November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

हुलाकी मार्गमा गाडीको चाप

भैरहवा– पूर्व–पश्चिम राजमार्ग बिस्तारका कारण यात्रा असहज भए पनि चालक र यात्रुले वैकल्पिक मार्गबाट यात्रा गर्न थालेका छन् । जसले गर्दा हुलाकी मार्गमा गाडीको चाप बढेको छ । अहिले बुटवल–नारायणगढ चार र ६ लेन बिस्तारको काम भइरहेको छ । तोकिएको समयमा काम पूरा नहुँदा लामो समयदेखि चालक र यात्रुले समस्या भोगिरहेका छन् । एक सय १४ किलोमिटर बुटवल–नारायणगढ खण्ड पार गर्न अहिले ६ घण्टा लाग्छ ।

Advertisement

पछिल्लोपटक बुटवल–गोरुसिङ्गे ५० किलोमिटर खण्ड ६ लेनमा बिस्तारका लागि ठेक्का पक्रिया थालिएको छ । जसले गर्दा बुटवल पश्चिमका बासिन्दा समेत उपयुक्त वैकल्पिक मार्गको खोजीमा रहेका बेला कपिलवस्तुको चन्द्रौटाबाट दक्षिण बहादुरगन्ज हुँदै तौलिहवा भएर पूर्वपश्चिम ओहोरदोहोर गर्नेको संख्या ह्वात्तै बढेको छ । हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तुको तौतिहवा–बहादुरगन्ज खण्ड पक्कि निर्माण भएसँगै यस सडकबाट यात्रा गर्ने बढे्का हुन् ।

Advertisement

अहिले चन्द्रौटाबाट रुपन्देहीको लुम्बिनी, भैरहवा हुँदैं पश्चिम नवलपरासी सदरमुकाम परासी भएर भूमहीसम्म यात्रा गर्न सकिन्छ । केहीले भूमही नभएर परासीबाट जिल्लाको भित्रिभाग हुँदै बर्दघाटको चौपत्ता हुँदै पूर्व–पश्चिम राजमार्ग निस्किने गरेका छन् । यसले यात्रा सहज बनाएको छ ।

राजमार्गको बुटवल–बर्दघाट खण्ड बिस्तारको काम सुस्त गतिमा भइरहेको छ । सडकमा खाडल र धुलो छ । जसले गर्दा बुटवलका बासिन्दा हुलाकी मार्ग अन्तर्गत भैरहवा–परासी–चौपत्ता हुँर्दै बर्दघाट पुग्ने गरेका छन् । केही वर्ष अघिसम्म वैकल्पिक मार्गबारे जानकारी नभएकाले धेरैले कष्ट सहेर बुटवल–बर्दघाट खण्डमा यात्रा गर्थे । ‘भैरहवा हुँदैं बर्दघाट निस्किन सहज लाग्छ,’ बुटवल–११, का टीकाराम पाण्डेले भने, ‘बुटवलबाट सिधै बर्दघाट कति बेला पुगिन्छ, ठेगान हुँदैन, सडक खराब भएकाले आजकाल त मोटरसाइकल, स्कुटर खाल्टामा खस्न थाले ।’

यस्ता निर्माण कार्य गर्दा वैकल्पिक सडक व्यवस्था गरिनुपर्ने उनको भनाई छ । बुटवल–नारायणगढ खण्डमा भइरहेको ढिलासुस्तीले बिकास निर्माणप्रति नागरिकमा वितृष्णा जागेको उनले बताए । कपिलवस्तुको बहादुरगन्जका मनिष गुप्ताले चन्दौंटाबाट १० किलोमिटर दक्षिण बहादुरगन्ज भएर गाडी चल्न थालेपछि बजारमा चहलपहल छाएको बताए । पहिले मुलुकका पूर्वी र पश्चिमी क्षेत्रमा यात्रा गर्नुपरेमा बहादुरगन्जका बासिन्दा चन्द्रौंटा पुग्नु पथ्र्यो ।

