November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न कसरत

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनी जस्तै कपिलवस्तु सदरमुकाम तौलिहवास्थित तिलौराकोट प्राचीन शाक्यको राजधानी सहर हो । लुम्बिनी जत्तिकै महत्वपूर्ण स्थल भएपछि लामो समयदेखि झाँडीमा छोपिएको तिलौराकोट संरक्षणका लागि अहिले पहल भइरहेको छ । तिलौराकोटलाई विश्वसम्पदा सूचिकृतका लागि अहिले अन्तिम चरणका काम भइरहेका छन् ।

Advertisement

सन् २०१४ देखि युनेस्को र जापनिज फण्ड इन ट्रष्टको सहयोगमा तिलौराकोटमा प्रत्येक वर्ष उत्खनन् हुँदैं आएको छ । यससँगै पुनः विश्व सम्पदा सूचिकरणका लागि अहिले पक्रिया अगाडि बढाइएको हो । सरकारले २०७६ कार्तिकमा एउटा निर्देशक समिति बनायो । लुम्बिनी विकास कोष उपाध्यक्ष संयोजक रहनेगरि ८ सदस्यीय समिति बन्यो । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकता राख्न समितिलाई जिम्मेवारी तोकिएको छ । सरकारी तथा सरोकारवालाबाट आवश्यक सहयोग, साधनश्रोतको सुनिश्चिता गर्दै काम गर्न समितिलाई कार्यादेश रहेको संस्कृति मन्त्रालयको पत्रमा उल्लेख छ ।

Advertisement

विश्व सम्पदाको आधार तयार गर्न समितिले अन्तर्राष्ट्रिय सम्पदा बिज्ञ काईवाई जेलाई अनुरोध गरेर काम थालेको थियो । जेको नेतृत्वमा रहेको कन्जर्भेसन आर्किटेक्टद्वय एनी जोशी र क्रिष्टिना श्रेष्ठको टोलीलाई प्रारम्भिक चरणको प्रतिवेदन बनाउन जिम्मा दिइएको थियो । उक्त प्रतिवेदनमाथि सरोकारवालाको सुझाव संकलनपछि अद्यावधिक प्रतिवेदन बनाइएको थियो । सन् १८९८ यताका पुरातात्विक अध्ययन, अनुसन्धानको प्रमाणिकताका लागि २०२० मा कम्प्यारेटिप कार्यशाला गरिएको थियो । उक्त कार्यशालामा तिलौराकोट जस्तै विश्वका सिमिलर वर्ड हेरिटेज साईट र सपंदा विज्ञ र पुरातत्वविद सहभागी रहेका थिए । कार्यक्रममा भारत, बेलायत, श्रीलंका, पाकिस्तान, बंगलादेश, म्यानमार र ईरानका विज्ञ सहभागी थिए ।

कार्यशालामा ती मुलुकका सम्पदा विश्व संपदास्थलमा कसरी सूचिकृत भए, तिलौराकोटको संभावना के छ ? भनेर बुझिएको थियो । तिलौंराकोटलाई कसरी राम्रो र संरक्षित बनाउन सकिन्छ भनेर छलफल गरिएको थियो । कार्यक्रममा भारतका हेड अफ द आर्किलोर्जी संजय मन्जुल, पाकिस्तानको पुरातत्व विभागका महानिर्देशक डा. अब्दुल अजिम, भारतको एमएस युनिभर्सीटी अफ बरोडाका प्रोफेसर के कृष्णनन्, श्रीलंकाको सेन्टर कल्चरल फण्डका महानिर्देशक प्रो. पिसान्त गुनबद्र्धन, ईरानको प्रो. हसन फैजाली, बंगलादेशको प्रो. साहानाज जाहान र म्यानमारको पुरातत्व विभागमको असिस्टेन्ट महानिर्देशक युतिन लुइन सहभागी थिए । नेपाल र अन्य मुुलुकका २० वटा पुरातात्विक स्थलको तुलनात्मक अध्ययन गरेका थिए ।

लुम्बिनी, भारतको साँची, नालन्दा, श्रीलंकाको अनुराधापुरम, पाकिस्तानको तक्षशिला र मन्जेजोदारो, म्यानमारको बगान र श्रीकेस्त, बंगलदेशको महाअस्थगढ र ईरानको पेर्सपोलित सासनितको समान सांस्कृतिक र पुरातात्विक महत्व रहेको उल्लेख गरेका छन् । भारतको सारनाथ, पाटिलीपुत्र, कौशाम्वी, बैशाली र श्रावस्ती पनि मिल्दोजुल्दो रहेको बताएका थिए । तिलौराकोट सुरक्षाका दृष्टिले मजबुत, राजामहाराजाको जस्तो भब्य भवनका भग्नावषेश, ब्यवस्थित सडक, घर, नाली, ईनार, पोखरी र सहर जस्तो देखिएको उनीहरुले बताए । भौगोलिक र सामरिक दृष्टिले पनि महत्वपूर्ण भएको बताएका थिए । अतिक्रमण नभए पनि विकासका कामले कही कतै थोरै प्रभावित भएको जस्तो देखिएको पनि संरक्षित नै रहेको राय उनीहरु ब्यक्त गरेको प्रकाशित प्रतिबेदनमा उल्लेखछ ।

