा रहेको छ । समुन्दी सतहबाट १ सय ५४ मिटर उचाईमा रहेको राजापुर २०७३ सालमा नगरपालिकाले गरेको जनसंख्या अनुसार ६३ हजार २ सय ९४ जनसंख्या रहेको छ । १ सय ६ वर्ग किमी क्षेत्र आगेटेको राजापुर यहाको पुरानो जमिन्दार मध्येका राजाराम कुर्मीका नामबाट राजापुर भएको स्थानीय बताउँछन् ।

४० वर्ष अघि पहाडबाट सुन्तला, स्याउ, घिउ, गलैँचा, जडीबुटी लगायतका सामान राजापुर ल्याउने र यहाँबाट नुन, तेल, चामल, गहँुको पिठो लगायत कपडा खरिद गरि लैजाने गर्थे । उद्योग वाणिज्य संघ, बर्दियाका अध्यक्ष केदार थापाका अनुसार अहिले मुस्किलले कर्णाली प्रदेशका व्यापारी गलैँचा, न्यानो कपडा र जडीबुटी बेच्न आए पनि यहाँबाट सामान भने खरिद गर्दैनन् । २०३० साल सम्म राजापुर बजार गोलाहाट मण्डीका रुपमा पचिचित रहेको स्थानीय व्यवसायी काशीराम शर्मा बताए ।

पुरानो बजार भएको ठाउँ अहिले बगर बनेको उनले बताए । सन १८६० नोभेम्बर १ तारेखमा बाके, बर्दिया, कैलाली र कञ्चनपुर ब्रिटिस साम्राज्यले भारतमा शासन गर्दा नेपाललाई जंगबहादुर राणाका समय भूभाग फिर्ता भएको थियो । यसै कारण पश्चिम तराईका चार जिल्लालाई नयाँ मुलुक भन्ने गरिन्छ । यस क्षेत्रमा बसोबास गर्नेमा अधिकांश थारु समूदायको बाहुल्य रहेको छ । यस बाहेक पहाडे, अवधी मूलका बासिन्दा बसोबास गर्छन । राजापुरमा ४ वर्ष यता मालपोत, नापी लगायतका कार्यालय स्थापना भएका छन । दुई दशक अघि नै इलाका प्रशासन स्थापना भएको थियो ।

सशस्त्र द्वन्द्व सकिएपछि ०६४ सालपछि नेपाल बैक लगायत वित्तीय संस्था यहाँ आफ्ना कारोवार सञ्चालन गरि रहेका छन् । संघीयता लागू भएपछि राजापुर नगरपालिकाले विकासको मुहार फेर्दे गएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही बताउँछन् । ‘सडक सञ्जालले मुलुकको सबै भेगसंग यातायात सम्पर्क भएपछि काचुली फेर्दे गएको छ,’ उनले भने, ‘राजापुर क्षेत्रमा शिक्षा, स्वास्थ्य, साना ठूला उद्योग स्थापना भएका छन् ।’

सहरी र ग्रामिण क्षेत्रको रुपमा रहेको नगरमा व्यापार, उद्योग कलकारखाना, प्राकृतिक स्रोत तथा सामाजिक महत्वका क्षेत्र रहेका छन् । कर्णाली नदीमा डल्फिन सहजै हेर्न सकिने र जलयात्राका लागि मोटर बोटको व्यवस्था छ । आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठुलो हिस्सा रहेको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए । स्थानीय बासिन्दाको मुख्य स्रोत वैदेशिक रोजगारी पनि हो । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजी रहेको प्रणालीको कृषि व्यवसायको विकल्प खोजी रहेका यहाका बासिन्दा आधुनिक जिवनशैलीमा रमाउन थालेका छन् ।