किन आकर्षित भएनन् गौतमबुद्ध विमानस्थलप्रति अन्तर्राष्ट्रिय विमान कम्पनी ?, निजी क्षेत्रमा चरम निराशा



भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थाल्दा, त्यसपछि उद्घाटन र अन्तर्राष्ट्रिय उडान सुरु हुँदा सबैभन्दा खुशी निजी क्षेत्र थियो । यही खुशीमा विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट विमानस्थल आसपासमा अर्बौं लगानी गरिएको छ । तर, विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन भएकै १९ महिना वितिसक्दासमेत पूर्णक्षमतामा त के एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा निजी क्षेत्र चरम निराशामा छ ।
व्यवसायीले आफूहरुको लगानी बालुवामा पानी हालेसरह भएको गुनासो गरिरहेका छन् । कयौं निर्माणाधीन ठूला होटल तथा रेष्टुरेन्ट र निर्यातजन्य उद्योगहरु विमानस्थल पूर्णक्षमतामा संचालन नभएकै कारण उद्योगी–व्यवसायीले निर्माणकै क्रममा रोकेका छन् । संचालनमा रहेका धेरै गनिएका होटलमा समेत पाहुना छैनन् । यसले व्यवसायीलाई उकुसमुकुस बनाएको छ ।
‘म बीस वर्षदेखि होटल व्यवसायमा छु, विमानस्थल उद्घाटन पछि अब पर्यटक आउलान भनेर होटल मर्मत सम्भार गरेँ तर एउटा पनि नियमित उडान नहुँदा दैनिक निराशा बढिरहेको छ’, सिद्धार्थ होटल संघका उपाध्यक्ष किशोर जोशीले भने, ‘विमानस्थललाई लक्षित गरेर लगानी गरेका म जस्ता धेरै व्यवसाय धरासायी भए । कति पलायन भइसके । अब ढिला भइसक्यो, जतिसक्दो छिटो नियमित अन्तर्राष्ट्रिय उडान गर्न जरुरी छ ।’
विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै निजी क्षेत्रबाट पटक–पटक मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाउनेदेखि धर्ना र आन्दोलनका कार्यक्रम हुँदै आएका छन् । तर, सरकारले सुनेर पनि नसुनेझै गरिरहेको छ । ‘यसले गर्दा विमानस्थललाई लक्षित गरेर लगानी गरेका उद्योगी–व्यवसायी निरास छन् । अर्कातर्फ सरकारले अर्बौं लगानी गरेको विमानस्थलले दैनिक लाखौं रुपैयाँ नोक्सानी व्यहोरी रहेको छ, यो निकै दुखद् हो’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने ।
उनका अनुसार विमानस्थल पूर्णक्षमतामा नचल्दा निर्माणाधीन अवस्थामा रहेका दर्जन होटल, उद्योग व्यवसायीले निर्माणकै क्रममा छाडेका छन् । ‘बैंकको चर्को व्याज लिएर होटल बनाइरहँदा विमानस्थल नै नचलेपछि लगानी रोक्नुको विकल्प भएन । बैंकले ब्याज छाड्दैन, विमानस्थल चलेको छैन । कहाँबाट निर्माणलाई अघि बढाउने, व्यवसायी अप्ठ्यारोमा छन्’, अध्यक्ष श्रेष्ठले भने । विमानस्थललाई आवश्यक मेडिकल, भिसा सेन्टर, म्यानपावर र बीमा कम्पनी अझै भैरहवामा छैनन् । अर्कातर्फ धावनमार्गबाट विमानस्थलको भन्सारसम्म जाने लिंकरोड समेत बनाइएको छैन । ‘यसले पनि विमानस्थलको भविष्यमाथि खेलवाड भइरहेको छर्लङ्ग हुन्छ’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘सरकार लाचार बन्यो, व्यवसायी डुबे ।’
उद्घाटनयता चार्टर्डसहित विभिन्न एयरलाइन्सले ४३० वटा उडान र अवतरण गरेका छन् । यसबाट ३६ हजार १०६ यात्रुले सेवा पाएका छन् । लुम्बिनीलाई केन्द्रमा राखेर बनाइएको विमानस्थल पूर्णक्षमतामा संचालनमा आए दैनिक १० हजार पर्यटक भैरहवा ओर्लिने विश्वास थियो । तर, उक्त विश्वास अहिले निराशामा बदलिँदै गएको छ । जसले गर्दा निजी क्षेत्र हत्तोत्साहित भएको छ नै विमानस्थलमा खटिएका तल्लोदेखि माथिल्लो तहसम्मका नेपाल नागरिक उड्डयन प्राधिकरण, भन्सार, अध्यागमनका कर्मचारी, नेपाली सेना, प्रहरी बरिष्ठ उपरीक्षकको नेतृत्वमा रहेको नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धानका सहितका साढे ४ सय कर्मचारी र सुरक्षाकर्मी फुर्सदिला जस्तै छन् ।
कर्मचारीको तलब र सेवासुविधा छाडेर अघिल्लो आर्थिक वर्षमा मात्रै करिब ३ करोड रुपैयाँ विमानस्थलले घाटा व्यहोरेको थियो । साढे चार सय कर्मचारी र सुरक्षाकर्मीको तलबसुविधा र संचालक खर्च हिसाब गर्ने हो भने दैनिक खर्च मात्रै ३ लाख भन्दा बढी हुनजान्छ । विमानस्थल बनाउनै मूआब्जासहित करिब ४० अर्ब लगानी भएको छ । विमानस्थललाई लक्षित गरी निजी क्षेत्रबाट यसको दोब्बर लगानी गरिएको दावी गरिएको छ ।
‘विमानस्थल नियमित संचालनको माग गर्दै रुपन्देहीका निजी क्षेत्रले ज्ञापनपत्र बुझाउनेदेखि धर्ना र विरोध र्याली समेत गर्दै आएका छन् । यसबारे मन्त्रीदेखि प्रधानमन्त्रीसम्म जानकार छन् । तर, कहींकतैबाट नियमित उडानका लागि ठोस कार्य अगाडि बढ्न सकेको छैन’, उपाध्यक्ष जोशी भन्छन्, ‘जसले गर्दा विमानस्थल रुपन्देहीबासी र लगानकिर्तालाई ‘आकासको फल आँखातरी मर’ जस्तै भएको छ ।’
किन आकर्षित भएनन् अन्तर्राष्ट्रिय विमान कम्पनी ?