‘अहिले घर अगाडिबाटै बस चढ्न पाइएको छ,’ उनले भने, ‘पहिले बहादुरगन्ज–तौलिहवा मात्रै बस चल्थे, अहिले मुलुकभरिबाट यही बाटो भएर गाडी गुड्छन् ।’ हुलाकी सडक स्तरीय नभएका बेला कपिलवस्तुको कृष्णनगर नाका हुँदैं भारत ओहोरदोहोर गर्ने मालबहाक र पर्यटक गाडी चन्द्रौटा हुँदैं पूर्वतर्फ लाग्थे । अहिले बहादुरगन्जबाट तौलिहवा, लुम्बिनी, भैरहवा हुँदै जाने गरेको उनले बताए । यसले दूरीसँगै यात्रुको समय बचत भइरहेको उनले बताए ।

पूर्व–पश्चिम सञ्चालन हुने दिवा र रात्री बस यही मार्ग भएर गुडिरहेका छन् । कपिलवस्तु र रुपन्देही अन्तर्गत बीचका बजारमा यात्रु ओराल्ने र चढाउनु पर्ने भए मात्रै बस पूर्व पश्चिम राजमार्ग भएर बुटवल पुग्ने गरेका छन् । बीचबाट यात्रु चढाउन र ओराल्न नपर्ने लामो दूरीका बस वैकल्पिक मार्ग भएर ओहोरदोहोर गर्छन् । कपिलवस्तु सदरमुकाम तौलिहवाका व्यवसायी गोपी शर्माले हुलाकी मार्ग भएर यात्रु, मालबाहक र नीजि गाडीको ओहोर दोहोर बढेसँगैं मानिसको आवागमन र चहलपहल बढेको बताए । बुटवल–बर्दघाट खण्डको कष्ट छल्न वैकल्पिक मार्ग प्रयोग भइरहेको उनले बताए । लगत्तै बुटवल–गोरुसिङगे खण्ड ६ लेन बिस्तारको काम थालनी हुने भएकाले हुलाकी मार्गमा गाडीको चाप बढ्ने उनले बताए । ‘सडकले नधान्ने अवस्था आउछ,’ उनले भने, ‘अहिले नै गाडीको चाप धेरै भइसक्यो ।’

उनका अनुसार बहादुरगन्ज–तौलिहवा खण्ड फराकिलो छ । दुई लेन उक्त खण्डले केही हदसम्म गाडीको चाप थेग्न सक्छ । तर, तौलिहवा–लुम्बिनी खण्डमा अत्यधिक गाडीको चाप भएमा दुर्घटनाको जोखिम हुने भएकाले ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए । बहादुरगन्जदेखि लुम्बिनीको बीचमा कपिलवस्तुका खुनुवा र कृष्णनगर नाकाबाट आउने मालबाहक र नीजि गाडी थपिने भएकाले ट्राफिक अस्तव्यस्त हुनसक्ने उनले औल्याए । ‘गाडीको ओहोरदोहोरले बजारमा चहलपहल बढेको छ, सुनसान बजार अहिले रातिसम्म जाग्ने गरेका छन,’ उनले भने, ‘सर्वसाधरणले पनि लामो दूरीको यात्राका लागि घर अगाडिबाटै बस चढ्न पाइरहेका छन् ।’

उनका अनुसार यसअघि पूर्व–पश्चिम राजमार्गका कारण जिल्लाका उत्तरी क्षेत्रमा हुने चहलपहल हुन्थ्यो । वैकल्पिक मार्गको प्रयोगले दक्षिण क्षेत्रमा समेत त्यस्तै रौनक बढेको उनले बताए । पश्चिम नवलपरासीबाट भैरहवा आउजाउ गर्ने यात्रु पूर्व–पश्चिम राजमार्ग छाडेर बर्दघाट बाट दक्षिण चौपत्ता हुँदै नारायणचोक पुग्ने गर्दछन् । नारायणचोक बाट पश्चिम १३ किलोमिटर हुलाकी सडकको यात्रा गरेपछि सदरमुकाम परासी बजार आईपुग्दछ । त्यसपछि २४ किलोमिटरको दुरीमा भैरहवा पुगिन्छ । बुटवल जाने यात्रुपनि सहजताको लागि यही रुट भएर जाने गर्दछन् ।