आर्थिक वर्ष ०७८–७९ को नीति तथा कार्यक्रम र बजेटमा तिलौराकोटलाई विश्व संपदा सूचिकृत गर्न पक्रिया अगाडि बढाउने उल्लेख गरियो । सरकारले प्रक्रिया अघि बढाउन २०७८ कार्तिकमा एउटा निर्देशक समिति बनायो । तिलौराकोट कपिलवस्तु क्षेत्रलाई विश्व संपदा सूचिमा सूचिकृतका लागि सरकारी निकाय बिच समन्वय र सहकार्य गरेर अघि बढन गर्न लुम्बिनी विकास कोष उपाध्यक्षको संयोजकत्वमा ८ सदस्यीय निर्देशक समिति गठन गरिएको थियो । पर्यटन मन्त्रालयको संस्कृति महाशाहा प्रमुख, पुरातत्व विभागका महानिर्देशक, लुम्बिनी विकास कोष सदस्य सचिब, कपिलवस्तु नगरपालिका नगर प्रमुख, युनेस्को प्रतिनिधि र पुरातत्व विभाग विश्व संपदा शाखा प्रमुख र कोषका एक जना प्रतिनिधि सदस्य सचिब हुने गरि समिति बनाइएको छ ।

समितिले विज्ञ, जनप्रतिनिधि र स्थानीयसंग छलफल, बैठक गरेर विभिन्न सुझाव संकलन गरेका थिए । सुझाव समेटेर योजना बनाइएको छ । ७ वटा सेक्टर समावेश गरेर सेक्टर रणनीति बनाइएको छ । एकिकृत ब्यवस्थापन संरक्षण योजना, विपद् जोखिम ब्यवस्थापन, वातावरण, पुरातत्व, पर्यटन र समुदायको छुट्टा छुट्टै योजना बनाइएको छ । यस अघि संपदाबिज्ञ काईवाई जे नेतृत्वको समितिले बनाएको प्रारम्भिक चरणको प्रतिबेदन र ७ सेक्टर समाबेश गरेर अहिले बनाईएको योजना समाबेश गरेर नोमिनेशन डोसियर (प्रस्ताबित मनोनयन दस्ताबेज) बनाइएको छ । ‘यी आधरभूत डकुमेण्ट हुन्,’ नोमिनेशन डोसियर तयारी समिति संयोजक तथा कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानीन राईले भने्, ‘नभए युनेस्कोले नोमिनेशन डोसियर स्विकार गर्दैन् । युनेस्कोको विश्व संपदा केन्द्रले सूचिकृत हुन के के चाहिन्छ ? भनेर एउटा चेक लिस्ट दिन्छ ।’ त्यसैलाई फलो गरेर काम गरिरहेको उनले बताए ।

सन् २०१४ देखि तिलौराकोटमा युनेस्को र जापनीज फण्ड एण्ड ट्रष्टको सहयोगमा भईरहेको अध्ययन अन्वषेणबाट दस्ताबेजीकरण सूचिकृतका लागि चाहिने धेरै डकुमेन्टको सहयोग पुगेको छ । सन् १९७५ मा बाबुकृष्ण रिजालले तिलौराकोटको माउण्ट नम्बर ५ मा उत्खनन् गर्दा ईशा पूर्व ११ आंैदेखि नवौं शताब्दीसम्मको सामग्री प्राप्त गरेको आफनो रिपोर्टमा उल्लेख गरेका छन् । पश्चिमी द्वारमा सन १९६७ देखि १९७२ सम्म तारानन्द मिश्रले उत्खनन्् गर्दा ईशा पूर्व सातौं शताब्दीको सामग्री फेला पारेको आफनो रिपोर्टमा उल्लेख गरेका छन् । तर, उनीहरुले फेला पारेका सामग्रीको कालक्रम भारतमा फेला परेका सामग्रीको डेटिङसित तुलना गरेर भनिएको थियो ।

१० वर्षदेखि भइरहेको उत्खनन्मा फेला परेको पुरातात्विक सामग्री र भग्नावषेश ईशा आठौं शताब्दीसम्मका रहेको पुस्टी भएको उत्खनन् टोली संयोजक वरिष्ठ पुरातत्वविद् डा. रबिन कनिङघमले बताए । विभिन्न ल्याब टेस्ट गरेर त्यस्को बैज्ञानिक डेटिङले कालक्रम निर्धारण गरिएको कनिङघमले बताए । बेलायती प्रयोगशालामा माटो, कार्बन डेटिङ परिक्षण गर्दा प्राचीनतम भएको विवरण आएको हो । भगवान बुद्धको जन्म साढे २५ सय वर्ष अघि भएको ईतिहासमा उल्लेख छ । तर त्यस अघि नै भगवान गौतम बुद्धको बाल्यकाल र युवा अवस्था वितेको तिलौराकोटमा गाउँको स्वरुपमा मानवीय चहलपहल बढेर बस्ती बसेको पुष्टी भएको पुरातत्वविद् बताउँछन् । यहाँ ईसा पूर्व आठौं शताब्दी (२८ सय वर्ष) अघि नै मानव बसोबास भएको पाइएको छ । यसले तिलौराकोटको ऐतिहासिक प्रमाणीकता उजागर तथ्यसहित भएपछि विश्व सम्पदा सूचिमा लैजान सजिलो भएको उनले बताए ।