होटलमा थपिँदै लगानी



भैरहवा– आर्थिक तथा पर्यटकीय नगरी सिद्धार्थनगरमा पर्यटक लक्षित होटल खुल्नेक्रम बढिरहेको छ । सानादेखि तारेसम्मका होटल भैरहवा क्षेत्रमा खुलेर संचालनमा आएका छन् । पछिल्लोटक सिद्धार्थनगर नगरपालिका–४ स्थित लुम्बिनीरोडमा होटल समृद्धि प्रालि संचालनमा आएको छ । १५ करोड रुपैयाँ लागतमा सुविधा सम्पन्न होटल संचालनमा आएको हो । होटल संचालक राबहादुर थापाले गौतमबुद्ध विमानस्थल प्रयोग गर्ने र लुम्बिनी आउने पर्यटकलाई लक्षित गरी होटल समृद्धि संचालनमा ल्याएको जानकारी दिए ।
‘विमानस्थलको नजिकै भएको र यहाँबाट उड्ने हवाई यात्रु, लुम्बिनी आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटक र आन्तरिक घुमन्ते पाहुनाको सुविधालाई मध्येनजर गर्दै होटल समृद्धि मार्फत् हस्पिटालिटीको सेवाहरु उपलब्ध गराउने प्रयास गरेको छ’, उनले भने । तीन महिना अघि संचालनमा आएको उक्त होटल देशमा देखिएको आर्थिक मन्दीका बीच निराशालाई उत्साहमा बदल्ने प्रयास स्वरूप अघि बढेको संचालकले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै अवस्थित यस होटल समृद्धिमा सिल्भर रूम, गोल्ड रूम, डाइमण्ड रूम, प्लाटिनम रुम गरी ३६ वटा विभिन्न क्याटगरीका कोठाहरु छन् । हरेक कोठामा एसी, एटेज वाथरुम, वाईफाई, आरामदायी र अत्याधुनिक सुविधा उपलब्ध छन् ।
इो एउटा उदाहरण मात्रै हो । दशक अघि भैरहवा–लुम्बिनी–बुटवल क्षेत्रमा मध्यमस्तरका होटल थिए । तारे होटल पाउन मुस्किल पथ्र्यो । ‘अहिले त्यो अवस्था छैन । उसबेला सुविधा सम्पन्न होटल नहुँदा पर्यटकहरु यहाँ आएकोदिनै भारत फर्कने गर्थे । केहीले नेपालकै बाह्य जिल्ला गन्तव्य गराउँथे । पछिल्लो समय यस क्षेत्रमा तारेसँगै स्तरीय होटल धमाधम थपिँदै छन् । एकैरातमा सातआठ हजार बढी पर्यटक थेग्न सक्छन्, यहाँका होटलले’, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले भने । तारे होटल समेत दर्जन हाराहारी पुगिसकेका छन् । करोडसम्मका पर्यटकीय होटल तीन सय हाराहारी पुगिसकेका छन् ।

यहाँको मुख्य गन्तव्य भनेकै बुद्धजन्मस्थल लुम्बिनी हो । कोरोना अघि बर्सेनि १५ लाख हाराहारी आन्तरिक तथा बाह्य पर्यटक लुम्बिनी आउँथे । बीचमा यो संख्या घट्यो । सन् २०२३ मा आन्तरिक र बाह्य गरी १० लाख बढी पर्यटक लुम्बिनी पुगेका छन् । जिल्लाका अन्य गन्तव्यहरुमा पनि आकर्षण छ । ठूला शैक्षिक संस्था र अस्पतालले गर्दा शैक्षिक तथा स्वास्थ्य पर्यटक पनि बढेका छन् । जसले होटल व्यवसायमा थप लगानी आकर्षित गरेको छ ।
पर्यटन व्यवसायीको भनाई मान्ने हो भने जिल्लामा संचालित र बनिरहेका सानाठूला होटलमा ४० अर्बभन्दा बढी लगानी भइसकेको छ । लगानी अझै बढ्दो छ । भैरहवामा मात्रै दर्जन बढी स्तरीय होटल संचालित छन् । लुम्बिनी र बुटवलमा पनि अर्ब–अर्ब लगानीका होटल खुलेका छन् । केही खुल्ने तरखरमा छन् । ‘खासगरी पछिल्ला वर्षहरुमा बाह्य पर्यटक लक्षित होटलहरुको आकर्षण बढ्दो छ । बुद्ध जन्मस्थल लुम्बिनीसँगै गौतमबुद्ध विमानस्थल, भारतीय सीमानाका, विशेष आर्थिक क्षेत्र (सेज), मुलुककै दोस्रो ठूलो भन्सार कार्यालय, स्थलमार्गी पर्यटक बढी आउने मुलुककै ठूलो नाकालगायतले गर्दा यहाँ पूर्व–पश्चिमका व्यवसायी र विदेशीहरुले पनि होटल व्यवसायमा लगानी गर्दै आएका छन्’, पर्यटन व्यवसायी गोविन्द ज्ञवालीले भने ।
यहाँ विश्व पर्यटन केन्द्र लुम्बिनीकै कारणले गर्दा होटलहरु फ्ट्याउँछन् भन्नेमा दुईमत छैन । बर्सेनि विदेशी पर्यटकको आकर्षण लुम्बिनीमा बढ्दो छ । भैरहवा, लुम्बिनी, तिलोत्तमा र बुटवल तथा आसपासका क्षेत्रमा ह्वात्तै पर्यटक लक्षित होटलहरु खुल्ने क्रम बढेको छ । हुन त नेपालमा धेरै ढिला गरीे ‘तारे होटल’को सुरुवात भएको पाइन्छ । तर, पनि तारे होटल खुल्ने क्रम उत्साहकासाथ बढेको छ ।

पछिल्लो समय गौतमबुद्ध विमानस्थल पूर्णक्षमतामा नचल्दा व्यवसायी केही निराश देखिन्छन् । तर, पनि लगानी थपिएको थप्यै छ । विदेशीसँगै नेपाली उद्योगी व्यापारीहरुले होटल उद्योगमा प्रशस्त लगानी गरिरहेका छन् । पर्यटक लक्षित गरेरै यहाँ तारे होटलहरु खोल्ने धेरै छन् । जिल्लामा ५ लाखदेखि करोडसम्मका होटल त रुपन्देहीमा थुप्रै संचालन छन् । दैनिकजसो खुलीरहेका छन् र केही खुल्ने क्रममा छन् ।
गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने अपेक्षाले होटल निर्माण धमाधम बढेको हो । तर, नियमित उडान नहुँदा निराशा पनि उस्तै छ । विमानस्थल पूर्णक्षमतामा सञ्चालनमा आएपछि यस क्षेत्रमा कम्तिमा पनि १० हजार बेड (५ हजार होटल कोठा अतिरिक्त) आवश्यक पर्ने व्यवसायी बताउँछन् ।
पर्यटक लक्षित होटलहरु बढ्दै जाँदा रोजगारीका अवसर पनि बढ्दै गएका छन् । हाल यहाँ संचालित होटलहरुमा पाँच हजार हाराहारी रोजगाररत छन् । स्थानीय तहहरुले आफ्नो क्षेत्रमा लगानी भित्र्याउन विभिन्न कर छुट सुविधा समेत दिइरहेका छन् । यसले पनि रुपन्देहीमा लगानी बढिरहेको छ ।









प्रतिकृया दिनुहोस्