भित्री सडक भएपनि कालोपत्रे सडक र कालो पत्रे नभएको स्थानमा पनि खाडल नभएको कारण यात्रुले बैकल्पिक मार्ग रोजेको बताउँछन् । ‘पूर्व पश्चिम राजमार्गमा धुलो र हिलोले हिडी नसक्नु छ । काम भएको स्थानमा सवारी जाम पनि हुने गर्दछ । धुलो र जामको सास्ति खेप्नु भन्दा भित्री सडकमा यात्रा गर्न आनन्द आउछ ।’ बर्दघाटका देवीदत्त पौडेलले भने, ‘हामी स्थानीय मात्र होइन, लामो दुरीमा घुम्न आउने र आफ्नै सवारी भएका अधिकासंले अहिले बैकल्पिक मार्गको बढी प्रयोग गर्ने गर्दछन् ।’

बर्दघाटबाट चौपत्ता, नारायण चोक हुँदै जमुनीया बजार, भटौलीया, मनहरी बजार हुँदै परासी पुगिन्छ । अझ छोटो बाटो जान्छु भन्नेहरु बर्दघाटबाट त्रिवेणी सडक हुदै चौपत्ता बजार बाट जमुनिया निस्कीएर हुलाकी सडक हुदै परासी पनि निस्कन्छन् । हुलाकी मार्गको भटौलीमायामा चौधरी खाजा पसल संचालन गर्दै आएका रबिन्द्र चौधरीका अनुसार पूर्व पश्चिम राजमार्गको बिकल्पकोरुपमा हुलाकी सडक को प्रयोग बढेको छ । जसको कारण यस क्षेत्रको ब्यापार ब्यवसाय र पर्यटकीय क्षेत्रको समेत प्रचार भएको छ । ‘मुख्य राजमार्गमा यात्रा गरीसक्नु छैन् ।’ उनले भने, ‘हुलाकी सडकमा केही स्थानमा कालोपत्रे नभए पनि अधिकासं कालोपत्रे भएको छ । भित्री सडक प्रकृतीको आनन्द लिँदै यात्रा गर्न रमाइलो हुने भएकोल निजी सवारी साधन भएकाले यो सडकको प्रयोग बढी गर्दछन् । सार्वजनिक सवारीले पनि सडक अवरुद्ध हुदा यही सडकको प्रयोग गर्ने गर्दछन् ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख बजिरसिंह बिष्टले बर्दघाटबाट दक्षिण हुलाकीमार्ग भएर सिधैं चन्द्रौटा हुँदैं ओहोरदोहोर गर्ने सवारीका साधन बढेकाले सडकमा ट्राफिक बढेको बताए । पूर्व–पश्चिम राजमार्ग बिस्तारको कामले यात्रा असहज हुन थालेपछि दक्षिणका सडकको प्रयोग बढेको उनले बताए । पश्चिमका महेन्द्रनगर, धनगढी, नेपालगन्जबाट लामो दूरीमा चल्ने गाडी हुलाकीमार्ग हुँदैं ओहोरदोहोर गरिरहेका छन,’ उनले भने, ‘बुटवल लगायत राजमार्गका सहरमा यात्रु चढाउन र ओराल्न पर्ने भएमात्रै बुटवल हुँदै पूर्व पश्चिम जान्छन् । नत्र वैकल्पक मार्ग प्रयोग गर्छन ।’ अधिकांश मालबाहक र नीजि गाडीले वैकल्पिक मार्ग प्रयोग गरिरहेको उनले बताए । नयाँ बाटोमा ट्राफिक बढेपछि रुपन्देहीका धकदही, बेथरी, भैरहवा र लुम्बिनीमा ट्राफिक प्रहरी परिचालन गरेर व्यवस्थापनको काम भइरहेको उनले बताए ।