बढ्दै छठको धार्मिक र सांस्कृतिक महत्व



भैरहवा– विशेष पूजाआरधाना गरेर आज छठपर्व मनाइँदैछ । यो पर्वको छुट्टै पौराणिक महत्त्व छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । यसले समाजमा रहेका छुवाछूतलगायत विकृति हटाउन सहायक सिद्ध हुने बताइन्छ । छठप्रतिको अटुट आस्थाका कारण जीवनको प्रारम्भदेखि नै सूर्य पूजालाई अनिवार्य मानिएको संस्कृतिविदहरु बताउँछन्।
सूर्य पूजा जनमानसको विश्वाससँग जोडिएको पर्व हो । छठप्रतिको आस्थाका कारण पछिल्लो समय तराईदेखि पहाडसम्म पर्व मनाउन थालिएको छ । जानकारहरुका अनुसार प्राचीनकालमा भगवान् रामले रावणलाई बध गरेर लङ्कामाथि विजय गरेपछि रामराज्यको स्थापनाका दिन कार्तिक शुक्ल षष्ठी तिथिमा भगवान् राम र माता सीताले उपवास गरी सूर्यदेवको आराधना गरेको मान्यता छ । दुवैले सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशीर्वाद प्राप्त गरेको जनविश्वास रहेको छ । यसरी छठ पर्वको आरम्भ भएको मानिन्छ । ऊर्जाको सबैभन्दा ठूलो स्रोतका रुपमा मानिने भएकाले पनि हिन्दू शास्त्रमा सूर्यलाई प्रत्यक्ष देवताका रुपमा मानिएको छ ।
छठ पर्व महाभारतकालदेखि सुरु भएको मानिन्छ । छठ पूजाको सुरुआत सूर्य पुत्र कर्णले गर्नुभएको थियो । कर्ण भगवान् सूर्यको परम भक्त थिए । हरेक बिहान जलमा उभी सूर्यलाई अघ्र्य दिने गर्दथे । सूर्यको कृपाले उनी महान् योद्धा बन्न सफल भएको धार्मिक विश्वास रहेको छ । महाभारतमा सूर्य पूजाको अर्को वर्णन पनि पाइन्छ । पाण्डव पत्नी द्रौपदी आफ्नो परिवारको उत्तम स्वास्थ्यको कामना र दीर्घायुका लागि नियमित सूर्य पूजा गर्ने गर्थिन् । सोही कार्य पछि छठ पर्वका रुपमा मनाउन थालिएको हो ।
छठको वैज्ञानिक महत्त्व
छठ पर्वको पौराणिक, सांस्कृतिक महत्त्वमात्र नभई यसको वैज्ञानिक महत्त्व पनि छ । षष्ठी तिथि एक विशेष खगोलीय अवसरका रुपमा छ । जुन समयमा पृथ्वीको दक्षिणी गोलाद्र्धमा सूर्य रहन्छ र दक्षिणायनक सूर्यको अल्ट्राभ्वाइलेट किरण पृथ्वीमा सामान्यभन्दा बढी मात्रामा एकत्रित हुन्छ । यो समयमा सूर्य आफ्नो तलको राशि तुलामा अवस्थित हुन्छ । यसकारण दूषित प्रकाशको सीधा प्रभाव जीवहरुको आँखा, पेट र छाला आदिमा पर्ने गर्दछ । सूर्यको प्रकाशलाई पराबैजनी प्रकाशबाट जीवहरुको हानिनोक्सानी नहोस् भन्ने अभिप्रायका साथ सूर्य पूजाको गरिन्छ ।
छठको सन्देश
छठ पर्व पूर्ण रुपले स्थानीय स्तरमा उत्पादन हुने सामग्रीमा निर्भर छ । यसमा स्थानीय उत्पादन, सीप र संस्कारको सम्मिश्रण पाइन्छ । स्थानीय समुदायद्वारा हस्तनिर्मित बाँसको नाङ्लो, कनसुप्ती, माटोद्वारा निर्मित सामग्रीहरु, ढकना, सरबा, दियो, हाथीलगायत सामग्रीहरुको प्रयोग गर्नु यस पर्वको विशेषता हो ।
यस पर्वमा उदाउँदो र अस्ताउँदै गरेको सूर्यलाई एउटै आस्था र निष्ठाका साथ पुजिन्छ । हरेक वर्ग, जात, समुदायका मानिस एउटै घाटमा एकसाथ यो पर्व मनाउने गर्दछन् । यसबाट सृष्टि सबैका लागि समान हो । यहाँ कोही ठूलो सानो, धनी गरिब छैनन् । वातावरणीय हिसाबले पनि छठ सबैका लागि समान हो । सूर्यको प्रकाशले सबैलाई न्यानोपन प्रदान गर्दछ भन्ने सन्देश दिन्छ ।
समुदायलाई जोड्ने काम गर्छ
छठ पर्वले विभिन्न समुदायका व्यक्तिहरुलाई जोड्ने काम गर्ने जानकारहरु बताउँछन् । कुनै समय तराई मधेसका हिन्दु धर्मावलम्बीले मनाउने यो पर्व पछिल्लो समय हरेका क्षेत्र र समुदायले उल्लासपूर्वक मनाउन थालेका छन् । अहिले तराईसहित पहाड र हिमाली क्षेत्रमा पनि छठलाई श्रद्धापूर्वक मनाइने गरिन्छ । त्यस्तै, अहिल यो पर्वप्रति मुस्लिम समुदायका व्यक्तिहरु पनि आकर्षित भएका छन् । यस पर्वको कारणले विभिन्न समुदाय, जात, धर्मका व्यक्तिहरुबीच सद्भाव बढेको छ ।
समयसँगै आधुनिकता
छठ पर्वमा यसअघि पूर्ण रुपले स्थानीयस्तरबाट उत्पादन हुने सामग्रीको प्रयोग हुँदै आएकामा अहिले यसमा पनि आधुनिकता आएको छ । पहिले पहिले हातबाट बनेका बाँसका सामग्री नाङ्लो, कन्सुप्ती, छिट्टी त्यस्तै माटोबाट बनेको हात्ती, घइँटो, ढकना लगायतको ठाउँमा पित्तलबाट बनेका सामग्रीको प्रयोग हुन थालेको छ ।
पित्तलको सामग्री प्रयोग गर्नुलाई हरेक व्यक्ति आफ्नो आफ्नो तर्क दिन्छन् । पहिले पहिले बाँस र माटोबाट बनेको सामग्री प्रयोग गरे पनि अहिले सहजताका लागि पित्तलबाट बनेका सामग्री प्रयोग गर्न थालिएको छ । अहिले बाँस र माटोबाट बनेका सामग्री भेट्न गाह्रो हुन थालेपछि आधुनिक प्रकारको सामग्री प्रयोग गर्न थालिएको हो । पवित्रा देवीले अहिले छठ पर्वमा माटोका भाँडाका ठाउँमा पित्तलका विभिन्न सामग्रीहरु प्रयोग हुन थालेका छन् । मुलुकभर आज छठ पर्वको रौनकताले छोएको छ । यस पर्वमा गरिब, धनीका साथै समुदायका सबै एकसाथ एक ठाउँमा मिलेर पूजा गरी यो पर्व मनाउने गर्दछन् ।








प्रतिकृया दिनुहोस्