November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

आर्थिक मन्दीले व्यापार चौपट

भैरहवा– दैनिक ५–७ गाडी खाद्यान्न विक्री गर्ने भैरहवाका व्यापारी नेत्रप्रसाद आचार्यले अहिले मुस्किलले २–३ गाडी बेच्छन् । व्यापारमा यसरी मन्दी लागेको एक वर्ष भयो । उनको भनाई मान्ने हो भने कोरोना महामारीका बेलासमेत खाद्यान्न विक्री यतिधेरै गिरावट थिएन । ‘मानिसले खाना छाडे भन्न पनि भएन, तर मन्दीका कारण खर्च कटौती गरेको हुनसक्छ’, उनले भने, ‘सबैतिरको व्यापारमा यस्तै गिरावट छ ।’

Advertisement

सिद्धार्थ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका आचार्यले पछिल्लो समय साना–ठूला सबै किसिमका व्यापारमा मन्दी आएको बताउँछन् । ‘जहाँ गयो, त्यही सन्नाटा छ, व्यापार भयो भन्ने व्यवसायी भेट्टाउनै मुस्किल पर्छ’, उनले भने, ‘यस्तो अवस्था रहे धेरै व्यवसायी पलायन हुन्छन् ।’

Advertisement

उनका अनुसार पछिल्लो समय सबै किसिमका गरेर दर्जनौं व्यवसाय बन्द भइसकेका छन् । ‘युवा जति विदेश जान थाले, उद्यम गर्ने पलायन भइरहेका छन्’, उनले भने, ‘यसरी व्यापार बढ्ने होइन्, झन खुम्चिँदै जाने देखिन्छ ।’ लगानीमैत्री वातावरण नहुनु, सरकारी नीति, बैंक तथा वित्तीय संस्थाको चर्को व्याज, कोरोनाका प्रभाव अहिले आएर देखिँदै जानु, सरकारले सहुलियतका कार्यक्रम नल्याउनु ब्यापारमा मन्दी आउनुको मुख्य कारण हो ।

अहिले जिल्लाको सबै क्षेत्र र सहरदेखि गाउँसम्मका ब्यापारमा मन्दी आएको व्यवसायी बताउँछन् । लामो समयदेखिको आर्थिक मन्दीले रुपन्देहीको व्यापार व्यवसाय चौपट नै भएको छ । आम्दानी नहुने तर वैंकले ऋण र किस्ता बुझाउन ताकेता गर्न थालेपछि व्यापारी पलायन भइरहेका छन् । एक दशक यता आर्थिक रुपमा चलायमान भएको रुपन्देही अहिले ओरालो लाग्न थालेको छ । जिल्लामा प्रमुख बजार भैरहवा, तिलोत्तमा र बुटवलमा धमाधम व्यवसायिक प्रतिष्ठान खाली हुन थालेका छन् । व्यवसायी मानसिक तनावमा छन् ।

भैरहवा वर्मेली टोल हुँदैं पुतली बजार निस्किने रवि पथमा मात्रै एक दर्जन सटर बन्द गरिएका छन् । ती सटर खाली रहेको सूचना टाँसिएको लामो समय भइसक्यो । उक्त पथमा नयाँ व्यवसाय सुरु गर्नेभन्दा बन्द गर्नेको संख्या धेरै छ । भैरहवामा मुख्य बजार क्षेत्रमा समेत यस्तै समस्या छ । धेरै घरमा सटर खाली रहेको सूचना टाँसिएको छ । सटर र घर नै खाली राख्नु परेपछि घरधनी र व्यवसायी तनावमा छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले नयाँ लगानीको वातावरण नरहेको र पुराना लगानीकर्ताले बैंकको ब्याज बुझाउन नसकेकाले पलायन भइरहेको बताए । अहिले सञ्चालनमा रहेका व्यवसायमा पनि मन्दीको असर परेको उनले बताए । ‘दिनभरि पसल कुरे पनि ग्राहक आउँदैनन् । बजारका अधिकांश पसलमा धनी मात्रै देखिन्छन् । समान खरिद गर्ने कोही हुँदैनन्’, उनले भने, ‘खाद्यान्न र घरायसी समानका पसलमा मात्रै छिटफुट ग्राहक देखिन्छन् । त्यही पनि राम्रो व्यापार छैन ।’

उनका अनुसार लत्ताकपडाका पसल सुनसान छन् । यस्तै अभाव कायम रहे केही समयमा बजारका सबै सटर खाली हुने अवस्था आउने अध्यक्ष श्रेष्ठले बताए । पछिल्लो समय रुपन्देहीको केन्द्र बनिरहेको तिलोत्तममा पनि चहलपहल शून्य छ । त्यहाँ नयाँ लगानी रोकिएको छ । लगानी गरेका व्यक्ति निराश छन् । परम्परादेखि व्यापारको केन्द्र बुटवलमा समेत व्यापारी पलायन तिब्र छ । बुटवलका ठूला प्रतिष्ठानमा भाडामा व्यापार गर्ने कोही छ्रैनन् । भित्रि बजारका सटर समेत खाली हुन थालेका छन् ।

कोरोना महामारीपछि व्यापारमा कमी आउन थाल्यो । विक्री घट्दै गएपछि पसलको सटर बन्द गर्न बाध्य भएको स्थानीय व्यापारीले बताएका छन् । उधारोमा बेचेका समानको रकम नउठेपछि पलायन हुन बाध्य भएको उनीहरुको भनाई छ । पसल बन्द गरेर घरमै बस्नु परेपपिछ मानसिक तनाव छ । कोरोना महामारी यता बुटवलका २० देखि २५ प्रतिशत सानाठूला व्यवसायी पलायन भएको बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराईले बताए ।

व्याजदरमा राज्यले पुनः विचार नगरेसम्म व्यवसायी उभो लाग्न नसक्ने उनले बताए । ‘कोरोनाले थलिएको व्यापार विस्तारै उठ्दै थियो । विदेशीमा भइरहेका लडाइले खाद्यान्न र पेट्रोलियम पदार्थमा मूल्य बढ्यो, पुनः मन्दी बढयो,’ उनले भने, ‘हाम्रो सरकार र त्यसका निकायले जनताका बारेमा नसोच्दा यस्तो अवस्था आएको हो ।’ अझै डेढ वर्षसम्म मन्दी कायम रहेमा बुटवलमा व्यापारी टिकाउन सम्भव नहुने उनले बताए ।

‘सरकारले व्याज बढाउँदा आर्थिक न्युन स्थितिका मानिसलाई ५ प्रतिशत, व्यसायीलाई ८ र विलाशीताको जीवन बिताउनेलाई १५ सम्म लगाएको भए गरिब मानिसले भात खान सस्तो व्याजमा खरिद गथ्र्यो’, उनले भने, ‘धनीले १५ प्रतिशत कर तिरेर पनि रमाइलो गथ्र्योे ।’ सामान्य नागकिरलाई गांस, बास, कपास, शिक्षा र स्वास्थ्यमा आइपरेको समस्या समाधान गर्न सरकार नै लचिलो हुनुपर्ने उनको भनाई छ ।