November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

बुटवल–नारायणगढ सडकः यो दसैं–तिहारमा पनि यात्रा गर्दा सास्ती

भैरहवा– समयमै निर्माण नसकिँदा बुटवल–नारायणगढ सडकमा यात्रा गर्ने यात्रुले सास्ती खेपिरहेका छन् । बडा दसैं संघारमै आइसकेको छ । वर्खा याम भएकाले यो खण्ड हिलाम्मे छ । हिलो, खाल्डाखुल्डीले यात्रा सकस छ । यो सडक भएर यात्रा गर्ने यात्रु दसैंताका अन्य समयमा भन्दा तेब्बर हुन्छन् । निर्माण नसकिँदा यात्रुले यो दसैंमा पनि सास्ती खेपेर यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।

Advertisement

सामान्यः अवस्थामा यो खण्डको यात्रा जम्मा २ देखि साढे दुई घण्टा हो । तर, सडक निर्माणका लागि भत्काइए पछि ५ घण्टा भन्दा बढी समय लाग्ने गरेको छ । २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीबाट सडक विस्तारको शिलान्यास गरेका थिए । उसबेला सडक विस्तारको काम सम्झौता भएको मितिले ४२ महिना भित्र अर्थात २०७८ साउन २२ गतेसम्म काम सम्पन्न गर्नपर्ने थियो । तर, काम कछुवा गतिमा भयो । जसले गर्दा सडक निर्माण सम्पन्न हुने कलिे भन्ने ठेगान छैन ।

Advertisement

यो सडकको म्याद थप भएको भयै छ । पहिले थप भएको म्याद २०८० साउनमा सकियो । त्यसपछि ०८१ साउन सम्मको म्याद थप भएको छ । तर, यो अवधिमा पनि सडक सकिनेमा शंका छ । बुटवलबाट नारायणगढ सडकको दुरी ११४ किलोमिटर छ । निर्माणधीन सडकका कारण यात्रुमात्र यसबाट पीडित बनेका छैनन्, सडक किनारका जनता अनि यातायात व्यवसायी पनि यसबाट आजित बनेका छन् । सडककै कारण सवारी साधनको आयु छोटिँदै गएको व्यवसायी बताउँछन् ।

दसैं–तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा मध्यपश्चिम र सुदूरपश्चिम जानेहरूले बुटवल–नारायणगढ सडक पार नगरी सुख्खै छैन । गत वर्ष पनि हिलाम्मे सडकका कारण सास्ती व्यहोरेका यात्रुहरूले अहिले पनि सास्ती व्यहोर्नुपर्ने निश्चित छ । समयमै काम सम्पन्न भएको भए यो सडक २०७८ साउन २२ मै चिल्लो र फराकिलो हुन्थ्यो । तर, ठेकेदारको लापरबाहीका कारण सडकको काम गति सुस्त भएको छ ।

पानी पर्दा हिलाम्मे अनि घाम लाग्दा धुलाम्मे हुन्छ सडक । सडककै कारण बुटवलबाट बसमा काठमाडौं जानेहरू नाक खुम्च्याउँछन् । सडकको दुरावस्था अनि पहिरोको जोखिमकै कारण धेरै यात्रुहरू महंगो शुल्क तिरेर पनि हवाई यात्रा गर्न बाध्य छन् । गैँडाकोट–दाउन्ने सडक खण्डमा पर्ने ६५ किमी खण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डमा पर्ने ४९ किमी खण्डको ७ अर्ब ८६ करोड ३४ लाखको लागतमा सडक स्तरोन्नत्तिको काम चाइना कन्स्टक्सनले चार वर्षअघि ठेक्का पाएको थियो । तर, काम सुस्त गतिमा हुँदा सबैले सास्ती व्यहोर्नु परेको छ ।

आयोजनाका अनुसार दुई खण्डमा विभाजन भएको सडकको काम पश्चिम भन्दा पूर्वमा धेरै भएको छ । हालसम्म दाउन्ने पूर्व खण्डमा ४३ प्रतिशत र दाउन्ने पश्चिम खण्डमा ३८ प्रतिशत काम भएको छ । त्यस्तै, खर्चको हिसाबले पूर्वमा ३१ प्रतिशत र पश्चिममा २४ प्रतिशत भएको छ । बुटवल–नारायणगढ खण्डको ११४ किलोमिटर सडक सहरी क्षेत्रमा ६ लेन तथा जङ्गल एवं ग्रामीण क्षेत्रमा चार लेन र दाउन्ने खण्डमा भौगोलिक कठिनाइका कारण तीन लेनमा यो सडक विस्तार गरिँदैछ । चाइना स्टेटको तर्फबाट पश्चिम सेक्टरका कन्ट्याक म्यानेजर जोयु हेयुले अबको डेढ बर्षमा सडक निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताए ।

‘हामीले अब म्याद थप नगर्ने गरी कामलाई तिव्रता दिएका छौं’, उनले भने, ‘अर्को वर्षदेखि यो खण्डमा यात्रा गर्दा निकै सहज हुनेछ ।’ यात्रुले सास्तै पाएकैछन भने, सडकछेउ घर भएकाहरुको घर अगाडि नै पोखरी बनेका छन् । यसले राजमार्ग किनारका व्यवसायीहरू आजित छन् । दाउन्ने, कावासोती तर्फका कतिपय त सडक किनारका व्यवसायी विस्थापित पनि भइसकेका छन् । आयोजना प्रमुख प्रदीप शाक्यले पछिल्लो समय यो खण्डले केही भए पनि निर्माणमा तिव्रता पाएको दावी गर्छन् । उनले अब थप गरिएको समयमा सडक निर्माण सक्न ठेकेदारलाई ताकेता गरिएको बताए ।