विमानस्थलमा उद्घाटनयता अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न भन्दै अवतरण, गृह आश्रय, पार्किङ, संचार तथा उड्डयन सहाय शुल्क, सुरक्षा शुल्कमा शतप्रतिशत छुट दिइएको छ । एउटा विमानले उडान अवतरण गर्दा सामान्यतः डेढ लाख बढी छुट पाउँछ । तर, पनि अन्तर्राष्ट्रिय एयरलाइन्सहरु गौतमबुद्ध विमानस्थलमा आकर्षित हुन सकेका छैन ।
नेपाल नागरिक उड्डउन प्राधिकरणले यसबारे अध्धयन गरेर थप सुविधा दिने प्रयास पुनः सुरु गरेको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेयले बताए । ‘हामीले इन्धन, टिकट, भैरहवाबाट उडान गर्ने एयरलाइन्सलाई विमानस्थलमा कोठा भाडा लगायतमा छुट दिन सकिन्छ की भनेर गृहकार्य गरिरहेका छौं’, महाप्रबन्धक पाण्डेयले भने, ‘जसरी हुन्छ विमानस्थलबाट नियमित उडान गर्ने गरी हामी लागिपरेका छौं ।’
अहिले नेपाल एयरलाइन्सले सातामा काठमाडौं ट्रान्जिट बनाएर भैरहवाबाट एक उडान भर्दै आएको छ । नेपालमा उडान भर्दै आएका ३० बढी एयरलाइन्सलाई पत्र काटेरै भैरहवाबाट उडान भर्न आग्रह गरिएको छ । यसबाहेकका अन्य एयरलाइन्सलाईसमेत नागरिक नेपाल उड्डयन प्राधिकरणले पटकपटक आग्रह गर्दै आएको छ । ‘हामीले दिएको छुट सुविधाबारे सबै एयरलाइन्सलाई जानकारी छ । कति एयरलाइन्सले भैरहवा आएर अध्ययन पनि गरेका छन् तर किन उडान भर्न चाहेका छैनन् भन्नेबारे विभिन्न कोणबाट अध्ययन भइरहेको छ’, पाण्डेयले भने ।
यहाँ नयाँ एयरलाइन्स कम्पनी आकर्षित हुनुको सट्टा सुरुबाट उडान भर्दै आएका जजिरा र हिमालयन एयरलाइन्सले समेत आफ्नो उडान रोकेका छन् । यसले थप चिन्ता बढाइरहेको छ । महाप्रबन्धक पाण्डेयले अहिले लुम्बिनीमा रहेका गुम्बाहरुमार्फत् पनि सम्बन्धित देशसँग भैरहवा सिधा उडानका लागि पहल भइरहेको जनाए । यस्तै, थप छुट सुविधा दिन निर्देशिका संशोधनको तयारीसमेत भइरहेको छ ।
‘धेरै विमान कम्पनीले हामी भैरहवाबाट उडान गर्न इच्छुक छौं भनिरहेका छन् तर कोही आएका छैनन् । कारण पनि खुलाएका छैनन् । यसले गर्दा पनि हामी समेत अचम्मित भएका छौं’, पाण्डेय भन्छन्, ‘विमानस्थलका तर्फबट, प्राधिकरण, मन्त्रालय, प्रधानमन्त्रीसमेतबाट पहल भइरहेको छ ।’ उनका अनुसार वास्तविक कारण पत्ता लगायउने र नियमित उडान गराउन सबै तहबाट पहल भइरहेको छ ।








प्रतिकृया दिनुहोस्