November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

तराईको परम्परागत खेल कुस्ती मनोरंजनमा सीमित

भैरहवा– तराईको परम्परागत खेल कुस्ती अहिले मनोरञ्जनमा सिमित बनेको छ । पहिले गाउँघरमा अखडा बनाएर खेलिने कुस्ती अहिले मेला–महोत्सवमा समेटिएको छ । पहिले तराईमा प्रतिष्पर्धा र व्यायामका लागि कुस्ती खेलिन्थ्यो । पछिल्लो समय कुस्ती हराएपछि यस क्षेत्रका पहलमान सुस्ताएका छन् । नयाँ खेलाडी उत्पादन हुन सकेको छैन ।

Advertisement

आधुनिक खेलमा आकर्षण भएपछि परम्परागत खेल हराएको हो । कुस्ती प्रवद्र्धनका लागि सरकारले समेत चासो दिएको छैन । जिल्लामा कुस्ती खेलाडीको नाम लिनु पर्दा रुपन्देहीको कोटहीमाई–३, का राजेन्द्र यादवको सम्झना आउँछ । उनले २०४८ सालबाट कुस्ती खेल्न थालेका थिए । १३ वर्षको उमेरबाट कुस्ती खेल्न थालेका उनी अहिले रेफ्री र गुरु बनेका छन् । मेला महोत्सवका बेला दर्शकलाई मनोरञ्जन प्रदान गर्न अखडामा उत्रिने गरेका छन् । उनका अनुसार पहिले जस्तो कुस्तीको लहर छैन । जसले गर्दा गाउँघरमा खेलाडी उत्पादन ठप्प छ ।

Advertisement

राजेन्द्रले २०६०, ०६२, ०७४ मा राष्ट्रिय र प्रदेश स्तरका प्रतियोगितामा भाग लिएका थिए । अहिले प्रदेश सरकारले प्रशिक्षण गरे वापत पारिश्रमिक पाइरहेको उनले बताए । विगत १ वर्षदेखि मासिक २० हजार रुपैयाँ पारिश्रमिक पाउने गरेका छन् । प्रदेश सरकारबाट उनी र नवलपरासीका अर्का एक प्रशिक्षकले तलब पाउने गरेका छन् । राजेन्द्रका अनुसार खेलाडीले ३–४ दिनको खेल अवधिभर दैनिक १ हजार ५ सय रुपैयाँ दरले यातायात खर्च पाउने गरेका छन् । नयाँ खेलाडी उत्पादन र अहिले खेलिरहेकालाई टिकाइराख्न समस्या परेको उनले बताए ।

र्वाौंदेखि कुस्ती प्रतियोगिता सञ्चालन गर्दै आएका ओमसतिया–६, का वडाध्यक्ष शिव धवलले कुस्तीलाई पुर्वजको व्यायाम गर्ने खेल भएकोे बताए । हरेक वर्ष ओमसतिया सांस्कृतिक महोत्सवमा खेललाई समावेश गरेर कुस्ती प्रवद्र्धन गर्दै आएको उनले बताए । उक्त प्रतियोगिता ओमसतिया–६, मा रहेको रामजानकी रंगशालामा हुने गरेको छ । अहिलेसम्म चार पटक प्रतियोगिता सञ्चालन भइसकेको छ । ती प्रतियोगितामा ५० देखि ७५ स्पर्धा भएका थिए । ‘एकपटकमा ५० देखि ७५ जोडीको प्रतिष्पर्धा हुन्छ,’ उनले भने, ‘२ देखि ३ दिन लगातार चल्छ र विजेता घोषणा गरिन्छ ।’

यस्ता खेलमा नेपाली खेलाडीकै संख्या हाराहारी भारतीयको सहभागिता रहने गरेको उनले बताए । उनका अनुसार खेलमा ५० जना नेपाली आएमा ५० जना भारतीय खेलाडी सहभागी गराइन्छ । प्रतियोगितामा प्रथम हुनेले पहिलो वर्ष डेढ लाख रुपैयाँ पाएका थिए । त्यसपछि पुरस्कार राशी बढाउँदै लगिएको उनले बताए । ‘गत वर्ष साढे दुई लाख रुपैयाँ थियो,’ उनले भने, ‘यसलाई बढाएर अझ धेरै गराउने सोंचमा छौं, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः प्रथमको आधा रकम पुरस्कार राखिन्छ ।’ कुस्ती खेल हेर्नका लागि रंगशालाको मैदान खचाखच हुने गरेका छन् । झण्डै ५० हजारदेखि १ लाखसम्म मानिस आउने गरेको उनले बताए ।

हरेक वर्ष आयोजना हुने यस क्षेत्रका मेला महोत्सवमा कुस्ती प्रतियोगितालाई मुख्य आकर्षणको रुपमा राख्ने गरिएको छ । नाचगान वा सामग्री बेचबिखनले मात्र मेलामा मानिस नआउने भएपछि कुस्तीलाई समावेश गर्न थालिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । उनका अनुसार दर्शकको रुचिको पाटो भएकाले कुस्ती हरेक आयोजकले राख्ने गरेका हुन् । मेला महोत्सवलाई पहिलेजस्तो चासो दिन छोडिसकेका मानिसले कुस्ती हेर्नकै लागि टिकट काटेर आउने भएकाले त्यसबाट केही आम्दानी हुने र कुस्तीको पनि संरक्षण हुने उनको भनाई छ ।