November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

सियारीमा माछा पोखरीका डिलमा ठूला रिसोर्ट

भैरहवा– पछिल्लो पटक रुपन्देहीमा पर्यटकीय पूर्वाधार निर्माण तिब्र छन् । अन्य क्षेत्रमा लगानी ठप्प भए पनि जिल्लाका विभिन्न क्षेत्रमा ठूला होटल र रिसोर्ट खुल्ने क्रम जारी छ । सहरी क्षेत्रमा होटल सञ्चालन बढिरहेका बेला रुपन्देहीको सियारी गाउँपालिकास्थित माछा पोखरीका डिलमा रिर्सोट खुल्ने क्रम बढेको छ । माछाका परिकार खानपिनसँगै आवासीय सुविधा प्रदान गर्न यस्ता रिसोर्ट सञ्चालन गरिएका छन् ।

Advertisement

पहिले माछा पालन गाउँका रुपमा चिनिएको सियारीको छपिया अहिले आकर्षक रिसोर्ट र रेष्टुरेन्टका लागि परिचित हुन थालेको छ । रुपन्देहीको बुटवल, पश्चिम तामनगर, रामनगर, तिलोत्तमा, लुम्बिनी र भैरहवाबाट १५ देखि २० किलोमिटर दुरीमा रहेको छपिया माछा पर्यटनको गन्तव्य हुन थालेको छ । भारतीय सीमाबाट नजिकै भएकाले यहाँ नेपालीसँगैं भारतीय पर्यटक पनि आउने गरेका छन् । धेरै रिसोर्टमा परिवारसहित घुमफिर गर्नेको भीड लाग्छ । पोखरीमाथि संरचना निर्माण गरिएकाले यी आकर्षक छन् ।

Advertisement

उत्तरमा चुरे पहाड, दक्षिण सिमावर्ती सहर छन् । ती ठाउँमा त्यहीँ अनुसारका सुविधा सहितका होटल खुलेका छन् । छपियामा माछाका पारखी र परिवारसहित घुमफिर गर्नेलाई लक्षित गरिएको छ । त्यसैले सियारीको परिचय माछाका मात्रै सीमित बनेको छैन् । यहाँ रहेका करिब साढे चार सय माछा पोखरीका डीलमा आकर्षक होटल र रेष्टुराँ खोलेर र त्यहाँबाट माछाका अनेकन स्वादका परिकार उपलब्ध छन् । यसले स्थानीयको आम्दानीका थप बाटा तय भएका छन् ।

सियारीको बीच छपियामा रहेको लुम्बिनी प्यालेस रिसोर्ट अहिले आकर्षणको केन्द्र बनेको छ । उक्त रिसोर्टले डुंगामा चढेर कोठासम्म पुग्ने र पोखरीको बिचमै रहेको कोठामा रात बिताउन मिल्ने ‘पोन्ड भिल्ला’ तयार गरेको छ । स्थानीय माछा पालक गौरव गौतमले ०७४ यता सियारी ४, शिवपुरमा रिसोर्ट संचालन गरिरहेका छन् । तीन करोड रुपैयाँ लगानीमा सियारी फिस भिलेज रिसोर्ट चलाइरहेका उनको रिसोर्टमा माछाको झोल, फ्राई, माछाको सेकुवा, स्टिम माछा, माछा तावा, माछाको मम, माछा चिल्ली, बोनलेस, फिसबल, फिस फिङ्गर, माछाको छोइला, सुकुटी लगायत डेढ दर्जन परिकार उपलब्ध छन् ।

मत्स्य व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष पुण्यप्रसाद चौधरीले ०५८ सालबाट माछापालन थालेका थिए । साविकको मानमटेरिया गाविस (हाल शुद्धोधन ४) मा ७ विघामा भुरा उत्पादन तथा ह्याचरी संचालन गरिरहेका छन् । उनले ७ महिनादेखि ७ करोड रुपैयाँ लगानी गरेर सखिया फिस रिसोर्ट समेत सञ्चालन गरेका छन् । चौधरीका अनुसार उक्त वडा सियारी गाउंपालीकाको संधियार वडा हो । यसलाई पनि छपिया माछा क्षेत्र भनेर चिन्ने गरिन्छ । ‘पालिका अर्को भए पनि माछा उत्पादन गर्ने क्षेत्र भएकाले छपिया माछा गाउँ नै भन्ने गरिन्छ,’ उनले भने, ‘हामीले पनि त्यहीं भनेरै चिनाउँछौं ।’

सियारीले गरेको माछापालनको सिको छिमेकी शुद्धोधन, गैडहवा गाउँपालिकाले पनि गरेका छन् । उनका अनुसार यहाँका ५० प्रतिशत थारु समुदाय माछा पालनमा निर्भर छन् । चौधरीका अनुसार सियारीमा साना–ठूला गरेर १० वटा रिसोर्ट सञ्चालनमा छन् । जसमा ५ देखि ९० करोड रुपैयाँसम्म लगानी रहेको उनले बताए । यहाँ उत्पादित माछा रुपन्देहीको भैरहवा र बुटबलका अलवा पोखरा र काठमाडौंसम्म पुग्ने गर्छ । तर माछा पालकहरुलाई सरकारी अड्चन कायमै छ । ‘प्रशासनले भेटरीनरी सर्टिफिकेट माग्छ,’ चौधरीले भने, ‘हामीलाई राती ३ बजे बजार पुर्याउन पर्ने हुन्छ, प्रमाणपत्र खोज्न कता जानु ?’